तिलाचन पाण्डे
मंसिर २३,२०७७ गुल्मी : गुल्मीमा काँग्रेसले अबरोध गरेपछि सुरक्षित आप्रावासन परियोजना (सामी) अलपत्र परेको छ ।
रेसुंगा नगरपालिकाले एकलौटी रुपमा कार्यक्रम अगाडी बढाएको, एकलौटी रुपमा कर्मचारीहरु भर्ती गर्न लागेको र पारदर्शी रुपमा काम नगरेको भन्दै काँग्रेसले अबरोध गरेको हो ।
गत साउन ११ गते आइतबार बिहान ११ बजेका लागि तोकीएको परीक्षामा काँग्रेसले नगरपालिकाको गेटमै धर्ना दिने र अबरोध गरेपछि परीक्षा स्थगित गरिएको थियो
यता रेसंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले आफूहरुले नियम संगत २०७६ फागुन १२ गते सूचना प्रकाशन गरी आबेदन माग गरिएको र सोही अनुसार छोटो सूचिमा नाम प्रकाशन गरिएको दाबी गरे ।
पुन : बिज्ञापन गर्नुपर्ने काँगे्रसको अडान
यता नेपाली काँग्रेस गुल्मीका सचिब खिलध्वज पन्थीले नेकपाले सामी परियोजनामा कार्यकर्ताहरुको भर्तिकेन्द्र बनाएको र अपारदर्शी तवरले सूचना लुकाएर काम गरेको आरोप लगाउँदै पुन बिज्ञापन गर्नुपर्ने बताए ।
सत्ता र शक्तिमा नेकपाकै हाली मुहाली भएको भन्दै पेलेरै परीक्षा गराए गाउँमा गएर काम गर्न सहज नहुने र परियोजनालाई भर्ती केन्द्र बनाउन नहुने पन्थीले बताए ।
सहमतिको प्रयास जारी : नगरप्रमुख भुसाल
यता रेसुंगा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले सहमतिकै आधारमा परियोजना लागु गरिने दाबी गरे । नेपाली काँग्रेसका सभापतिसंग छलफल भइरहेको भन्दै पुन बिज्ञापन गर्ने सोचमा आफू रहेको उनले बताए । सहमतिको प्रयास जारी रहेको र यदि सहमति नभए जतिसक्दो छिटो बिज्ञापन गरी परीक्षा लिइने भुसालले जानकारी दिए ।
जिल्लाका रेसुंगा , मुसिकोट नगरपालिका , इश्मा र छत्रकोट गाउँपालिकामा सो परियोजना लागू हुने छ ।
यस्तै रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालको संयोजकत्वमा अन्य तीन स्थानीय तहका प्रमुखहरु सदस्य रहने गरि स्थानीय तह परियोजना ब्यबस्थापन समिति रहेको छ ।
जिल्लाका ४ वटा स्थानीय तहमा यो कार्यक्रम लागु हुनेभएकाले यो कार्यक्रमको संयोजन रेसुंगा नगरपालिकाले गरेको छ ।