Friday, June 5, 2026

गुल्मीमा माघ २४ देखि २६ गतेसम्म राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

0

माघ २०,२०८० गुल्मीःगुल्मीमा यही माघ २४ गतेदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । बिहीबार बसेको जिल्ला खेलकुद विकास समितिको बैठकले माघ २४ देखि २६ गते तीन दिनसम्म तम्घासको चिदिचौरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट गरी विभिन्न चार विधामा खेल हुनेछन् । जसमा भलिबलतर्फ छात्र÷छात्रा एवं कबड्डीतर्फ पनि छात्र÷छात्राको खेल हुनेछ । त्यसैगरी छात्र÷छात्राको एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटर दौड एवं चार सय मिटर रिले दौड हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

छात्र÷छात्रातर्फ नै हाइजम्प, लङजम्प, त्रिपलजम्प प्रतियोगिता हुनेछ । छात्रतर्फ ज्याभलिङ थ्रो आठ सय ग्राम र सटफुट १२ पाउण्डको खेल हुुनेछ । त्यस्तै छात्रातर्फ ज्याभलिङ थ्रो छ सय ग्राम र सटफुट आठ पाउण्डको हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरिप्रसाद महाकिमले जानकारी दिए ।

मार्सल आर्टतर्फ छात्र÷छात्रा कराँते, छात्र÷छात्रा तेक्वान्दो, छात्रातर्फ पुम्से, छात्र÷छात्रा थाओलु र सान्सौ प्रतियोगिता सम्पन्न हुनेछ । प्रतियोगितामा जिल्लाका १२ वटै पालिकाबाट सहभागिता रहनेछ । जसमा कोच, खेलाडी र विभिन्न पक्षबाट गरी नौ सय बढीको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिको कार्यालयले जनाएको छ ।

बैठकमा रेसुङ्गा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पिताम्बर पन्थी, शिक्षा समन्वय इकाइबाट रामप्रसाद पन्थी, संग्राम सार्दुल गुल्मीका प्रतिनिधि विरेन्द्र कुमार लुहार, जिल्ला प्रहरी कार्यालयबाट खुमा थापा, शशस्त्र प्रहरी बलबाट थम्मन बहादुर महतरा, महेन्द्र माविबाट कृष्ण प्रसाद मरासिनी, गण्डकी इङ्गिस बोर्डिङबाट सुनिल बस्नेत, महेन्द्र माविबाट जोगलाल थापा, सिद्धबाबा माविबाट शान्ती नेपाली, जिल्ला समन्वय समितिबाट मनोनित नवराज श्रेष्ठ, खेल संघका प्रतिनिधि अमर बहादुर पल्ली लगायतको उपस्थिति रहेको थियो ।

गुल्मीमा निःशुल्क स्वास्थ्य शिबिरमा ३ सय ६५ जनाको आँखा जाँच

0
फाइल फोटो

अनिल खत्री
माघ २०,२०८०गुल्मी : गुल्मीमा आँखा उपचारको निःशुल्क शिबिरमा करिब ४ सय जनाले सेवा लिएका छन् । जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टर तम्घास गुल्मी र मदाने आँखा उपचार केन्द्रको आयोजना तथा मदाने गाउँपालिकाको व्यवस्थापकीय सहयोगमा मदाने आँखा उपचार केन्द्र पूर्कोटदहमा २ दिनसम्म निःशुल्क शिबिर चलेको थियो ।

शिबिरमा शिविरमा ३ सय ६५ जनाको आँखा जाँच र ४२ जना बिरामीहरूको मोतिया बिन्दुको शल्यक्रिया निःशुल्क गरिएको आँखा उपचार केन्द्रका बिरबहादुर कार्कीले बताए । शिविरमा विगत २ वर्ष देखि दुवै आँखा नदेख्ने २ जना लगायत सबै बिरामीहरुको शल्यक्रिया सफलता पूर्वक गरिएको थियो ।

शिविरमा लुम्बिनी नेत्र विज्ञान अध्ययन तथा अनुसन्धान केन्द्र का बरिष्ठ नेत्ररोग विशेषज्ञ डा कृति जोशी र जिल्ला आँखा उपचार तथा सल्यक्रिया केन्द्रका प्राविधिकहरुको संयुक्त टिमको सहभागिता रहेको थियो ।

जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टर तम्घास गुल्मीले जिल्ला सदरमुकामसँगै ग्रामीण वस्तीमा पुगेर शिबिर सञ्चालन गर्दै आएको छ ।

