
काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ।
विज्ञहरुका अनुसार हाल उपत्यकामा तीन वटै जिल्लामा संक्रमण समुदायस्तरमा पुगेर लक्षण सहितका संक्रमित बढेको हुँदा उपत्यकामा संक्रमणको दर उच्च रहेको बताइरहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार हाल काठमाडौंमा १६ हजार ८ सय ९० भक्तपुरमा १ हजार १ सय ५१ जना र ललितपुरमा २ हजार ३ सय ३ सक्रिय संक्रमित रहेको बताइएको छ।

यस्तै विज्ञहरुले अब झनै संक्रमण फैलिन सक्ने पूर्वानुमान गरिरहेका छन्। उपत्यकालगायत देशभर अब चिसो मौसम सुरु भएको र केही दिनयता काठमाडौँ उपत्यका लगायत देशभर चिसो बढेको अनुभव हुदै जाँदा विगतका यस वर्षहरुमा भन्दा यसपटक चिसो मौसम निकै चुनौतीपूर्ण रहेको बताएका छन्।
गत वर्ष चीनबाट सुरु भएको कोभिड–१९ को संक्रमण हाल विश्वभर फैलिरहेको छ। गर्मीको समयमा नियन्त्रणमा रहेको सो भाइरस चिसो बढेका देशहरुमा चिसोसँगै तीव्र गतिमा वृद्धि हुन थालेको छ। जसले गर्दा केही देशले पुन लकडाउन घोषणा गरिसकेका छन्।
यता, नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएका बेला चिसो मौसम सुरु भएको छ। यसले ठूलो विपत्ति ल्याउने चिकित्सकहरुले पूर्वानुमान गरेका छन्। तथ्याङकले पनि नेपालमा कोरोना भाइरसले दीर्घरोगी र ज्येष्ठ नागरिकहरु धेरै जोखिमा रहने र चिसो मौसमले पनि यस्ता मानिसलाई बढी असर गर्ने हुँदा संक्रमण तीव्र रुपमा फैलिरहेको बेलामा चिसो मौसम झनै जोखिमपूर्ण रहेको बताइएको छ।
कोरोना भाइरसले पनि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउने र निमोनिया गराई मृत्यु हुने भएकाले निमोनियाविरुद्धको खोप लगाउन चिकित्सकहरुले सुझाव दिएका छन्।
त्रिवि शिक्षण अस्पतालमा छातीरोग विशेषज्ञ डा निरज बमका अनुसार चिसोमा वृद्धवृद्धा र दीर्घरोगीलाई विशेष ख्याल गर्नुपर्ने जानकारी दिए। उनका अनुसार ६० वर्षमाथिका वृद्धवद्धालाई बचाउन निमोनियाविरुद्धको खोप लगाउन सल्लाह दिइने उनले बताए।
श्वासप्रश्वास रोगीका लागि जाडो समय अत्यन्तै कष्टकर मानिन्छ। रुघाखोकीको जोखिमबाट बच्न इन्फ्लुएन्जाको खोप लगाउन सकिन्छ। यसले भाइरसबाट बच्न मद्दत गर्छ।
डा बमले भने, ‘अन्य मौसममा भन्दा चिसोमा भाइरस बढी सक्रिय हुने र शरीरमा भाइरससँग लड्ने रोग प्रतिरोधात्मक क्षमता पनि कम भएकोले चिसो मौसममा भाइरसको जोखिम बढी हुन्छ। अझै जाडोमा वृद्धवृद्धाको श्वासप्रश्वासमा समस्या बढ्दै जान्छ। त्यसैले हामीले जीवनमा एक पटक निमोनियाविरुद्धको खोप र वर्षमा एक पटक इन्फ्लुएन्जाविरुद्धको खोप लाउन सल्लाह दिन्छौँ।‘
प्रत्येक वर्ष एकपटक इन्फ्लुएन्जा खोप लगाएमा निमोनियालाई धेरै हदसम्म कम गर्न सकिने उनले बताए। कोरोना लागेको व्यक्तिलाई १०० डिग्रीमाथि ज्वरो आउने, खोकी सुरु भएको ५ देखि १० दिनमा श्वासप्रश्वासमा समस्या देखिन थाल्छ।
त्यस्तै, थकानसमेत महसुस हुन्छ। सुक्खा खोकी लाग्ने, घाँटी दुख्ने र पछिल्लो समय मुख्यतस् पखाला लाग्ने समस्या देखिएको छ। त्यसैगरी, खाने कुराको स्वाद र गन्ध थाहा नपाउनु पनि कोरोनाको लक्षण हो। थाहाबाट








