एकताको पक्षमा आएनन् भने ओली–प्रचण्ड सेनाबिनाको सैनिक जस्तै हुन्छन् : वामदेव गौतम

0
374

माघ १४, २०७७
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको पक्षमा नआए केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैजना सेनाबिनाका कमान्डर जस्तै हुने बताएका छन्। ​औपचारिकरूपमा नेकपा एकताको राष्ट्रिय अभियान सुरु गर्दै उपाध्यक्ष गौतमले यस्तो बताएका हुन्।

पार्टी एकताको सम्भावना देखेकै कारणले आफूले एकता अभियान चलाएको पनि उनले बताए। ‘दुईतिर फर्केकालाई ओली प्रचण्ड दुवैलाई मिलाउँछु। त्यसका लागि जनताले साथ दिन्छन्’ उनले भने, ‘पार्टी एकताको पक्षमा आएनन् भने ओली–प्रचण्ड सेनाबिनाको सैनिक जस्तै हुन्छन्। अर्को धारमा हामी हुन्छौँ हाम्रो पक्षमा जनता आउँछन्।’

कार्यक्रममा उपाध्यक्ष गौतमले अध्यक्ष प्रचण्ड एकताका पक्षमा देखिएका भए पनि प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकताको पक्षमा कहिल्यै नभएको आरोप लगाएका छन्।

‘अध्यक्ष प्रचण्ड समूहलाई पार्टी एकताको पक्षमा संसद पुनःस्थापना भयो भने ल्याउन सकिन्छ। तर, केपी ओली एकताको पक्षमा कहिल्यै थिएनन्, उनले भने, ‘सर्वोच्चले जस्तो निर्णय गरे पनि हामी एकताको अभियानमै हुन्छौँ।’

सर्वोच्च अदालतमा पुगेको विषयलाई सडक आन्दोलन गरेर दबाब दिन नहुने उनको तर्क छ। ‘सर्वोच्चले के निर्णय गर्छ भनेर हामी दबाब दिने पक्षमा छैनौँ’ उनले भने, ‘ओली प्रचण्डले जसरी हामी संविधान संवत् जुन निर्णय गर्छन्। त्यसलाई हामीले मान्नुपर्छ।’

जनताको बहुदलीय जनवाद मानेर एकता अभियान चलाएको उनले बताए। ‘पार्टी विभाजनको अनुभव लिएर मार्क्सवाद पार्टी निर्माण हुन्छ। यसले समाजवाद निर्माण गरेर देखाउँछ’ उनले भने, ‘हामीले फुटेर गएकालाई देखाउनैपर्छ।’

पार्टी एकता गराउन सक्ने धारणा भएकाले संसद् पुनःस्थापना हुन्छ भन्ने लागेको उनले बताए। कम्युनिस्ट पार्टीको अबको अवधारणा भनेको समाजवादतर्फ भएको जिकिर गरे। ​थाहाखबरबाट

SHARE