कार्यसम्पादनमा चन्द्रकोट गाउँपालिकाको सुधार : गुल्मीमा दोस्रो

0
चन्द्रकोट गाउँकार्यपालिकाको कार्यालय तस्विर : खवरमार्केट

महेश बोहरा,
माघ २०,२०८०गुल्मी :गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा गुल्मीमा दोस्रो भएको छ ।

आर्थिक वर्ष २०७९र०८० को कार्यसम्पादनका आधारमा सार्वजनिक भएको नतिजा अनुसार चन्द्रकोट गाउँपालिकाले ९३।२५ प्रतिशत अङ्क प्राप्त गरेको छ । जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा चन्द्रकोट गाउँपालिका उत्कृष्ट भएको हो । जिल्लाको धुर्कोट गाउँपालिकाले ९३।७५ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो भएको छ भने रुरुक्षेत्र गाउँपाालिाकाले समान ९३।२५ प्रतिशत अङ्क प्राप्त गर्दै जिल्लामा दोस्रो हुन सफल भएको छ ।

यस भन्दा पहिले आर्थिक वर्ष २०७८र०७९ मा चन्द्रकोट गाउँपालिकाले जम्मा ७३।५ प्रतिशत अङ्क प्राप्त गरेको थियो । यस्तै आर्थिक वर्ष २०७७र७८ मा गाउँपालिकाले ७० प्रतिशत अङ्क प्राप्त गरेको थियो । भने २०७६र७७ मा जम्मा ६१ प्रतिशत अङ्क प्राप्त गरेको थियो । चन्द्रकोट गाउँपालिकाले क्रमशः स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुधार गरेको छ । चन्द्रकोट गाउँपालिकाको दाश्रो कार्यकालका लागी निर्वाचित अध्यक्ष युवराज केसीको नेतृत्वले कार्यसम्पादन मूल्याङ्कनमा सुधार गरेको हो । आउने वर्षमा पनि थप सुधार गदै शतप्रतिशत बनाउने गाउँपालिका अध्यक्ष युवराज केसीले बताए ।

गाउँपालिकाले संगठन तथा प्रशासन बिषय क्षेत्रमा ९ अङ्क प्राप्त गरेको छ । शासकीय प्रवन्धमा ८, बजेट तथा योजनामा १०।५, वित्तीय एंव आर्थिक व्यवस्थापनमा १०।७५, सेवा प्रवाहमा १४।५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ११, सामाजिक समावेशीकरणमा ९ अङ्क प्राप्त गरेको छ । यस्तै वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७।५ र सहकार्य र समन्वयमा ६ अङ्क प्राप्त गरी कुल १०० मा ९३।२५ प्रतिशत अङ्क प्राप्त गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम स्थानीय तहको मूल्याङ्कन गरिन्छ । कार्यविधि अनुसार स्थानीय तहमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, समन्वय र सहकार्य गरी दश वटा क्षेत्रका १०० सूचकसहित १०० पूर्णाङ्कमा मूल्याङ्कन गरिएको हुन्छ ।

यस्तो छ जिल्लाका अन्य स्थानीय तहको अवस्था

जिल्लाको धुर्कोट गाउँपालिकाले ९३।७५ प्रतिशत अङ्क प्राप्त गर्दा रुरुक्षेत्र गाउँपाालिाकाले ९३।२५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
यस्तै मुसिकोट नगरपालिकाले ९१।५ प्रतिशत अङ्क प्राप्त गरेका छ । मदाने गाउँपालिकाले ९१।२५ प्रतिशत, रेसुङ्गा नगरपालिकाले ९०।२५ प्रतिशत, कालीगण्डकी गाउँपालिकाले ९० प्रतिशत, मालिका गाउँपालिकाले ८८।५ प्रतिशत, सत्यवती गाउँपालिकाले ८८ प्रतिशत, गुल्मी दरबार गाउँपालिकाले ८६।२५ प्रतिशत, इस्मा गाउँपालिकाले ८५।५ प्रतिशत र छत्रकोट गाउँपालिकाले ८२।२५ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

गुल्मी उद्योग संघ लक्षित सांसद भुसालको अभिव्यक्ति प्रति संस्थाको आपत्ति

0

अनिष पन्थी

माघ १९,२०८०गुल्मी : गुल्मी उद्योग संघ लक्षित लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालको अभिव्यक्ति प्रति संस्थाले आपत्ति जनाएको छ । बिहिवार पत्रकार सम्मेलनमा उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले सांसद भुसालले महोत्सव प्रती दिएको अभिव्यक्तिमा आपत्ती जनाएका हुन् ।

