रामपुरमा अनलाईनमार्फत व्यक्तिगत घटना दर्ता सुरु

0
467

सुशीला रेग्मी

पुस २२,२०७७ पाल्पा :पाल्पाको रामपुर नगरपालिकाले अनलाईनमार्फत व्यक्तिगत घटना दर्ता कार्यक्रम सुरु गरेको छ । नगरका दशवटै वडा वडाबाट अनलाईनमार्फत सेवा दिने कार्यक्रम अन्र्तगत वडा नं ७ को कार्यालयबाट कार्य प्रारम्भ भएको छ ।

नगर प्रमुख रमणबहादुर थापाले सेवाको शुभारम्भ गर्दै अनलाईन प्रणालीबाट घटना दर्ता सुरु गर्न थालेपछि विवरण सुरक्षित रहने बताए । प्रबिधिको प्रयोग बढेसंगै सेवालाई पारदर्शी र सुरक्षित बनाउन अनलाईनमार्फत सेवा सुरु गरेको नगर प्रमुख थापाको भनाई छ ।

नगरपालिकाले हालै व्यक्तिगत घटना दर्ता सम्बन्धी वडा अध्यक्ष, वडा सचिव र कार्यालय सहायकलाई तीन दिन तालिम संचालन गरेपश्चात वडा नं ७ ले अनलाईनमार्फत सेवा सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले जानकारी दिए ।

उनका अनुसार नगरका अन्य वडा कार्यालयले पनि अनलाईनमार्फत व्यक्तिगत घटना दर्ता कार्य सुरु गर्ने तयारी गरेका छन् । वडा अध्यक्ष तिर्थप्रसाद पंगेनीले कागजी अभिलेख खोज्न झण्झट हुने, कतिपय अवस्थामा मिति र विभिन्न विवरण फरक पर्ने समस्या झेल्नु परेको बताउँदै अनलाईनमार्फत सेवालाई शुभारम्भ गरिएको बताए ।

सेवा शुभारम्भका अवसरमा दिक्षा रेग्मी र कृष्ण भट्टराईलाई जन्मदर्ताको प्रमाण पत्र वितरण गरिएको कार्यालय सहायक गिता पौडेलले जानकारी दिइन । वडा कार्यालयमा प्रबिधिको प्रयोग बढेसंगै अनलाईनमार्फत घटना दर्ता कार्यबाट सेवा सुरु गरिएको उनी बताउछिन ।

SHARE