
पुस २५,२०७७ स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सबै घरधुरीमा न्युनतम विद्युत् महसुल निशुल्क गराउने निर्णय गरेको छ। गाउँपालिकाको आठौँ गाउँ सभाले ४६०० घरधुरीको विद्युत् महसुल छुट दिने घोषणा गरेको हो।
हालसम्म यहाँका उपभोक्ताले पाँच एम्पियरको सेवा शुल्क ३० र प्रतियुनिट ३ रुपैयाँका दरले महसुल बुझाउँदै आएका छन्। नेपाल सरकारले १० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल निस्शुल्क गरेको छ।
‘उज्यालो प्रदेश नारालाई सफल बनाउने उदेश्यले आन्तरिक लगानीबाट यो कार्यक्रम लागू गरेका छौँ,’ कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले भने, ‘खपतको आधारमा निम्न वर्गीय र मध्यम वर्गीय परिवार यो कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेछन्।’ महसुल छुट निम्ति पालिकाले मासिक १ लाख पचास हजार र वार्षिक १८ लाख रुपैयाँ विनियोजन गरेको थापाले जानकारी दिए।

व्यवसायिक उपभोग गर्ने उपभोक्ता बाहेक पालिकाका सबै उपभोक्तालाई महसुल निस्शुल्क गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले वताए।
यसैगरी गाउँ सभाले आगामी शैक्षिक शत्रदेखि लागू हुनेगरी स्थानीय पाठ्यक्रम विकास गर्न समेत बजेट विनियोजन गरेको छ। एक घर एक धारा, अस्पताल संचालन, सडक स्तरोन्नती, बाख्रा भैँसी र बङ्गुर पकेट क्षेत्र घोषणा गर्न पनि बजेट विनियोजन गरिएको गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाले जानकारी दिइन्।






