Friday, June 5, 2026

सीप सिक्न पाएकोमा खुसी छन् भार्सेका महिला

0

तिलाचन पाण्डे
चैत १४,२०८० गुल्मी : सत्यवती गाउँपालिका वडा नम्वर ८ भार्सेमा संञ्चालन भएको १६० घण्टे अल्लो प्रोसेसिङ तालिम लिँदै गरेकी ५९ वर्षीय इन्द्रकला काउछाले आत्म निर्भर बन्ने सीप लिन पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।

पहिले सानो सानो रकमका लागि पनि श्रीमानको मुख ताक्न पर्ने अवस्थाको अव अन्त्य भएको र आफै स्वरोजगार बन्दै गएको उहाँको भनाई छ । पैसा भन्दा पनि सीप महत्वपूर्ण भएकाले सीप नै जीवनभरको पैसा भएको उहाँले बताउनुभयो ।
सिकेको सीपलाई आफूले जहाँभएपनि प्रयोग गर्न सकिने भएकाले दीर्घकालिन सम्पती घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले दिएको उहाँको भनाई छ ।

यस्तै सोही स्थानकी २२ वर्षीय तारा रानाले उच्च माध्यमिक शिक्षा सकेर खाली बस्न नपरेको र सीप सिक्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो। उहाँले सिकेको सीपलाई ब्यबहारमा लागु गर्ने र आत्म निर्भर बन्नेमा आफू ढुक्क रहेको बताउनुभयो । समयमै सीप सिक्ने र ब्यबहारमा लागु गरे रोजगारीकै लागी युवा युवती विदेश धाउन नपर्ने र देशमा संभावना भएकाले यसको सदुपयोग गर्न हामी सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।

सोही स्थानकी २६ वर्षीय सुनिता परियारले तालिमकै कारण सीप संगै आफू ढुक्कसंग बोल्न सक्ने र आफना कुराहरु राख्न सक्ने भएको बताउनुभयो । उहाँले ज्ञान जति सिकेपनि भरिपूर्ण नहुने भन्दै यसको निरन्तरता नै ठुलो हुने उहाँको भनाई छ ।
अहिले आफूहरुले अल्लोकोे काँचो कपडा मात्रै निमार्ण गर्ने भएकाले यसबाट जुता, चप्पल, कोट झोला पनि बनाउने गरी सीप सिक्न आवश्यक रहेको उहाँको भनाई छ ।


घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले आत्मनिर्भर बनाउन र आय आर्जनसंग जोडनका लागि सीप प्रदान गर्दै आएको छ ।
सीप सिकेर देशमै साना तथा मझौला उद्योगहरु खोल्न सक्ने बनाउने र आय आर्जनसंग जोडनका लागि आफूहरुले सीप र उपकरणहरु प्रदान गर्दै आएको कार्यालयका प्रमुख सुरेन्द्र भण्डारीले बताउनुभयो । जसका लागि अल्लोका कपडा, डल कुसन, हाउसवायरिङ, बासबाट बन्ने सजावटका सामानहरु, अचार बनाउने तालिम, हेयर कटिङ,ब्युटिपार्लर लगायतका तालिम र उपकरणहरु प्रदान गर्दै आएको छ ।


जिल्ला र जिल्ला बाहिरका प्रशिक्षकहरु बोलाई गुणस्तरीय तालिम प्रदान गर्दै आएको कार्यालयले जनाएको छ ।
उद्यमीहरुको माग अनुसार र स्थानीय तहको समन्वयमा सीपसंगै प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम अनुसार कार्यक्रम गर्दै आएको भण्डारीले बताउनुभयो ।


तालिम संञ्चालन भएका स्थानहरुको जिल्ला समन्वय प्रमुख दोर्ण खत्रीसहितको टोलीले निरीक्षण गरेको थियो ।

 

गुल्मीमा एसइई दिने विद्यार्थी घटे

0

चैत १४,२०८० गुल्मीः गुल्मी जिल्लाबाट यस वर्ष एसईई परिक्षा दिने विद्यार्थीको संख्या घटेको पाइएको छ । यश वर्षको माध्यमिक शिक्षा एसइई परिक्षामा जिल्लाबाट ४ हजार ९७ जना विद्यार्थी सहभागि हुने शिक्षा बिकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ ।

