लोक सेवा आयोगका पूर्वअध्यक्ष सन्तबहादुर राईको निधन
भदौ २३, २०७६ संखुवासभा
लोक सेवा आयोगका पूर्वअध्यक्ष सन्तबहादुर राईको सोमबार निधन भएको छ। संखुवासभाको खाँदबारी नगरपालिक ४ पाङ्मामा विक्रम संवत १९९३ सालमा जन्मिएका राईको ८४ वर्षको उमेरमा निधन भएको छ। लोक सेवा आयोगका पूर्वअध्यक्ष राईको उपचारको क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ। दिवङ्गत लोक सेवा आयोगका पूर्वअध्यक्ष राईको श्रीमती र दुई छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ। राईको श्रद्धाञ्जलिका लागि निर्वाचन आयोगका आयुक्त दिनेश थपलिया र गृह सचिव प्रमकुमार राई र संखुवासभाका संघीय संसदका सदस्य राजेन्द्र गौतम पशुपति आर्यघाट पुगे सकेको परिवार स्रोतले जनाएको छ। लोक सेवा आयोगका पूर्वअध्यक्ष राई २०१७ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। २०२६ सालमा पाँचथरको प्रमुख जिल्ला अधिकारी भएका राई २०४१ सालमा नेपाल सरकारको सचिव भएका थिए। संखुवासभामा जन्मिएका राई २०४८ सालमा लोक सेवा अयोगको सदस्य हुँदै २०५१ सालमा अध्यक्ष बनेका थिए।
विप्लवका दुई विद्यार्थी नेता पक्राउ
भदौ २३, २०७६ बैतडी
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेकपा समूहको विद्यार्थी संगठनका २ जनालाई बैतडीवाट पक्राउ गरिएको छ। पक्राउ गरिनेमा नेकपा समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दार्चुला जिल्ला संयोजक ध्वनि धामी र खगराज नेपाली रहेका छन्। दुबैजनालाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका ६ धौलिढुंगास्थित लटिनाथ आधारभुत विद्यालयवाट नियन्त्रणमा लिएको हो। उक्त विद्यालयमा आफ्नो संगठन विस्तार गरिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए। पक्राउ गरेका दुवैजनामाथि बैतडी जिल्ला अदालतवाट अभद्र व्यवहारको मुद्दा चलाई अनुसन्धानको लागि १० दिनको म्याद थप गरिएको उनले बताए। यसका साथै पक्राउ परेका दुईजनासँगै अन्य सात जनालाई पनि नियन्त्रणमा लिइएको भए पनि उनीहरू बालबालिका रहेकोले आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यसैबीच पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई झुठो मुद्दामा फसाउन खाजेको भन्दै अखिल क्रान्तिकारी सेती महाकाली क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै बिनासर्त ससम्मान रिहाइ नगरे निर्मम संघर्ष गर्ने जनाइएको छ।
सुनको भाउ घटयो, ७१ हजार ५ सयमा कारोबार
भदौ २२, २०७६ काठमाडौं
सुनको भाउ आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेको छ। शुक्रबार ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, तेजाबी सुनको मूल्यमा ७१ हजार २ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन शुक्रबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। केहीदिन अघिसम्म निरन्तर उकालो लागेको सुनको मूल्य पछिल्लो सातामा भने केही कमी आएको छ। छापावाल सुन प्रतितोला ७३ हजार नाघेकोमा अहिले मूल्य केही घटेको हो। चाँदी तोलाको ८ सय ८५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अख्तियारको नियन्त्रणमा परे सुब्बा
भदौ २२, २०७६ काठमाडौ
एक हजार रुपैयाँको लोभ गर्दा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा अख्तियारको फन्दामा परेका छन्। नायव सुब्बा पुरूषोत्तम पोखरेल १ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। पोखरेलले सहजकर्ता केदारप्रसाद न्यौपानेबाट पूजी वृद्धि तथा शाखा विस्तारका लागि एक हजार घुस रिसवत रकम लिँदै गर्दा अख्तियारको टङ्गाल कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। घुस लिने पोखरेलसँगै घुस दिने न्यौपानेलाई पनि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोईरालाले जानकारी दिए।
ट्रयाक्टर घरभित्रै छिरेर किच्दा किशोरको मृत्यु