गत कार्तिक १५ गतेदेखि २७ गतेसम्म उपल्लो तम्घासमा सञ्चालित प्रथम ऐतिहासीक गुल्मी महोत्सवको उद्घाटन सांसद भुसाल अफुले गर्न पाउनुपर्छ भन्ने अभिव्यक्ति दिएको उद्योग संघ गुल्मीका अध्यक्ष भुसालले दावी गरे । उद्घाटन गर्न नपाएको रिसमा सांसद भुसालले दिएको अभिव्यक्ति प्रती उद्योग संघ गुल्मीले आपत्ती जनाएको अध्यक्ष भुसालले बताए ।

केही व्यक्तिहरुले यो सस्था अनावश्यक भएको, बर्म लुट गर्न खोलिएको, लुटनकै लागि महोत्सव गरिएको भन्ने अनावश्यक टिप्पणी गर्दै हिडेको बताउँदै अध्यक्ष भुसालले लोकतन्त्रमा सस्थाको महत्त्व किन छ ? भनेर अध्ययन गर्न चुनौती दिएका छन्। सोही प्रसङ्गमा सांसद भुसाल प्रती लक्षित गर्दै जनताको भोटले जित्दैमा बुद्धि बढछ भन्ने नभएको बताउँदै अध्ययन गरेर आफ्नो बुद्धि बढाउन समेत आग्रह गरे ।

उद्योग व्यापारको क्षेत्रमा केही गर्छु भनेर आफ्नै जिल्लामा बसेका युवाहरुले खोलेको सस्थालाई आवश्यक नदेख्नेले बिगतमा आफू सस्थामा आवद्ध किन भएको भनेर समेत सांसद भुसाल प्रती संघका अध्यक्ष भुसालले प्रश्न खडा गरेका छन् ।
उमेर पुगेर र कपाल फुलेर मात्र नभैइ आफ्नो सोचमा समेत परिपक्वता र परिवर्तन ल्याउन समेत चुनौती दिएका छन् ।

महोत्सवको आम्दानी खर्च सार्वजनिक

पत्रकार सम्मेलनमा उद्योग संघ गुल्मीले महोत्सव संचालन गर्दा भएको आम्दानी र खर्च सार्वजनिक गरेको छ । महोत्सव संचालनका क्रममा कार्यालय व्यवस्थापन गर्न ७ लाख १७ हजार खर्च भएको अध्यक्ष भुसालले जानकारी दिए । सचिवालय खर्च ८० हजार , प्रचारप्रसारमा ३ लाख , मन्च ब्याज मालामा ६० हजार , छपाइमा १ लाख २० हजार, खाजा नास्तामा ७५ हजार, र्याली बाजाको लागि ८२ हजार खर्च भएको बताए । यस्तै नगरपालिकालाई केहि रकम तिर्न र जग्गाको भाडा तिर्न बाकि रहेको समेत जानकारी गराए । महोत्सवबाट १८ लाख ३० हजार आम्दानी भएको र अझै १० लाख रकम उठन बाकी रहेको अध्यक्ष भुसालले बताए ।

महोत्सवमा आफुहरुले आसा गरेभन्दा पनि धेरै सफलता पाएको उद्योग संघ गुल्मीका महासचिव सुदर्शन खनालले बताए ।
आफुहरुको मुख्य उदेश्य तम्घासस्थान मन्दिरको प्रचार र प्रबर्द्धन गर्नु भएको बताउँदै महोत्सवबाट मन्दिरमा केहि परिवर्तन आएको बताए । महोत्सवको उदेश्य पूरा भएको र आगामी दिनमा थप चुनौतीका बाबजुद पनि सस्था अगाडि बढने खनालले बताए ।

उद्योग संघ गुल्मीले कार्तिक १५ गतेदेखि २७ गतेसम्म “उद्योग कृषि र पर्यटनमा उनिएको थुङ्गा, समुन्नत गुल्मीका लागि जाउँ हिड रेसुङ्गा” भन्ने मुल नारासहित रेसुङ्गा नगरपालिकाले सुरु गरेको “जाउँ हिड रेसुङ्गा” अभियानलाई साथ दिदै उपल्लो तम्घासमा पहिलोपटक ऐतिहासिक प्रथम गुल्मी महोत्सव गरेको थियो ।

लुम्बिनी प्रदेशसहितका प्रदेशमा आज हल्का वर्षादेखि हिमपातसम्म

0

माघ १८,२०८०काठमाडौं : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली छ। मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी केही भागमा फाटफुटदेखि हल्का वर्षाको अनुमान गरिएको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

पहाडी भूभागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभाव रहँदा देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको हो।

नरैनापुर गाउँपालिका सम्मानित

0

माघ १८,२०८० बाँके : नेपाल टेलीभिजन (एनटिभी) कोहलपुरले बाँकेको नरैनापुर गाउँपालिकालाई कदर पत्रसहित सम्मान गरेको छ ।

