
कात्तिक २७?२०७७ चितवन । कोरोना महामारीका कारण काम गर्न कठिन भएपछि जिल्लाका सबै इट्टा उद्योग बन्द भएका छन् ।
मजदूर ल्याएर काम लगाउन र उत्पादित सामग्री ढुवानीमा समस्या भएपछि यस वर्ष इट्टा उद्योग संञ्चालन नहुने अवस्थामा पुगेका हुन् । गत वर्ष यही समयमा उद्योगले चिम्नीमा इट्टा उत्पादन थालेका हुन्थे । यस वर्ष उद्योग सञ्चालकले मजदूर समेत ल्याएका छैनन् ।
इट्टा उद्योग संघका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद सापकोटाले उद्योग सञ्चालन गर्न सकिने अवस्था नरहेकाले यस वर्ष बन्द गरिएको जानकारी दिए । “चितवनसहित देशभरका उद्योग यस वर्ष चल्ने अवस्था छैन” उनले भने, “तराई र भारतबाट मजदूर ल्याउनुपर्दछ तर अहिले ल्याउन सक्ने अवस्था छैन कसरी चलाउने ।” उनका अनुसार जिल्लामा १८ वटा इट्टा उद्योग छन् । देशभरमा यो सङ्ख्या एक हजार चार सय हाराहारी रहेको छ । स्थानीय मजदूर पाउने ठाउँका २० प्रतिशत जति उद्योग चले पनि अन्य उद्योग चल्ने सम्भावना नरहेको उनको भनाइ छ ।







