दुई लाख उपचार खर्च तिर्न नसकेपछि अस्पतालमै अलपत्र

0
331

प्रेम सुनार
पुस १५,२०७७गुल्मी :केही दिनअघि गुल्मीमा भएको अटो दुर्घटनामा घाइते भएका एक किशोर दुई लाखभन्दा बढी अस्पतालको खर्च रकम तिर्न नसकेपछि अस्पताल कै निगरानीमा बस्न बाध्य भएका छन् । गत शुक्रबार साँझ गुल्मीको दुबीचौरमा अटो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो भने तीन जना घाइतेमध्ये एक जना अझै लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा छन् ।
रेसुङ्गा नगरपालिका २ का १६ वर्षीय सुनिल बिक सो अस्पतालमा अलपत्र परेका हुन् । उनका बाबु सहवीर बिक भन्छ्न्–‘छोराको डिस्चार्ज आइतबार नै गरिएको हो तर दुई लाख १० हजार नतिरेसम्म अस्पताल बाहिर निस्किन दिँदैनन् ।’
उनी तम्घास कै रेसुङ्गा माविका सुरक्षा गार्ड भएको नाताले त्यस माविका प्रधानाध्यापक प्रेमनारायण भन्डारीले सुरु मै २० हजार दिएर पठाए । फेरि ३४ हजार पाँच सय पठाए । घाइतेका बाबु बिक भन्छन्–विध्यालयले मलाई ठूलो गुन लगायो तर अरू निकायले हेरेनन्, दुई लाख त परै जाओस् १० हजार तिर्ने उपायसम्म छैन मसंग ।’
त्यस विद्यालयका प्रअ भन्डारीले जिल्लामा कुनै जिम्मेवार निकाय नभएको महसुस भएको बताए । घाइतेसहितका कामदार तम्घासका व्यवसायी पृतम क्षेत्रीको नेटवर्क व्यवसायको तारजाली बिच्छाउने कामको लागि गौंडाकोट गएका थिए । उनीहरूलाई लिन क्षेत्रीले नै अटो पठाएका थिए ।
त्यो अटो तम्घास भगवती मन्दिर नजिक घर हुने सोनु नेपालीले दुबीचौरका तेजेन्द्रबहादुर रानालाई दुई महिना अघि नै बेचेका थिए । तर उनको दुर्घटनामा मृत्यु भयो । उनको परिवारको पनि बिचल्ली छ । अटो बीमा नगराइएका कारण मृतकका परिवार र घाइतेहरू समस्यामा परेका हुन् । गुल्मीका प्रमुख जिल्ला अधिकारि रूद्रादेवी शर्माले सरोकारवाला निकायका बीच छलफल गरी उनको उद्धारमा जुट्ने बताइन । पृतम क्षेत्रीको परिवारले पनि सोमबार सहयोग स्वरूप ३५ हजार घाइते बिकको बाबुलाई पठाएको छ । प्रजिअ शर्माले जिल्लाका कर्माचारीहरूले पनि सहयोग गर्ने अपेक्षा राखिन । सबै पक्षको सहयोगका लागि उनले अपिल समेत गरेकी छन् ।

SHARE