भदौ २२, २०७६ दाङ ः मदिराले मातेका चालकले हाँकेको ट्रयाक्टर घरभित्रै छिरेर किच्दा एकजना किशोरको मृत्यु भएको छ। आँगनमा बसिरहेका तुलसीपुर उपमहानगरपालिका–६ भगवती टोलका १३ वर्षीय अनिल बिकलाई ट्रयाक्टरले किचेको थियो। गम्भीर घाइते बिकको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शनिवार राति ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। तुलसीपुर–सुकौरा सडकखण्डमा रहेको बिक बेलुका ७ बजेतिर आँगनमा बसिरहेका बेला अत्यधिक मदिरा सेवन गरेका चालकले हाँकेको रा १ त २६३१ नम्वरको ट्याक्टरले किचेको थियो। सडक पार गर्दै पश्चिमतर्फ घरभित्रै छिरेको ट्रयाक्टरले घरको सटर समेत तोडेको छ। घरको पिलर समेत भत्किाएको छ। ट्रयाक्टर घरभित्र छिरेपछि तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका चालक ५२ वर्षीय कामी चौधरीलाइए स्थानीयले नियन्त्रणले लिएर प्रहरीको जिम्मा लगाएका छन्।
गुल्मीमा बिबिध कार्यक्रम गरेर निजामती सेवा दिवस मनाईयो, एसपी बस्नेतलाई बिदाई
अनिल खत्री
२२ भदौ, गुल्मी । गुल्मीमा १६ औं निजामती सेवा दिवसको अबसरमा बिबिध कार्यक्रम सम्पन्न भएका छन् । ‘निजामुखी प्रशासन समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाम तम्घासमा निजामति सेवा दिवस बिबिध कार्यक्रमका बिच मनाइएको हो ।
दिवसको अबसरमा सदरमुकाम शुक्रवार शनिवार २ दिनसम्म कर्मचारीहरु बिच ब्याडमिन्टन प्रतियोगित, महिला कर्मचारीहरु बिच म्युजिकल चियर प्रतियोगिता, राष्ट्रसेवक कर्मचारी फुटवल प्रतियोगिता राखिएको थियो । दिवसको दिन आइतवार बिहान प्रभात फेरि र मञ्चको कार्यक्रम समेत राखिएको थियो ।
दिवसको अबसरमा सेवा निबृत कर्मचारीमध्ये जेष्ठ सेवा निबृत कर्मचारी रेसुङ्गा नगरपालिका वडानम्बर १ तम्घासका ८९ वर्षिय केशरबहादुर थापा, सेवारत कर्मचारीमध्ये लामो समयसम्म सेवामा कार्यरत मालत कार्यालय गुल्मीका कार्यलय सहयोगी मानप्रसाद सुवेदीलाई सम्मान गरिएको थियो । कार्यक्रममा ब्याडमिन्टन प्रतियोगित, म्युजिकल चियर प्रतियोगिता, फुटवल प्रतियोगितामा प्रथम द्धितिय हुनेहरुलाई पुरस्कृत एवं सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।
मूल समारोह समिति गुल्मीका संयोजक प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षता गरिएको कार्यक्रममा जिल्ला न्यायधिश कृष्णाप्रसाद पौडेल प्रमुख आतिथ्यतामा रहेको कार्यक्रम जिल्ला स्थित बिभिन्न कार्यालयमा रहेका राष्ट्रसेवक कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला न्यायधिश कृष्णप्रसाद पौडेल, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, आधिकारीक टे«डयूनियका जिल्ला अध्यक्ष जयश्वर पन्थी, नेपाल निजामति संगठन प्रदेश नम्बर ५ का अध्यक्ष दधिराम मरासिनी, नेपाल निजामति संगठनका जिल्ला अध्यक्ष रामप्रसाद पन्थी, नेपाल निजामती कर्मचारी यूनियनका संघ गुल्मीका अध्यक्ष मेघलाल पाण्डे लगायतल निजामति कर्मचारीहरुको आज जन्म दिन रहेकाले कर्मचारीले आज नयाँ कुरा सिक्ने दिन रहेको बताएका थिए ।
सहभागिले दिवसको अबसरमा कर्मचारीले आफना आचरणलाई सुधार गदै जाने र अरुलाई पनि सिकाउने आजको दिन रहेको बताए । पहिला आफनो व्यवहारलाई नै सुधार गर्ने कुरामा ख्याल राख्न आग्रह गरेका थिए । कार्यक्रममा गुल्मी जिल्लाका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतलाई बिदाई गरिएको थियो । जिल्लाबाट सुरुवा भएर जान लागेका एसपी बस्नेतालाई निजामती दिवसको कार्यक्रममा सहभागिहरुले बिदाई गरेका थिए ।
गुल्मीमा दोस्रो पटक शिविरबाट व्यवसायीको कर संकलन
अनिल खत्री, गुल्मी भदौ २२ ।
गुल्मीमा दोस्रो पटक शिबिरबाट व्यवसायीको कर संकलन गरिएको छ । आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाको आयोजना र चेम्बर अफ कमर्शको संयोजनमा जिल्लाको सदरमुकाम तम्घासमा शिबिर सञ्चालन गरेर कर संकलन गरेको हो ।
