माधव बेल्बासे
मंसिर २६,२०७७ कपिलवस्तु ः कपिलवस्तुको चन्द्रौटा स्मार्ट रिफ्रेस सेन्टर बन्ने भएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवराज नगरपालिका वडा न ५ चन्द्रौटा हाटबजार नजिकै बन्न लागेको रिफ्रेस सेन्टरको शुक्रवार मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गरे ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले रिफ्रेस सेन्टर संचालन आएपछि सवारी दुर्घटनमा न्युनिकरण हुने बताए । सवारी चाप रहेको क्षेत्रमा मुख्यतः चालकहरुलाई विश्रामको लागि अति उपयोगि हुने जिकिर गरे ।
प्रदेश सरकारले पूर्वपश्चिम राजमार्ग अन्तर्गत विभिन्न ठाउँहरु रिफ्रेस सेन्टर बनाउने कामलाई अगाडी बढाएकोले यसको सहि सदुपयोग गर्न आग्रह गरे । राजमार्गको छेउछाउमा देखिने फोहोर मैलाले गिज्याइरहेको बेला प्रदेशको यो अबधारणले योजनाले नयाँ युगको स्वच्छ र सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताए ।
रिफ्रेस सेन्टर दुई वर्ष भित्र सम्पन्न हुने गरी पहिलो चरणमा रु ३ करोड ६४ लाख लागतमा भिमेश्वर ड्रिलिङ्ग तथा निर्माण सेवाले रिफ्रेस सेन्टर निर्माण गर्ने जिम्मा पाएको छ । स्मार्ट रिफ्रेस सेन्टरमा स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ्ग स्थल, सिटिङ्ग एरिया, पाथ वे, रोड एरिया, कार वासिङ्ग, चार्जिङ स्टेशन र ड्राइभर रुम लगायतका संरचना बन्ने छन् ।