रामपुर अस्पतालमा एम्बुलेन्स सेवा बिस्तार

0
459

सुशीला रेग्मी
पुस २०,२०७७ : पाल्पाको रामपुर अस्पतालले एम्बुलेन्स सेवा बिस्तार गरेको छ । सदरमुकाम तानसेन देखि करिव ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालले सेवाको क्षेत्रलाई फराकिलो बनाउन र बिरामीलाई सहज सेवा दिन थप एम्बुलेन्स सेवा सुरु गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷०७७ को रु १३ लाख वजेट सहयोगमा नयाँ एम्बुलेन्स अस्पतालमा भित्रिएको छ ।

एम्बुलेन्स सेवाको उद्घाटन गर्नुहुदै लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनालले यस अस्पतालले कालीगण्डकी वेशीका धेरै नागरिकलाई सेवा दिने भएको हुदा अस्पतालमा उपलब्ध बाहेकका सेवा सुबिधाका लागि मात्र बिरामी अन्यत्र अस्पताल रिफर गरिनुपर्ने बताए ।

यस अस्पतालमा प्रदेश सरकारकै सहयोगमा कर्मचारीको लागि एकवटा गाडी उपलब्ध गराएको र साथै विभिन्न उपकरणहरु पनि सहयोग भइरहेको बताउँदै प्रदेश सभा सदस्य खनालले प्रदेश सरकारले स्वास्थ्यका क्षेत्रमा धेरै राम्रो काम गर्दै गएको बताए । उनले रामपुर अस्पतालको गुरुयोजना बनाएर पेश भइसकेको र कार्यान्वयनका लागि आफुले पहल गर्ने बताए ।

नेकपा रामपुर नगर कमिटि इन्चार्ज राजुप्रसाद श्रेष्ठले पचास शैयाको अस्पतालको रुपमा स्तरोन्नती भएपनि भौतिक पूर्वाधार विकास नहुदा तोकिएको सेवा सुबिधा दिन नसकिएको बताए । उनले सुबिधाजनक अस्पतालका रुपमा पुग्न सडक अप्ठ्यारो भएकाले यस अस्पताललाई विकास गरेर यहीँबाट सम्पूर्ण किसिमको सेवा दिने बताउनुपर्ने बताए ।

नेकपा रामपुर नगर कमिटी अध्यक्ष कमलराज भट्टराईले रामपुर अस्पतालमा तोकिएको सेवा सुबिधा सबै दिन सके अन्यत्र बिरामीले उपचारका लागि धाउनु नपर्ने बताए । नेपाली कांग्रेस रामपुर नगर कार्यसमिति सभापति नेत्रप्रसाद भट्टराईले सरकारी अस्पतालका रुपमा यस अस्पताल रिफर सेन्टर जस्तै बनेको हुदा यहीँ उपचार गर्न सकिने बिरामीलाई अन्यत्र रिफर नगरिदिन हुन अनुरोध गरे ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बाहिर अस्पतालको विकास कम भयो भन्ने जनगुनासा आएपनि पछिल्लो समय अस्पताल भित्र धेरै विकास हुदै गएको बताउछन् ।

रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर विजय परियारले एकवटा एम्बुलेन्स संचालनमा आइरहेको र प्रदेश सरकारको सहयोगमा थप एकवटा एम्बुलेन्स आएपछि नागरिकलाई सेवा दिन सजिलो पर्ने बताए ।
साथै उनले विपन्न, गर्भवति महिलालाई अस्पताल सम्म पु¥याउन र अस्पतालबाट अन्यत्र लैजानका लागि प्रदेश सरकारबाट रु एक लाख ५० हजार वजेट प्राप्त भएको जानकारी दिए ।

अस्पताल संचालन विकास समितिका सदस्य ईश्वरीदेवी खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अस्पतालका प्रशासन सहायक हिरा विकले गरेका हुन् । कार्यक्रममा सहभागीलाई अस्पतालको नर्सिङ शाखामा कार्यरत कर्मचारी सुनिता गौतमले स्वागत गरिन् । रामपुर अस्पतालको सहित रामपुर नगरपालिका भित्र हाल चारवटा एम्बुलेन्स संचालनमा छन् ।

SHARE