चार सय रोपनी बाँझो जग्गा गाउँपालिकाको भूमि बैंकमा

0
900

तिलाचन पाण्डे
मंसिर १०,२०७७ गुल्मी :
गुल्मीदरवार गाउँपालिका भित्र रहेको करिब चार सय रोपनी बाँझो जग्गा गाउँपालिकाको भूमि बैंंकमा दर्ता भएको छ ।
पालिका भित्र रहेका बाँझो जग्गालाई उपयोगमा ल्याउनका लागि गाउँपालिकाले भूमि बैंंक कार्यबिधि २०७७ पारित गरेको र सोही अनुसार बाँझो रहेको करिब चार सय रोपनी जग्गा गाउँपालिकाको भूमि बैंंकमा दर्ता भएको गाउँपालिकाले जनाएको छ ।
कोरोना भाइरसका कारण बिदेशबाट फर्केका र स्वदेशमै रोजगारी गुमाएका युवाहरुलाई कृषि र पशुपालन मार्फत आत्म निर्भर बनाउने गाउँपालिकाको लक्ष्य रहेको छ । बाँझो जग्गा निशुल्क रुपमा कृषकलाई उपलब्ध गराउने र जग्गा धनीलाइ गाउँकार्यपालिकाको बैठकले तोकेको मुल्य उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
पालिका भित्र रहेका बाँझो जग्गाका जग्गा धनिहरुले गाउँपालिकामा असोज मसान्तसम्म निबेदन दर्ता गराएका थिए । मंसिर ७ गते कार्यपालिकाको बैठक बसी जग्गाको मुल्य तोक्ने प्रस्ताब रहेको थियो । गाउँपालिकाको कार्यालय परिसरमा बस्ने एक महिलामा कोरोना संक्रमण भएपछि बैठक स्थगित गरिएको हो । अब बस्ने बैठकबाट जग्गाको मूल्य तोक्ने गाउँपालिकाले जनाएको छ ।
पालिकाले तोकेको समय अबधिसम्म निबेदन दर्ता नगरि जग्गा बाँझो राखेमा पालिकाबाट प्राप्त हुने सम्पुर्ण सेवा सुबिधाहरु रोक्का गर्ने र प्रति रोपनी एक हजारका दरले जरिवाना समेत गर्ने गाउँपालिकाले चेतावनी दिएको छ ।
गाउँपालिका भित्र करिब ६१२ जना युवाहरु देश तथा बिदेशबाट रोजगारी गुमाएर फर्किएका छन् ।

SHARE