पत्रकार महासंघमा प्रेस युनियन र प्रेस संगठनसहित ११ वटा संगठनबीच गठबन्धन

0
800

चैत १३,२०७७ काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस संगठनसहित ११ संगठनबीच गठबन्धन भएको छ। प्रेस युनियनको नेतृत्वमा शुक्रबार ११ संगठनबीच गठबन्धन गर्ने निर्णय भएको हो।

महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धतासहित गठबन्धन गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

सरकारी सञ्चारमाध्यमलाई एकलौटी ढंगमा प्रस्तुत गर्न र अन्य राजनीतिक दलका समाचारप्रति दूर्भावना राखी सम्प्रेषण गर्न बाध्य पारी त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरूमाथि मनोवैज्ञानिक दबाब दिने हर्कप्रति विज्ञप्तिमा आपत्ति समेत जनाइएको छ।

विज्ञप्तिमा मिडिया काउन्सिल विद्येयक, सार्वजनिक सेवा प्रसारण विद्येयक, सामाजिक सञ्जाल निर्देशिका ९अनलाइन० लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, नागरिक अधिकार कुण्ठित गर्ने किसिमका सरकारले अघि बढाएका विधेयकहरू फिर्ता गराउन थप संघर्ष गर्ने प्रतिबद्धता समेत जनाइएको छ।

गठबन्धनमा प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जन पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, मिडिया नेपाल, प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाज रहेका छन्।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण संकटमा परेका साना तथा ठूला मिडिया उद्योगको पुनरुत्थानका कार्य अघि बढाउने प्रतिबद्धता समेत ११ संगठनको साझा विज्ञप्तिमा जनाइएको छ।

पत्रकार महासंघले पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट केन्द्र तथा प्रदेशको नेतृत्व चयन गर्दैछ। यसअघि केन्द्रको नेतृत्व पार्षद प्रणालीबाट चुनिन्थ्यो।

SHARE