
मंसिर २८,२०७७ गुल्मी : गत साउन १६ गते पहिरोमा एकै घरका चार जनाले ज्यान गुमाएका परिवारलाई ५ लाख राहत प्रदान गरिएको छ ।
रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटीपाटामा साउन १६ गते राती घर माथिबाट पहिरो आई घरमा रहेका बीना माझी र उनका छोराहरु सागर, हेमन्त र छोरी बिनिसा माझीको ज्यान गएको थियो ।
उनीहरुका हकदार एवं बीना माझीका श्रीमान राजु माझीलाई जिल्ला बिपद ब्यबस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले रु पाँच लाखको चेक राहत स्वरुप प्रदान गरेका छन् । बीना माझीका श्रीमान रोजगारीको क्रममा भारतमा रहेका थिए ।
साउन २० गते जिल्ला बिपद ब्यबस्थापन समितिको बैठकले प्रदेश सरकारसंग पनि राहत माग गरेको छ । साउन २० गतेको निर्णय संगै थप राहतका लागि प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पत्र पठाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धब पन्थीले जानकारी दिए ।
यता रुरुक्षेत्र गाउँपालिकाले राजु माझीको आवास निर्माणका लागि सहयोग गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए ।






