
मंसिर १५,२०७७ गुल्मी :नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रत्येक नागरिकको घरमा शुद्ध खानेपानी पु¥याउने सरकारको प्राथमिकता रहेको बताएका छन् ।
सत्यवती गाउँपालिका वडा नं १ अस्लेवामा एक घर एक धाराको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । स्थानीय स्तरमा जनताको दैनिकीमा परिवर्तन नआए सम्म समृद्धि नआउने भन्दै प्रत्येक नागरिकको घरमा शुद्ध खानेपानी पुर्याउने गरी सरकारले प्राथमिकता दिएको उनले बताए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले एक करोड ९६ लाख ४२ हजार सात सय ९८ रुपैयाँ ४३ पैसाको लागतमा खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएको हो ।
दुई बर्षमा निर्माण सम्पन्न भएको यो आयोजनाले अस्लेवाका एक सय ९४ घरमा एक घर एक धारा पुगेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मी इन्जिनियर प्रकाश न्यौपानेले जानकारी दिए । अस्लेवा ५, ६ र ७ खानेपानी तथा सरसफाई आयोजना सत्यवति गाउँपालिका वडा नं १ को सवैभन्दा ठुला खानेपानी आयोजना हो ।
एक सय ९४ घरमा खानेपानीका धाराहरु आएपछि स्थानीयहरुमा खुसी छाएको छ । घर घरमा धारा आएपछी अस्लेवाका एक हजार ३६० जनसंख्या लाभाम्बित भएका छन् ।







