सवारी दुर्घटनामा ६ जनाको मृत्यु

0
227

फागुन १३,२०७७ काठमाडौं : देशका बिभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार सिरहा, बर्दिया, चितवन, मकवानपुर र सुनसरीमा बुधबार र बिहीबार भएका सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको हो।

सिरहाको लहान नगरपालिका–३ मा ना ६ ख ४९४४ नम्बरको कन्टेनरको ठक्करबाट साइकलयात्री स्थानीय १४ वर्षीय धीरज गुप्ताको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको राउ स्मारक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बर्दिया, राजापुर नगरपालिका–८ भोगपुरमा ना ६५ प ८०३९ नम्बरको मोटरसाइकल राँगामा ठक्कर खाँदा मोटरसाइकल चालक गुलरिया नगरपालिका–३ खैरापुरका २७ वर्षीय दामोदर खनालको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय सुभन यादवको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

यस्तै चितवन, भरतपुर महानगरपालिका–१२ मा ना ३८ प ५२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नगरपालिका–१० बस्ने २५ वर्षीय चिरन राज चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै भरतपुर महानगरपालिका–९ स्थित सडकमा बा ५ ख ८९९९ नम्बरको गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। अन्दाजी ४५ वर्षीय पुरुषको परिचय नखुलेको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। फरार चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ना ६ ख ४०४४ नम्बरको ट्रकले ना १ ह ३४०८ नम्बरको गाडीलाई बिहीबार बिहान ठक्कर दिँदा गाडी चालक वडा नम्बर ११ थानाभर्याङका ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै सुनसरी, बराहक्षेत्र नगरपालिका–५ भरोलमा को १ ज ३७६१ नम्बरको बोलेरोले ना ३९ प ५०७६ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय डिगन गुरुङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय कृष्ण कुमार राजधामीको सोही अस्पतालमा उपचार भइरहेको छ। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डुबेर २ को मृत्यु

सिरहा र नवलपरासी (पूर्व)मा पोखरी र नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार लहान नगरपालिका–२३ गढियाचोकस्थित सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउको करैया बस्ने देविन्द्र महतोकी ११ वर्षीया छोरी सुस्मिता महतोको मृत्यु भएको छ।

पोखरीमा डुबेर अशक्त भएकी उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै नवलपरासी ९पूर्व०, गैंडाकोट नगरपालिका–१० पितौजीस्थित नारायणी नदीमा डुबेर सोही ठाउँ बस्ने २८ वर्षीय भीम बहादुर थापाको बुधबार मृत्यु भएको छ। नदीमा माछाको जाल झिक्ने क्रममा डुबेर उनको मृत्यु भएको हो।

SHARE