अघिल्लो वर्ष ४ हजार ७२२ जना विद्यार्थी एसइई परिक्षामा सहभागि भएका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष ६२५ जना विद्यार्थी कम भएका छन् ।

जिल्लामा विद्यार्थी संख्या घटनुमा बसाइँसराइ र जन्मान्तरका कारण रहेको अनुमान गरिएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताउनुएको छ ।

पछिल्लो तीन वर्षमा विद्यार्थी संख्यामा कम हुँदै आएकोमा बढी संख्यामा यस वर्ष घटेको मरासिनीले बताउनुभयो ।
यहि चैत १५ गतेबाट सुरु हुने परिक्षामा जिल्लाबाट नियमित साधारण तर्फ ३ हजार ७९० जना नियमित प्राविधिक तर्फ २९५ जना विद्यार्थी सहभागी हुने भएका छन् । ग्रेड वृद्धितर्फ १२ जना विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लामा २८ वटा केन्द्रमा परिक्षा सञ्चालन हुँदैछ ।

परिक्षाका लागि सबै तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले जनाएको छ । परिक्षालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबै केन्द्रमा प्रश्नपत्र र उत्तर पुस्तिका पुगेसकेको छ ।

जिल्लाबाट यस वर्ष दृष्टि बिहिन १ जना फरक क्षमता भएका १ जना विद्यार्थी सहभागि हुने भएका छन् । विद्यार्थी संख्य कमि भएपछि केहि विद्यालयमा रहेका परिक्षा केन्द्रहरु पनि गाभिएका छन् ।

जिल्लाको रुरुक्षेत्रमा रहेको एउटा परिक्षा गाभिएको छ भने रेसुङ्गा नगरमा रहेको एउटा परिक्षा केन्द्र हटाइएको छ ।

हाइटेन्सनको तार चुँडिदा एकै परिवारका ३ जनाको मृत्यु

0

चैत ११,२०८०दाङ : दाङमा करेन्ट लागेर घाइते भएका राप्ती गाउँपालिका(३ मसुरियाका ६० वर्षीय गोरखबहादुर केसीको पनि उपचारका क्रममा मृत्यु भएको छ।

योसँगै करेन्ट लागेर मृत्यु हुने एकै घरका ३ जना पुगेका छन्। शनिवार दिउँसो विद्युतको तार चुँडिएर करेन्ट लाग्दा उक्त घटना भएको हो। २ जनाको घटनास्थलमा र १ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसअघि ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाति ईश्वर केसीको घटनास्थलमा मृत्यु भएको थियो भने गोरखबहादुर घाइते भएका थिए। उनको उपचारका क्रममा बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिनुभयो।

११ केभीको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा खस्दा उनीहरूलाई करेन्ट लागेको थियो। २ मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

मुसिकोटमा पशु स्वास्थ्य शिविरबाट ९७९ पशुपंक्षीको निशुल्क उपचार

0

तिलाचन पाण्डे
चैत ११,२०८० गुल्मीः मुसिकोटमा पशु स्वास्थ्य शिविरबाट ९७९ पशुपंक्षीको उपचार गरिएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र गुल्मीको बार्षिक स्विकृत कार्यक्रम अनुसार मुसिकोट नगरपालिका ,०५आपचौरमा संचालित एक दिने पशु स्वस्थ्य शिविरमा १९७ घरधुरीका २३६ भैसी,१२ गाईरगोरु, ३८४ बाख्रा, ३४७ कुखुरा गरि ९७९ पशुपंक्षीको उपचार गरिएको भेटेरीनरी अस्पपताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेले जानकारी दिनुभयो ।

शिविरमा ३० कुकुरलाई रेबिज बिरुद्ध को खोप लगाइएको थियो । गाउँमै यसरी सेवा पाउँदा स्थानीय कृषकहरु खुसी भएका थिए भने आगामी दिनमा पनि यस्ता शिविरहरुलाई निरन्तरता दिन कृषकहरुले आग्रह गरेका छन् ।

 

