गुल्मीमा विद्यालय पुनर्निर्माण : पाँच वर्षमा एक सय बढी बने, ६२ वटा निर्माणाधीन

0
37

पुस २६,२०७७ गुल्मी : गुल्मीमा २०७२ सालमा गएको भूकम्पबाट क्षती भएका एक सय भन्दा बढी विद्यालयहरुको पुन निर्माणको कार्य सकिएको छ ।
२०७२ साल बैशाखमा गएको भूकम्पको कारणले जिल्लामा ३१२ वटा विद्यालय भवनहरुका एक हजार २५२ वटा कक्षाकोठा भत्केका र क्षतिग्रस्त भएका थिए । भूकम्प गएको पाँच वर्ष बितिसक्दा अहिलेसम्म १२४ वटा विद्यालय भवनहरुका २७४ वटा कक्षाकोठाको पुनर्निर्माणको कार्य सकिएको छ । पुनर्निमाण भएका सबै विद्यालयहरुको निर्माण कार्य विद्यालय व्यवस्थापन समिति (विव्यस) मार्फत गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) गुल्मीका इकाई प्रमुख पीताम्बर पन्थीले जानकारी दिए ।

आर्थिक वर्ष २०७३÷०७४ मा चार कोठे विद्यालय भवन तीन वटा, तीन कोठे विद्यालय भवन छ वटा र दूई कोठे विद्यालय भवन छ वटा गरि जम्मा १५ वटा विद्यालय भवनमा ४२ वटा कक्षाकोठाको निर्माण कार्य सकिएको इकाई प्रमुख पन्थीले बताए ।
त्यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा चार कोठे विद्यालय भवन तीन वटा, तीन कोठे विद्यालय भवन छ वटा र दूई कोठे विद्यालय भवन छ वटा गरि जम्मा १५ वटा विद्यालय भवनमा ४२ वटा कक्षाकोठाको निर्माण कार्य सकिएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा चार कोठे विद्यालय भवन ३९ वटा, तीन कोठे विद्यालय भवन १० वटा र दूई कोठे विद्यालय भवन ३८ वटा गरि ८७ वटा विद्यालय भवनमा १६२ वटा कक्षाकोठाको निर्माण कार्य सकिएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा चार कोठे सात वटा विद्यालय भवनको निर्माण कार्य सकिएको इकाई प्रमुख पन्थीले बताए । त्यस्तै ४३ वटा विद्यालयमा सुविधासम्पन्न शौचालयको पनि निर्माण कार्य सकिएको हो ।

जिल्लामा अहिले ६२ वटा विद्यालय भवनका २०९ वटा कक्षाकोठा निर्माणधीन अवस्थामा छन् । जसमा चार कोठे विद्यालय भवन ४० वटा, तीन कोठे विद्यालय भवन पाँच वटा र दूई कोठे विद्यालय भवन १७ वटा रहेका छन् । ३४ वटा विद्यालयमा खानेपानी र सुविधासम्पन्न शौचालयको पनि निर्माणको कार्य भइरहेको छ । त्यस्तै १२६ वटा विद्यालय भवनका ७ सय ६९ वटा कक्षाकोठाको पुनर्निर्माणको कार्य गर्न बाँकी रहेको इकाई प्रमुख पन्थीले बताए ।
केन्द्रबाट प्राप्त कार्यक्रम थोरै र जिल्लामा प्रभावित भएका विद्यालयहरु धेरै भएको हुनाले उक्त विद्यालयहरुको पुनर्निर्माणको कार्य बाँकी रहेको पन्थीको भनाई रहेको छ । त्यस्तै पुनर्निर्माणको कार्यअबधि २०७८ पुस १० गतेसम्म रहेको हुँदा बाँकी रहेका विद्यालयहरु नेपाल सरकारको निर्णय अनुसार अन्य निकायमा जिम्मेवारी हस्तान्तरण हुने

क्षतिग्रस्त भएका विद्यालयहरुको पुनर्निर्माणको लागि बजेट सिलिङ पनि फरक–फरक हुने इकाई प्रमुख पन्थीले बताए । चार कोठे विद्यालय भवनका लागि ७० लाख ४० हजार, तीन कोठे विद्यालय भवनका लागि ३५ लाख ८० हजार, दूई कोठे विद्यालय भवनका लागि २३ लाख ९० हजार, खानेपानी सुविधाको लागि ७ लाख र शौचालय निर्माणका लागि १५ लाख बजेट लाग्ने छ । विद्यालयको दुरी र आवश्यकता अनुसार बजेट फरक–फरक हुने पन्थीले बताए ।

SHARE