पुस २६
पर्वत : अस्थायी ठाउँमा रहेको पर्वतको फलेवास नगरपालिका केन्द्र अब भने स्थायी ठाउँमा सर्ने भएको छ।
पुस २४ गते बसेको कार्यपालिकाको बैठकबाट फलेवास नगरपालिका–५ खानीगाउँस्थित झकलकमा केन्द्र सार्ने गरी बहुमत सदस्यहरूबाट निर्णय भएको नगरपालिकाका प्रवक्ता तथा वडा नं। ४ मुडिकुवाका अध्यक्ष टीकाराम गौडेलले बताए।
नगरपालिका बने लगत्तै भाडाको घरमा रहेर कार्यालय सञ्चालन हुँदै आएकोमा त्यसपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सेवा सुरु गरिएको थियो। लामो समयसम्म जग्गाको खोजी हुँदै आएकोमा बल्ल मात्रै उपयुक्त स्थान भेटिएको र त्यसमा सर्ने निर्णय गरिएको प्रवक्ता गौडेलको भनाइ छ।
झकलकमा कार्यालय राख्न ११ जना स्थानीय नागरिकले ६० रोपनी जग्गा दान दिएका र जग्गा खरिदका लागि रकम खर्च गर्नु नपरेको पनि उनले बताए। केन्द्र सर्न लागेको स्थान हाल रहेको अस्थायी केन्द्रबाट करिब एक किलोमिटर टाढा पर्छ।
अहिले कार्यालय रहेको सिँचाइको भवनको क्षेत्रफल ३ रोपनी मात्रै रहेको र त्यहाँबाट सेवा सञ्चालन गर्न समस्या भएको तथा उक्त भवन नगरपालिकाको नहुँदा थप भौतिक विकास समेत गर्न नपाएको नगरप्रमुख पदमपाणि शर्माले बताए।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ मा नगर तथा गाउँपालिकाको स्थायी केन्द्र बनाउन आफ्नै स्वामित्वको जग्गा हुनुपर्ने र उक्त जग्गा नगरपालिकाको हकमा कम्तीमा ८ रोपनी र गाउँपालिकाको हकमा कम्तीमा ६ रोपनी हुनुपर्ने नियमअनुसार नयाँ ठाउँमा सर्ने निर्णय भएको शर्माको भनाई छ।
नगरपालिकाको मुख्य प्रशासनिक भवन, विषयगत शाखाका भवनहरू लगायत बजार क्षेत्रको विस्तारलगायत नगरपालिकाको केन्द्रका लागि आवश्यक पूर्वाधारहरू झकलकमा निर्माण कार्य अघि बढाइने भएको छ।
यसका लागि स्थानीय जग्गादाताहरूले नगरपालिकालाई जग्गाको लालपुर्जासमेत दिइसकेका छन्। नयाँ ठाउँमा सर्न मुख्य प्रशासनिक भवन निर्माणको काम चालु आर्थिक वर्षभित्रमा नै सुरु गरेर एक वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ। थाहा