जहाज चढ्ने गुल्मेलीको चाहना पूरा

0
141

तिलाचन पाण्डे
बैशाख २९,२०८०गुल्मी : जिल्लाबाट नियमित जहाज चढ्ने गुल्मीलेको चाहना पूरा भएको छ। शुक्रबार बिहान नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले नियमित उडान शुरु गरेको हो।

काठमाडौंबाट जहाजमा गुल्मी आएका रेसुंगा नगरपालिका १ का अखिलेश्वर पाण्डेले वर्षौँदेखिको सपना पूरा भएको र यात्रा सहज भएको बताए। जहाजमा गुल्मी आएका ७२ वर्षीय भोजबहादुर भुजेलले काठमाडौंबाट ५० मिनेटमा जिल्ला आउन पाउनु राम्रो भएको प्रतिक्रिया दिए।

यस्तै गुल्मीबाट काठमाडौं जान लागेका तम्घासका मोहनप्रसाद पाण्डेले गुल्मीबाट एक घण्टामै काठमाडौं पुग्न सकिने भएकाले गुल्मेलीको वर्षौदेखिको सपना साकार भएको भन्दै खुशी व्यक्त गरे।

काठमाडौंबाट रेसुंगा विमानस्थलमा यात्रा गर्ने यात्रुलाई नगरप्रमुख खिलध्वज पन्थीले विमानस्थलमा टीका र खादा लगाएर स्वागत गरे।

रेसुंगा नगरपालिका र नेपाल वायुसेवा निगमसँग नियमित उडान गर्नेबारे गत फागुनमा सम्झौता गरेको थियो। रेसुंगा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ३०० रुपैयाँ लाग्नेछ।

साताको दुई दिन मंगलबार र शुक्रबार उडान भर्ने स्वीकृत भए पनि अहिलेका लागि शुक्रबार मात्रै उडान भर्ने कार्यतालिका रहेको एयरलाइन्सले जनाएको छ। काठमाडौंबाट रेसुंगा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने समय तालिका रहेको रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए।

रेसुंगा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने समय तालिका छ। काठमाडौंबाट रेसुंगा विमानस्थल सम्मको दूरी ५० मिनेटको छ। जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ मिलोमिटर कच्चीबाटो पनि विमानस्थल पुग्न सकिन्छ।

रेसुंगा विमानस्थल रेसुंगा नगरपालिकाको वडा नम्बर–१० को सिमीचौरमा पर्छ। ०६३ सालमा रेसुंगा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीप ज्ञवालीले विमानस्थलको शिलान्यास गरेका थिए। तर निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो।

विमानस्थलमा गत वैशाख १५ गते नेपाल एयरलाइन्सको १८ सिट क्षमताका जहाजले परीक्षण उडान गरेको थियो। त्यस्तै गत पुस महिनाको २४ मा तारा एयरको १८ सिट क्षमताको जहाजले प्रदर्शन उडान गरेको थियो। विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको जहाजले धुले उडान गरेको थियो।

यो विमानस्थल धावनमार्गको ५२० मिटर लम्बाइ र चौडाइ २० मिटर छ। १५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो। विमानस्थलमा हालसम्म निर्माणमा करिब ३५ करोड खर्च भइसकेको छ।

विमानस्थल नियमित सञ्चालन भए गुल्मेली र छिमेकी जिल्लाका नागरिकलाई सिद्धबाबाको जोखिमपूर्ण अवस्था यात्रा गर्नुपर्ने बाध्यता अत्य हुने अपेक्षा गरिएको छ। विमानस्थलबाट गुल्मी जिल्लासँगै जोडिएका जिल्ला अर्घाखाँची, प्यूठान, बाग्लुङ, पाल्पा र स्याङ्जाका नागरिकले सेवा लिन सक्नेछन्।

SHARE