पुस १५,२०७७ गुल्मी : गत पुस ३ गते भएको अटो दुर्घटनामा घाइते युवाको उपचारमा आर्थिक समस्या आएपछि जिल्लाका बिभिन्न संघ संस्थाहरुले सहयोग संकलन गरेका छन् । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर–१३ दुबिचौरमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटनामा रेसुंगा नगरपालिका वडा नम्बर–२ का १६ वर्षका सुनिल बिक गम्भीर घाइते भएका थिए ।
उनको पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रवास उपचार भइरहेको छ । घाइते बिकको घरको आर्थिक अबस्था कम्जोर भएको र उपचारमा धेरै रकम लाग्ने भएपछि बुधवार जिल्लाका कर्मचारी, स्वास्थ्यकर्मी देखि पत्रकारसम्मले आर्थिक सहयोग रकम संकलन गरेका हुन् ।
गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको पहलमा जिल्लाका बिभिन्न संघ संस्थाहरुबाट १ लाख १२ हजार १४० रुपैयाँ सहयोग संकलन गरि घाइते युवाको आमा सुन्तली बिकलाई शर्माले रकम हस्तातरण गरिन् । रकम हस्तातरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् ।
अटो दुर्घटनामा २ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । अन्य २ जनाको गुल्मी अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् ।