माघ ९,२०७७ दाङ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य जनार्दन शर्मा‘प्रभाकरले ७ देखि १० वर्षसम्ममा नेपालको गरिबी अन्त्य गर्ने सकिने बताए।
सत्तामा बसेर अर्बौंमा बिक्नेहरुकै कारण देश आज गरिब अवस्थामा आएको नेता शर्माले बताए।
शुक्रबार नेपाल दलित मुक्ति संगठन जिल्ला कार्यदल दाङले शुक्रबार तुलसीपुरमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले भने, यदि संविधान कार्यान्वयन गर्न जिम्मा मलाई दिए ७ देखि १० वर्षसम्ममा नेपालको गरिबी अन्त्य गर्न सकिने मलाई विश्वास छ।
बौद्धिक र साधनयुक्त युवा जनशक्ति यही भएको भन्दै प्रकृतिले दिएको अथाह सम्पत्ति नेपालीसँग भएको बताए। संविधानले दिएका सबै अधिकार पूर्ण रूपमा लागू गर्न सके देशलाई धनी बनाउन १० वर्ष काफी हुनेसमेत उनले बताए।
त्यसैगरी उनले राष्ट्र निर्माणप्रति, जनताका अधिकार स्थापित गर्नतर्फ नभई प्रधानमन्त्री ओली हिजोका सामन्त राजा महाराजाको सिको गर्दै त्यो पथमा हिँड्न खोजका पनि आरोप लगाए।