रहेनन् नेकपा नेता बोम खड्का

0
776

हुमाकान्त पोखरेल
गुल्मी, ०२ मंसिर: नेपाल कम्युनिष्ट पार्टी नेकपा ५ नम्बर प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ ।
मंगलबार राति १ बजेतिर घरमा चक्कर आएपछि उपचारको लागि तम्घास अस्पतालमा ल्याउदैँ गर्दा २ बजे उनको निधन भएको हो । नेता खड्का राजनीतिक तथा सामाजिक दृष्टिले उचाइमा पुगेका व्यक्ति हुन् । २०२३ साल असारमा धुर्कोट गाउँपालिका १ नयाँगाउँमा जन्मेका खड्का सानैदेखि राजनीतिमा चासो राख्ने व्यक्ति हुन । ०४१ सालभन्दा अगाडी नै रेसुङ्गा बहुमुखी क्याम्पसमा नेकपा माले निकट विद्यार्थीहरुको संगठनमा आवद्ध भई संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेले ।
०४१ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य भए । ०४९ सालमा मालेकै जिल्ला कमिटी उपसचिव भए । त्यसपछि नेकपा एमाले भइसकेपछि संगठन विभाग प्रमुख हुँदै एमालेकै जिल्ला अध्यक्ष भए । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ५ नम्बर प्रदेश कमिटीका सचिवालय सदस्य तथा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्जको जिम्मेवारीमा थिए ।
नेता खड्का जनयुद्धको समयमा पटक–पटक प्रहरीको प्रक्राउमा परेको, काङ्ग्रेससँगको भिडन्तमा घाइते भएको तथा धेरैपटक यातनाको सामना गरेको नेकपा जिल्ला कमिटी कार्यालय सदस्य कृष्ण सुनारले जानकारी दिए । अहिले भने नेता खड्काले धुर्कोट नयाँगाउँमै कुखुरा तथा टर्की पालन गर्दै आएका थिए । नेता खड्काका एक छोरा र एक छोरी छन् ।

SHARE