गुल्मीको मालिकामा आफ्नो जग्गा बेचेर बन अतिक्रमण

0
960

सन्तोष महतारा
मंसिर ६,२०७७ गुल्मी :
गुल्मीका केही स्थानमा स्थानीयले सार्वजानिक जग्गा अतिक्रमण गरेर बसिरहेका छन् । आफ्नो जग्गा हुदाँहुदै विकासको पहुँच पुगेका स्थानमा बसाइँसराइ गरी सार्वजानिक जग्गा अतिक्रमण गरिरहेका हुन् ।

जिल्लाको मालिका गाउँपालिका वडा नं.७ घमिरका विभिन्न स्थानबाट बसाइँसराइ गरी घमिर कै सिलादीमा आएर सार्वजानिक जग्गा अतिक्रमण गरेर अहिले १२ घरपरिवारका ७० जना बसिरहेको त्यहाँका वडाध्यक्ष बेदप्रसाद पन्थीले बताए ।

आज भन्दा २० वर्ष अगाडी बसाइँसराइ गरी सार्वजानिक जग्गा कब्जा गरी बसिरहेका स्थानीयहरुले आफ्नो नामको लालपुर्जा नभएको गुनासो गरे । उनीहरुले अघिल्लो पुस्ताबाट लालपूर्जा आफ्नो नाममा लिएका छैनन् । विकासको पहुँच पुगेको स्थानमा बस्न उनीहरुले लालपूर्जा नै नभएको बताएका हुन् । “बा–आमाको नामबाट आफ्नो नाममा लालपूर्जा नलिई सार्वजानिक ठाउँमा गएर बसिरहेका छन् ।” वडाध्यक्ष पन्थीले भने,“केही त लालपूर्जा भएको आफ्नो जग्गा बेचेर सार्वजानिक जग्गामा गएर बसेका छन् ।”

त्यहाँ बस्ने अधिकांश अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा आफ्नो जग्गा नसारेको र जग्गा बेचेर सार्वजानिक जग्गामा गएका हुन् । केही भने, सडक विस्तार गर्दा जोखिममा परेपछि सार्वजानिक जग्गा अतिक्रमण गर्न बाध्य समेत बनेका थिए । अहिले सुकुम्वासी भन्दै सिलादीमा बस्ने अधिकांश पुरनकोट र टुनीखोलाको आफ्नो जग्गा बेचेर झरेको घमिर वडाकार्यालयले जनाएको छ । सार्वजानिक जग्गा अतिक्रमण गरेर बसिरहेका सुकुम्बासी नामले चिनिने त्यहाँका स्थानीयले आफ्नो दैनिकी मेलापात र मजदुरी गरी चलाउँदै आएका छन् ।

“मालिका गाउँपालिकाले वस्ती स्थान्तरणको बजेट बिनियोजन गरिसकेको छ ।” गाउँपालिका अध्यक्ष रितबहादुर थापाले भने,“जग्गा उपलब्ध हुन नसक्दा समस्या भइरहेको छ ।” डिभिजन वन कार्यालय गुल्मीले बन अतिक्रमण गरेर बसिरहेका वस्तीलाई गाउँपालिकासँग समन्वय गरेर ब्यवस्थापन गरिने जनाएको छ । “बन अतिक्रमण गरेर बस्नु गलत बिषय हो ।” डिभिजन वन कार्यालय प्रमुख प्रभात सापकोटाले भने, “बन अतिक्रमण गरेर बसेको वस्तीलाई ब्यवस्थापन गर्न लागि रहेका छौं ।”

SHARE