
कात्तिक ३०,२०७७
काठमाडौं : मुलुकभर लक्षणसहितका संक्रमित बढेपछि आइसियुमा उपचार गराउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा चार सय १८ जना संक्रमितलाई सघन कक्षमा राखी उपचार भइरहेको छ। आइसियुमा तीन सय ५४ र भेन्टिलेटरमा ६४ जना उपचारत छन्।

आइसियु ९सघन उपचार कक्ष० मा गम्भीर बिरामीको उपचार गरिन्छ भने त्यो भन्दा पनि सिकिस्त बिरामीलाई कृत्रिम श्वासप्रश्वास कक्ष अर्थात भेन्टिलेटरमा राखेर उपचार गरिन्छ।
गम्भीर बिरामी परेका सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। जसअनुसार १२० जना आइसियुमा, भेन्टिलेटरमा ३५ र होम आइसोलेसनमा १८ हजार ४८१ जना रहेका छन्।
लुम्बिनी प्रदेशमा होम आइसोलेसनमा दुई हजार २०३ जना छन्। आइसियुमा ६४ र भेन्टिलेटरमा चार जना छन्। प्रदेश १ को होम आइसोलेसनमा तीन हजार ६५५, आइसियुमा ४५ र भेन्टिलेटरमा ११ संक्रमित छन्।
गण्डकी प्रदेशको होम आइसोलेसनमा एक हजार ८९५,आइसियुमा ९४ र भेन्टिलेटरमा १३ जना छन्। प्रदेश २ मा १६ संक्रमित आइसियुमा र भेन्टिलेटरमा एक जना उपचाररत छन्। होम आइसोलेसनमा ८६० संक्रमित छन्।
कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी होम आइसोलेसनमा बस्नेको संख्या २७० पुगेको छ। आइसियुमा १० जना उपचाररत छन्। त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या एक हजार ८५ र आइसियुमा पाँच जना संक्रमित उपचाररत छन्।