कृषकहरुको प्रत्यक्ष सहभागितामा उपचार तथा प्राविधिक सल्लाहा प्रदान गर्ने उद्येश्य सहित शिविर आयोजना गरिएको र यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने पाण्डेले बताउनुभयो ।


उक्त कार्यक्रम कार्यालय प्रमुख हुमकान्त पाण्डेयको अध्यक्षता र मुसिकोट नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष ऋषिश्वर अर्यालको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा प्राविधिक जनशक्ति भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र गुल्मीकी डा नविना ढकाल तथा स्थानीय तह पशुसेवा शाखा प्रमूख सहित अन्य प्राविधिक र वडाका जनप्रनिधिहरुको सहभागितामा रहेको थियो ।

अपाङ्गताको साहारा बन्दै मुसिकोट,, स्याहार सुसार गर्नेलाई मासिक एक हजार दिने

0

सूर्य सुनार

चैत्र ७ ,२०८० गुल्मी :गुल्मीको मुसिकोट नगरपालिकाले अपाङ्गता भएका नगरवासीको स्याहार सुसार गर्ने निकट संरक्षकलाई मासिक एक हजार उपलब्ध गराउने भएको छ ।

 

मुसिकोट नगरपालिकाको कार्यपालिकाको बैठकले पारित गरेको कार्यविधी अनुसार आफ्नो स्याहार आफै गर्न नसक्ने नागरिकको संरक्षकलाई सहयोग गर्ने भएको हो । खानपीन, शौचालय र व्यक्तिगत सरसफाई समेत गर्न नसक्नेहरुको लागि नगरपालिकाले कार्यविधी बनाइ अपाङ्गताको क्षेत्रमा काम गरेको नगरपालिकाले जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् । तर तिनीहरु मध्येबाट पनि अति अशक्त प्रकारको अपाङ्गलाई नगरपालिकाले नयाँ कार्यविधी बनाएर उनीहरुको साथमा स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउनको लागि यस्तो खालको निर्णय गरिएको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले बताउनुभयो ।

उनीहरुको पनि सम्मानपूर्वक बाच्न पाउने अधिकार हुने हुँदा उनीहरुको सम्मानको लागि यस्तो निर्णय गरिएको नगरप्रमुख खरेलले बताउनुभयो ।

मुसिकोट नगरपालिका भित्र (क) वर्गका ९५ (ख) वर्गका १८७ (ग) वर्गका ९३ र (घ) वर्गका ६९ रहेको मुसिकोट नगरपालिकाका सुचना अधिकारी समुन्द्र रायमाझीले जानकारी दिनुभयो ।
नगरपालिकाभित्र रहेका (क) वर्गका ९५ जना मध्येबाट छनोट गरी अति अशक्तलाई मासिक एक हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा सिंजापती

0

अनिल खत्री
फागुन, २८,२०८०गुल्मी : लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा अम्मरसिंह सिंजापती चयन हुनुभएको छ ।

गुल्मी जिल्ला सदरमुकाम तम्घासमा शनिबार र आइताबार दुई दिनसम्म चलेको दोस्रो प्रदेश अधिवेशनले सिंजापतीको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा उमाशंकर चौधरी र बिना रानामगर सचिव प्रेम पुन मगर कोषाध्यक्ष देवराज श्रेष्ठ, उपसचिव लालबहादुर थापा, धनबहादुर बुढामगर रहेका छन् ।

प्रत्येक जिल्लाबाट ३÷३ जनाका दरले र बाँकी १२ जना खुल्ला सदस्य गरी नयाँ कार्यसमिति चयन गरेको निर्वतमान अध्यक्ष बालसिंह काउछाले बताउनुभयो । अधिवेशनको शनिबार पूर्व गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले उद्घाटन गर्नुभएको थियो।

अधिवेशनमा लुम्बिनी प्रदेशका ११ जिल्लाका १ सय ६० प्रतिनिधि सहभागी भएका थिए । अधिवेशनको उदघाटन शत्रमा सहभागि हुन नेता थापासहित नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्यहरु गोकुल घर्तिमगर, सूर्य थापा, केन्द्रिय सदस्य दिनेश पन्थी, गणेश खनाल लगायतका नेता गुल्मी आएका थिए ।

