
मंसिर २१,२०७७ डोटी : डोटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा दिपायलबाट खत्याडी जाँदै गरेको म १ च ५५० नम्बरको जिप शनिबार राति १ बजे दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, उनीकी सासू करिब ५५ वर्षीया नाम नखुलेको, केआइसिंह गाउँपालिका–४ का करिब ४० वर्षीय हरिनारायण भट्ट रहेका छन्।
यसैगरी दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षीय चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ का २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ का २६ वर्षीय टीकाराम गिरी‚ सोही ठाउँकी ४० वर्षीया खेमादेवी गिरी र मृतक मञ्जुका तीन वर्षीय छोरा घाइते भएका छन्।
दुर्घटनामा परी मृत्यु हुने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए रातिनै प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।







