मंसिर २०,२०७७ गुल्मी :लैंगिक हिंसा अन्त्यका लागि सबैको ऐक्यबद्धता सहित सरोकारवालाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
महिला मानवअधिकार रक्षक सञ्जाल गुल्मीको संयोजनमा एकीकृत ग्रामीण विकास समाज र दलित महिला संघको संयुक्त आयोजनामा तम्घासमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् । उनीहरुले महिला हिंसा अन्त्यको लागि प्रत्येक घरपरिवार, व्यक्तिबाट नै हिंसामुक्त वातावरणको निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । महिलाहिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
नेपालमा विद्यमान कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा लैंगिक हिंसा बढ्दै गएको र विशेष गरी महिलाहरु पीडित भएको विषयमा सहभागीहरुले चासो व्यक्त गरेका छन् । कार्यक्रमका मुलुकी फौजदारी संहिता, देवानी संहिता र घरेलु हिंसा तथा कसुर सजाय ऐन २०६६ मा भएका कानुनी प्रावधानको बारेमा अधिवक्ता विनोद पाण्डेयबाट प्रशिक्षण दिइएको थियो । जिल्ला प्रहरी कार्यालयमा गत वर्ष आएका उजुरी र समग्र अवस्थाबारे प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर कुवँरले सहजीकरण गरेका थिए ।
त्यसैगरी हिंसा न्युनीकरणमा नागरिक समाजको भूमिकाको विषयमा पदमप्रसाद पाण्डेयले सहजीकरण गरे । सुहाआरा कार्यक्रमको तर्फबाट राजेन्द्र विश्वकर्माले स्वास्थ्यमा महिला हिंसाले पारेको असरका बारेमा जानकारी दिए।
जिल्लास्थित नागरिक समाज,पत्रकार, अधिकारकर्मीहरुको सहभागिता रहेको उक्त कार्यक्रममको अध्यक्षता एकीकृत ग्रामीण विकास समाज गुल्मीका उपाध्यक्ष भगवती श्रीस, स्वागत दलित महिला संघ गुल्मीका अध्यक्ष कमला बराल र सञ्चालन महिला मानवअधिकार रक्षक सञ्जाल गुल्मीका अध्यक्ष हीरा कुवँरले गरेकी थिइन्।