कात्तिक २५,२०७७ काठमाडौँ :पूर्व अर्थमन्त्री युवराज खतिवडाले आयातित किताबमा लगाएको कर अर्थमन्त्री विष्णु पौडेलले हटाएका छन्। पूर्व अर्थमन्त्री खतिवडाले गत आर्थिक वर्षको बजेट ल्याउँदा आयात गरिने किताबमा १० प्रतिशत कर लगाएका थिए।
तर, पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै खतिवडाबाट भएको सो निर्णय उल्ट्याएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले पुस्तक आयातमा लगाएको १० प्रतिशत कर हटाएको हो। विभिन्न क्षेत्रमा कर लादेका कारण खतिवडा निकै अलोकप्रिय भएका थिए। सरकारले किताब आयातमा कर लगाएपछि त्यसको चौतर्फी आलोचना भइरहेको थियो।