गुल्मीमा जनप्रतिनिधि र कर्मचारीले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

0

सूर्य सुनार
फागुन २८,२०८० गुल्मीः गुल्मीको मुसिकोट नगरपालिकाले जनप्रतिनिधि र सरकारी सेवामा रहेका कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने सूचना जारी गरेको छ ।

नगरभित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने सुचना जारी गरेको हो । नगरपालिकाले सूचना निकालेर जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गरेको नगरपालिकाका नगरप्रमुख जीवन खरेलले बताउनुभयो ।

सामुदायिक विद्यालय शिक्षालाई गुणस्तरीय बनाउनको लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले यो व्यवस्था लागू गरेको नगरप्रमुख खरेलले बताउनुभयो ।

सरकारी सेवामा कार्यरत कर्मचारी र जनप्रतिनिधिले निजी विद्यालयमा अध्ययन गराएकाले यसको अत्यको लागि नगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख खरेलले बताउनुभयो ।

नगरपालिकाको नगर सभाबाट निर्णय भई ऐन–नियममा व्यवस्था गरिएको सम्बन्धमा सार्वजनिक जानकारी गराउदै अब नयाँ शौक्षिक सत्रमा सबैले सामुदायिक सरकारी विद्यालयमा विद्यार्थी भर्ना गर्न आग्रह गरेको शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले बताउनुभयो ।

मुसिकोट नगरपालिकामा १६ माध्यामिक विद्यालय, ८ निम्न माध्यामिक विद्यालय र ४७ प्राथमिक तह विद्यालय रहेको नगरपालिकाले जनाएको छ ।

अखिल नेपाल खेलकुद महासंघ गुल्मीको संयोजकमा गोबिन्द

0

फागुन १९,२०८० गुल्मी : अखिल नेपाल खेलकुद महासंघ गुल्मीको संयोजकमा गोबिन्द हिताङ चयन हुनुभएको छ ।

शनिबार सम्पन्न एक भेलाले हिताङको संयोजकतत्वमा ५१ सदस्य रहेको कमिटि गठन गरेको हो । जसको सह संयोजकमा दीपक जिशी, लक्की थापा सोमै र सदस्य सचिवमा सम्झना बोहोरा रहनु भएको छ ।

महासंघले आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा विभिन्न खेलकुद समेत आयोजना गर्दै प्रथम जिल्ला सम्मेलन गर्ने भएको छ । दिवसको अवसरमा जिल्ला स्तरीय फुटवल ,भलिबललगायतका खेलकुदहरुसमेत आयोजना गर्ने भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्र गुल्मीका सचिव अशोक थापाले खेलकुदको माध्यमबाट नै स्वास्थ्यलाई स्वस्थ राख्न सकिने बताउनुभयो । खेलकुदका लागि पार्टी र आफूले सक्दो सहयोग गर्ने उहाँको भनाई छ ।

यस्तै अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य गिरीप्रसाद महाकिम, भिमलाल ज्ञवाली र नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश परिषद सदस्य घनश्याम पाण्डेले खेलकुद क्षेत्रको बिकासका निम्ती तीनै तहका सरकारहरुले सहयोग गर्नुपर्ने धारण ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा एक सय बढीको सहभागिता रहेको थियो।

 

गुल्मीमा नयाँ नागरिकता र प्रतिलिपि लिने बराबर

0
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
फागुन १९,२०८० गुल्मी : गुल्मीमा एक हप्ताको समयमा नयाँ नागरिकता र प्रतिलिपि लिनेको संख्या बराबर रहेको तथ्य सार्वजनिक भएको छ ।

 

जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो एक हप्ताको सम्पादित कार्यको प्रगति विवरणमा वैवाहिक अंगिकृत तीन सहित नयाँ नागरिकता १४४ र प्रतिलिपि पनि १४४ जनाले नै लिएको जिल्ला कार्यालयले जनाएको छ ।

 

