
काठमाडौं : विश्वकै अग्लो हिमाल सगरमाथाको उचाइ बढेको छ। फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफलपछि सगरमाथाको बढेको उचाइ सार्वजनिक गरिएको हो।
अब सगरमाथाको उचाई ८८४८।८६ मिटर भएको छ। यसअघि नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो। नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको थियो।
नेपाल र चीन दुवै देशका सरकारी प्रतिनिधिहरुको भर्चुअल कार्यक्रमबाट दिउँसो पौने २ बजे औपचारिक कार्यक्रममार्फत् एकैपटक सगरमाथाको उचाइ सार्वजनिक गरिएको हो।












