सर्लाही जान लागिएका ३४ अवैध गोरु सहित ६ जना पक्राउ

0
549

जानु पाण्डे
मंसिर ३०,२०७७ कपिलबस्तु : कपिलवस्तुको भारतीय सीमा सँग जोडिएको शुद्धोदन गाउँपालिका २ नन्दनगरबाट ३४ थान अवैध गोरु लोड गरिएको ट्रक सशस्त्र प्रहरीले बरामद गरेको छ ।
भारतबाट अवैध रूपमा भित्राइएका उक्त गोरु बा ५ ख १३४१ नम्बरको ट्रकमा लोड गरी सर्लाही तर्फ लैजान लागिएको थियो । सूचनाका आधारमा बि।ओ।पी। हतिहवाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सिर्जन खड्काको कमान्डमा गएको टोलीले बिहान सवा ११ बजे गोरु समाएको थियो ।
सशस्त्र प्रहरीले ट्रक चालक सहित ६ जनालाई नियन्त्रणमा लिएको छ । बरामद गरिएका गोरु र ट्रक सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको बताइएको छ । पक्राउ गरेका गोरुको अनुमानित मूल्य १६ लाख ७० हजार रहेको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धुब्र बहादुर कार्कीले बताए ।
चार दिन अगाडी नेपाल प्रहरीले गोरु लोड भएको ट्रक समाएको थियो ।
कपिलवस्तुमा ४ दिन अगाडी ३० थान गाई गोरु समाएको थियो । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले मङ्सिर २४ गते बुद्धभुमी ५ सुखलीनालाबाट ना ७ ख ३४० नम्बरको ट्रकमा १२ गोरु र १८ गाई बरामद गरेको थियो । बरामद भएका गाई गोरु र ट्रक कृष्णनगर भन्सार कार्यालय बुझाइएको गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण रानाले बताए । पछिल्लो समय पशु चौपाया चोरी नियन्त्रणका लागि कपिलवस्तुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी सक्रिय बनेका छन् । कपिलवस्तुमा अवैध भित्राइएको खसी बोका, भैँसी , गाई, गोरु दैनिक जसो पक्राउ हुँदै आएका छन् ।

SHARE