सोही समय अवधिमा ३ जनाले गैरआवसीय नागरिकता र १४ जनाले नावलक परिचयपत्र लिएका छन् । जिल्लामा २४० जनाको राहदानी आवेदन संकलन, २५० जनाको राहदानी वितरण, २७८ जनाको राष्ट्रिय परिचयपत्र आवेदन संकलन र २३ जनाको राष्ट्रिय परिचयपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।


यस्तै १२५ जनाको पारिवारिक विवरण तथा अन्य प्रमाणित गरिएको प्रशासनले जनाएको छ । सोही समय अवधिमा १ नयाँ संघ संस्था दर्ता भएको छ भने तीन वटा नविकरण भएका छन् । एक हप्तामा राहदानी र संघ संस्था नविकरणबाट १२ लाख ८० हजार २५० रुपियाँ राजश्व संकलन भएको छ ।


जिल्ला प्रशासन कार्यालय गुल्मीमा  प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा आएपछि साप्ताहिक प्रगति विवरण सार्वजनिक गर्ने गरिएको छ ।

दुर्गमका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सुविधा सम्पन्न भवन निर्माण

0

तिलाचन पाण्डे
फागुन १९,२०८० गुल्मीः दुर्गमका सिमान्तकृत र पछाडी परेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनका लागि १८ वटा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएका छन् ।

आधारभूत तहका विद्यार्थीहरुले बीचैमा कक्षा छाड्ने दरलाई कम गर्न र शिक्षाको जग बलियो बसाउनका लागि गुणस्तरीय भवन पनि आवश्यक पर्ने भएकाले भवन निर्माण गरिएको हो । यु डब्लु एस नेपालले गुल्मीका ६ स्थानीय तहमा १८ वटा भूकम्पप्रतिरोधात्मक विद्यालय भवन निर्माण गरिदिएको हो ।

गुणस्तरीय शिक्षा प्रवद्र्धनमा काम गर्दै आएको परियोजनाले जिल्लाको रेसुङगा नगरपालिका वडा नम्वर ६ मा एक, मुसिकोट नगरपालिकामा दुई, मदाने गाउँपालिकामा तीन, धुर्कोटमा चार, मालिकामा पाँच र इश्मा गाउँपालिकामा तीन वटा गरी १८ वटा विद्यालय भवन निर्माण गरिएको संस्थाका बरिष्ठ शिक्षा अधिकृत अनुज सिग्देलले जानकारी दिनुभयो ।
एउटा बिद्यालयको भवन निर्माणमा ३५ देखी ४५ लाखसम्मको लागत लागेको उहाँको भनाई छ ।

२०७२ सालमा स्थापना भएको संस्थाले गुल्मी, ताप्लेजुङ र संखुवासभामा गरी ७२ वटा विद्यालय भवनहरु निर्माण गरिएको सिग्देलले बताउनुभयो । ग्रामीण क्षेत्रका सिमान्तकृत र पछाडी परेका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउनका लागि संस्थाले काम गर्दै आएको छ । विद्यालयमा विद्यार्थीहरुले बीचैमा कक्षा छाड्ने दरलाई कम गर्नका लागि परियोजनाले काम गरेको दाबी गरेको छ ।

विद्याथीहरुले बिचैमा कक्षा छाड्नुको कारण पहिचान गरी त्यसलाई रोक्नका लागि विद्यालय अवधारण टोली गठन गरी काम गर्दै आएको र ९८ प्रतिशत सफल भएको परियोजनाले जनाएको छ । परियोजनाले पाँच वर्ष सम्म विद्यालय सञ्चालन गर्ने र त्यस पश्चात स्थानीय तहलाई हस्तान्तरण गर्नेछ ।

आधारभूत तहमा शिक्षाको जग राम्रो बसाउनका लागि आफूहरुले हरदम प्रयार गरेको सिनियर एजुकेसन म्यानेजर नतासा काफ्लेले बताउनुभयो । १८ वटा विद्यालयका एक हजार ३४१ बिद्यार्थीहरुलाई निरन्तर शिक्षामा जोडन आफूहरु सफल भएको काफ्लेको भनाइ छ ।

छ वटा स्थानीय तहमा यो परियोजनाले काम गरेको र अन्य स्थानीय तहमा पनि मागको आधारमा कार्यक्रमहरु गर्दै जाने परियोजनाले जनाएको छ ।