 

विकासका लागि स्थानीय सरकारका तर्फबाट विगत ४ बर्ष देखि निरन्तर रुपमा समन्वय र सहकार्य ’हाम्रो नरैनापुर’ कार्यक्रम निर्माण कार्यमा सहगोगी भूमिका खेल्नुका साथै संचारमैत्री भूमिका निर्वाह गर्दै आएको भन्दै नरैनापुरका तर्फबाट लेखा अधिकृत भरत बस्नेतलाई एनटिभीले सम्मान गरेको हो ।

 

एनटिभीको ३९ औं बार्षिकोत्सवको अवसरमा कोहलपुरमा आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले नरैनापुर गाउँपालिका तर्फबाट लेखा अधिकृत भरत बस्नेतलाई कदर पत्रसहित सम्मान गर्नु भएको थियो ।

 

नेपाल–भारत सीमा नाका कटकुइयामा फहराइयो राष्ट्रिय झण्डा

0

माघ १८,२०८० : नेपाल र भारतको सीमा जोडिने बाँकेको दोस्रो मुख्य नाका नरैनापुर–१ मा आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ ।
बुधबार एक समारोहबीच नरैनापुरको कटकुईया सीमा नाकामा नरैनापुर गाँउपालिकाका सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बोर्ड आउन पोष्ट कटकुईयाँमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले राष्ट्रिय झण्डा फहराउनु भएको थियो ।

सो अवसरमा नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मरणराम खरालले हजारौँ योजनामध्ये नरैनापुरको मुख्य सीमा क्षेत्रमा राष्ट्रिय झण्डा राख्नुलाई फहराउन सफल हुनु नरैनापुरबासीका लागि गौरवको विषय भएको बताउदै आउने वर्षको बजेटमा सिमामा गेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्ररणकुमार पोखरेलले कटकुइयामा फहराइएको राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो“कुनै पनि राष्ट्रको राष्ट्रियता झण्डामा मात्र निहित हुँदैन, राष्ट्रियता हरेक नागरिकको हृदयमा हुन्छ ।”

नरैनापुर १ का अध्यक्ष इसाक जोलाहले देशमा शासन गर्नेले अहिले पनि राष्ट्रियता राजधानीमा मात्र खोज्ने गरेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “राष्ट्रियता देखिनुछ भने यो देशको १३ हजार ८५ किलोमिटर लामो नेपाल–भारत सीमामा दिनरात आफ्नो भूमिलाई ज्यानभन्दा प्यारो मानेर संरक्षण एवं सुरक्षा गरेर बसेका मधेसी समुदायलाई मेचीदेखि महाकालीसम्मको बोर्डरमा आएर हेर्दा हुन्छ ।”
कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश बिक्रम शाही, बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुभास बोहरा, अनुसन्धान विभागका एसपी मोहन कुवर, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, ३ अजय मिश्रा, ४ का मनोज शर्मा, नरैनापुरका प्रेस विज्ञ आलम खान, पत्रकार विनय दिक्षित, जनप्रतिनिधि, पार्टी प्रतिनिधि, आमनागरिक, नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीका स्थानीय प्रमुखलगायत विभिन्न व्यक्तिको सहभागिता रहेको थियो ।

नरैनापुरमा पाँचौ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

0

माघ १८,२०८० बाँके : जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ(गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकामकेन्द्रित हुँदै आएको रनिङ सिल्ड गाँउपालिका अध्यक्ष कप संगै राष्ट्रपति रनिङ सिल्ड सुरु पछि जिल्लाकै सबै भन्दा विकट मानिएको नरैनापुरका युवाहरुमा उत्साह देखिएको छ ।
यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डको छनोट चरणका प्रतिस्पर्धा बाँकेका केही पालिकामा सम्पन्न भएको छ भने नरैनापुरमा एक कार्यक्रमकाबीच बुधबार उदघाटन गरिएको छ ।

नरैनापुर गाँउपालिकाका उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उदघाटन प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले गर्नु भयो । नरैनापुर गाउँपालिका स्तरीय अन्तर विद्यालय पाँचौ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता नरैनापुर ५ मा रहेको रंगशालामा तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सन्चालन हुनेछन् ।

प्रतियोगिताको बुधबार उदघाटन गर्दै नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खरालले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको जिकिर गरे ।

