
मंसिर १०,२०७७ काठमाडौँ : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।
पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
उक्त प्रणालीको प्रभावले बिहीबार बेलुकासम्म देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । “बिहीबार रातिदेखि मौसममा क्रमिक सुधार हँुदै जाने छ”श्रेष्ठले बताए। पश्चिमी वायुको प्रभावसँगै देशभर चिसो बढेको छ ।

राति प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदलीको सम्भावना रहेको बताइएको छ ।






