पहिलो ‘लोक स्टार’मा शनि विश्वकर्मा विजयी

0
1350

कात्तिक ८, काठमाडौं । नेपालको पहिलो ‘लोक स्टार’ मा रोल्पाका शनि बिश्वकर्मा विजयी भएका छन ।  एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारे । भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि चुमेका हुन्।

प्रतियोगितामा चेतन गोतामे दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरे । तेस्रो उदयपुर कटारीका विनोद दनुवारले जिते । उनले १० लाख नगद प्राप्त गरेका छन् । त्यसैगरी रामेछापका रामकुमार नेपाली सान्वना भए ।सान्त्वना भएका उनले दुई लाख हात पारे । 

असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट ३६ औं शृंखला प्रत्यक्ष प्रशारण गर्दै सम्पन्न भएको हो । नेपालको लोक संस्कृति प्रचार प्रचार र विकास गर्ने उद्देश्यले चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको हो ।

नेपाल लोकस्टार नेपाली लोकसंगीतको इतिहासमा धेरै पुरस्कार राशिको सांगीतिक कार्यक्रम हो । देशभरका विभिन्न ठाउँमा भएको अडिसनबाट लोकस्टारका उत्कृष्ट छनोट भएका थिए । अडिसनमा छनोट भएका प्रतियोगीले आफूलाई निकै निखारे र अलराउन्डर प्रस्तुति दिए । कार्यक्रममा विभिन्न जिल्लाका स्थानीय साँस्कृतिक लोकसंगीतदेखि आधुनिक गीत र राष्ट्रिय गीतले स्थान पायो ।

कार्यक्रमको ३६ औं शृंखलासम्म आउँदा प्रत्यक्ष रूपमा सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँडले निर्णायकको भुमिका निर्वाह गरे । सुरेस पौडेलले प्रोजेक्ट हेडको जिम्मेवारी पूरा गरे । एलन श्रेष्ठ, लोकेश बज्राचार्यले निर्देशकीय भूमिका निर्वाह गरे ।

SHARE