उपाध्यक्ष श्रीवस्तवले ग्रामीण खेलकुदको विकास गर्ने उद्देश्यले गाउँपालिकामा खेलको आयोजना गरिएको बताउनु भयो । उहाँले राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवका रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन नरैनापुर गाँउपालिकाको उल्लेखीय भूमिका खेलेको बताउनु भएको थियो ।
कार्यक्रममा वडा नं. १ अध्यक्ष इसाक जोलाह, २ का अध्यक्ष मसूद अहमद शाह, ३ का अधयक्ष अजय मिश्रा, ४ का अध्यक्ष मनोज शर्मा, ६ का अध्यक्ष प्रेम मौर्य, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी र जिन्सी शाखा प्रमुख भरत महतोको सहभागिता रहेको शिक्षक सज्जक खानले जानकारी दिनु भयो ।

कार्यक्रममा विद्यार्थीहरुले गाँउपालिका उपाध्यक्ष श्रीवस्तवलाई मार्च पास गर्दै सलामी अर्पण गरेका थिए भने खेलको प्रमुख प्रशिक्षक नेपाल एथ्लेटिक्स संघका निर्वातमान प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र जनक केसी रहनु भएको नरैनापुर गाँउपालिकाले जनाएको छ । तिन दिन सम्म चल्ने खेलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यकहरु, बिद्यार्थीहरुको सहभागिता रहने प्रतियोगितामा नरैनापुरका १० वटा विद्यालयहरूको सहभागिता रहेको नरैनापुर गाउँपालिकाले जनाएको छ ।

पाल्पामा पनि रेडियो नेपालको रिले प्रसारण

0

माघ १७,२०८० पाल्पाः रेडियो नेपालले पाल्पाबाट एफएम रिले प्रसारण सुरु गरेको छ । पाल्पाको बगनासकाली–९, स्थित बगनास डाँडाबाट एफएम रिले स्टेसन स्थापना गरी रेडियो नेपालले प्रसारण सुरु गरेको हो ।

रेडियो नेपालले बगनासबाट पाँच सय वाट क्षमताको एफएम ट्रान्समिटर जडान गरी प्रसारण सुरु गरेको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखराका कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । नेपाल टेलिभिजनसँगको सहकार्यमा टावर, भवनसहित अन्य भौतिक संरचना प्रयोग गरी एफएम रिले प्रसारण गरेको जनाएको छ ।

 

देशका सबै भू–भागमा प्रसारण पहुँच पुर्‍याउने लक्ष्य राखेको रेडियो नेपालले पाल्पाबाट ३२ औं रिले स्टेसनका रुपमा प्रसारण थालेको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीलेबताउनुभयो । एफएम व्यान्डको १०३ मेगाहर्जमा सुरु गरिएको यो रिले प्रसारणबाट पाल्पा र स्याङ्जा जिल्लाका साथै गुल्मी, अर्घाखाँची, बाग्लुङ, पर्वत, नवलपरासी र रुपन्देहीका केही क्षेत्रमा रेडियो नेपाल स्पष्ट सुन्न सकिने छ ।

नेपाल टेलिभिजन स्थापनाको ३९ वर्ष पूरा

0

माघ १७,२०८०काठमाडौं : नेपाल टेलिभिजन स्थापनाको ३९ वर्ष पूरा भएको छ।

विश्वमा टेलिभिजन प्रसारण प्रारम्भ भएको करिब पाँच दशकपछि नेपालमा पहिलो पटक नेपाल टेलिभिजनको स्थापना भयो। २०४१ साल माघ १७ गते परियोजनाका रुपमा स्थापित नेपाल टेलिभिजनले २०४२ साल साउन २९ गते पहिलोपटक परीक्षण प्रसारण सुरु गरेको थियो।

२०४२ साल पुष १४ गतेदेखि दैनिक दुइ घण्टाबाट प्रसारण प्रारम्भ गरेको नेपाल टेलिभिजनका हाल पाँचवटा च्यानलहरु नेपाल टेलिभिजन, एनटिभी प्लस, एनटिभी न्यूज, एनटिभी इटहरी र एनटिभी कोहलपुर हाल २४ सै घण्टा प्रसारणमा छन्।

प्रसारण प्रारम्भको दिनमा १० मिनेटको समाचार प्रसारण गरेको नेपाल टेलिभिजनले हाल समाचार च्यानलबाट दैनिक १६ वटा लाईभ र छ वटा रेकर्डेड गरी २१ वटा समाचार बुलेटिन प्रसारण गरिरहेको छ।

नेपाल टेलिभिजनले सबै जाती, भाषा, धर्म, क्षेत्र, वर्ग र समुदायको भावना समेट्ने गरी राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य, खेलकूद, मनोरञ्जन लगायतका विषयवस्तुलाई प्राथमिकता दिने गरेको छ।