रामपुरमा ४५ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइयो

0
937

सुशीला रेग्मी

रामपुर (पाल्पा), १७ पुस :नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिले ४५ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस तथा चियापान कार्यक्रम मनाएको छ । विसं २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा देशव्यापी रुपमा मेलमिलाप दिवस मनाउने कार्यक्रम अन्र्तगत पाल्पाको रामपुरमा पनि मनाइएको छ ।

गणेशमान स्मृति भवन बेझाँड बजार शान्तिकुवामा भएको कार्यक्रम नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्रप्रसाद भट्टराईको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य एवं रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले मेलमिलाप दिवस एक पार्टीले मात्र नभई राष्ट्रले नै मनाउनुपर्ने बताउँदै विपी कोईरालालाई महामानव व्यक्तित्वका रुपमा सबै दल, राष्ट्र तथा विश्वरले अनुसरण गर्दै आएको बताए ।
मेलमिलाप नहुँदा मुलुकको विकासमा बाधा पर्ने भएको हुदा विपीले दिएको महान् वाणी जोगाउनुपर्ने, सबै एकजुट हुनुपर्ने, सिंगो रामपुर नगरपालिका एकताबद्ध भएर जाने नगर प्रमुख थापा बताउँछन् । नेकपा फुटको संघारमा पुगेको हुदा पार्टी फुटेर होइन एकजुट भएर काम गर्नुपर्नेमा जोड दिदै ठुलो खर्च गरेर चुनाव गर्नुभन्दा संसद पुर्नःबहाली गरेर देश चलाउनुपर्ने नगर प्रमुख थापाले बताए ।

रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले महामानव विपीले नेपाली जनता र देशको लागि ठूलो त्याग गर्नुभएकाले उहाँका सिद्धान्तलाई सबै नेपालीले अंगाल्नुपर्ने बताइन् । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले मेलमिलाप दिवसलाई पुस १६ गतेलाई मात्र नभई तीन सय ६५ दिनलाई नै दिवसको रुपमा लिनुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुर अध्यक्ष कमलराज भट्टराईले कम्युनिष्ट र कांग्रेसको एउटै लक्ष्य समाजवाद भएकाले लक्ष्यमा नपुग्दासम्म नमिल्नु पर्ने कुनै कारण नभएको बताए । नेपाल कम्युनिष्ट पार्टीका रामपुर इन्चार्ज राजुप्रसाद श्रेष्ठले विपीले तत्कालिन समयमा सुरुवात गरेको मेलमिलापको नितिले नै देशमा परिवर्तन आएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी विष्णुमायाँ ढकाल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, शहीद बहुमुखी क्याम्पस रामपुरका प्रमुख मुरारीप्रसाद काफ्ले, नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश क का सभापति सुर्यप्रसाद पोखरेल, रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने,सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपाल आदिबासी जनजाति संघ रामपुरका सभापति रामबहादुर राना लगायत विभिन्न सरोकारवाला व्यक्तिले मेलमिलापले नै मुलुकको परिवर्तन हुने बताए । नगर सदस्य विष्णुप्रसाद पौडेलले स्वागत गरेको कार्यक्रमको संचालन नगर सचिव चिरन्जीवी सिग्देलले गरेका थिए ।

SHARE