जिल्ला सदरमुकाम तम्घासमा २ दिनसम्म सञ्चालन हुने शिबिरको पहिलो दिन झण्डै ७ सय जनाले बिभिन्न सेवा लिएको आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाका कार्यालय प्रमुख एवं कर अधिकृत सागर पोखरेलले बताए । आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाको सेवा प्रदान गर्न शिबिर राखिएको कार्यालय प्रमुख पोखरेलले बताए ।
शिबिरमा नयाँ व्यवसाय दर्ता, व्यक्तिगत प्यान, व्यवसायिक प्यान, कारोवार परिर्वतन, कारोबन्द जस्ता कामहरु भएको कार्यालय प्रमुख पोखरेलले बताए । कार्यालको सेवा पहुँच भन्दा टाढा रहेका करदाताहरुलाई सेवा प्रवाहमा सहजता ल्याउनको निम्ति शिबिर आयोजना गरिएको कार्यालयले जनाएको छ ।
व्यावसाय सम्बन्धीकामहरुसँगै करदाताहरुले बिभिन्न व्यवसायहरु कसरी सञ्चालन कर कहिले तिर्ने जस्ता बिषयहरुमा करदाता शिक्षा पनि प्रदान गरिएको पोखरेलको भनाई छ । गत महिनाको साउनमा पनि २ दिनसम्म जिल्ला सदरमुकाम तम्घासमा पहिलो पटक २ दिनसम्म शिबिर आयोजना गरिएको थियो ।
शिबिरमा १ हजार वढि व्यावसायीहरुले सेवा लिएका थिए । धेरै व्यवसायीहरुको छुटेको भन्ने गुनासो आएकाले पुनः एक महिना पछि दोस्रो पटक आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पालाई आग्रह गरेर शिबिरको आयोजना गरिएको तम्घासमा व्यवसायी एवं संयोजनमा सहयोगी बिरेन्द्र भुसालले बताए ।
शिबिर शनिबारसम्म चल्ने भएकाले सेवा लिन व्यवसायीहरुलाई भुसालले आग्रह गरे । पाल्पा र गुल्मी हेर्ने गरि आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पा कार्यालय स्थापा भएको छ । तर गुल्मीबाट कर लगायत बिभिन्न सेवा सम्बन्धी पाल्पामा जानु पर्ने बाध्यताले यहाँका व्यवसायीहरुले समस्या झेल्दैआएक छन् ।
एकीकृत ग्रामीण विकास समाजको २५ औँ साधारण सभा सम्पन्न
हुमाकान्त पोखरेल, गुल्मी भदौ २२।
एकीकृत ग्रामीण विकास समाज गुल्मीको २५ औँ साधारण सभा सम्पन्न भएको छ । सभामा आर्थिक बर्ष २०७५/७६ को सँस्थाको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
संस्थाले महिला र २ वर्ष मुनिका बालबालिकाहरु तथा किशोरीहरुको पोषणको अवस्थामा सुधार ल्याउने लक्ष्य लिएको छ । जसअन्तरगत तथ्यांक संकलन, हजार दिने आमाको घर पहिचान र पोषण सम्बन्धी परामर्श, ९९१ स्थानका स्वास्थ्य आमा समूहको बैठकमा ६ महिनादेखि २४ महिनाभित्रका बच्चाका आमाहरुलाइ प्रत्यक्ष सहभागी गराइ स्थानिय स्तरमा पोषिला खानेकुरा तयारी सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको छ । एक हजार ३९५ जना हजार दिने आमालाई उचित परामर्श दिएको, १८८ वटा स्वास्थ्य आमा समूहमा सरसफाइसम्बन्धी कार्यक्रम गरिएको, रेसुङ्गा नगरपालिका ६ लाइ पुर्ण सरसफाइउन्मुख वडा घोषणा गर्न प्राविधिक सहयोग गरिएको लगायतका काम गरेको जनाएको छ ।
त्यस्तै जिल्लामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरु र ९७२ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाइ २ दिने मातृशिशु तथा बाल्यकालिन पोषण सम्बन्धी तालिम प्रदान गरिएको तथा ५ जना ग्रामीण नमुना कृषकलाइ १० दिने आयमुलक तरकारी तालिम र ३ जनालाइ आयमुलक कुखुरापालन सम्बन्धी तालिम प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले जानकारी दिए । यस कार्यको फलस्वरुप ८४ वटा स्वास्थ्य आमा समुहको बैठकमा नयाँ हजार दिने महिलाहरुलाई आबद्ध गराई स्वास्थ्य र पोषण सम्बन्धी छलफल हुने गरेको छ । त्यस्तै सँस्थाले पारस्पारिक जवाफदेहिता कार्यक्रम पनि संचालन गर्दै आएको छ । जसबाट भ्रष्ट्राचार विरुद्ध शुन्य सहनशीलतालाई प्रवद्र्धन गर्न सहयोग पुगेको संस्थाका अध्यक्ष हिरा ए.सी. ले जानकारी दिए ।
एकीकृत ग्रामीण विकास समाजकै मातहतमा रहने गरी पशुवस्तुहरुको मूल्य श्रृंखलामा आधारित साना किसानहरुको सवलीकरण संस्था पनि संचालन गरिएको छ । यो परियोजना इस्मा, धुर्कोट र मालिका गाउँपालिका तथा रेसुंगा नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालित छ । यसबाट सहकारी गठन गरी विभिन्न स्थानीय उपभोक्ताहरु विभिन्न आयमुलक काममा लागेका छन् । जसअन्तरगत १७ हजार ४३६ किलो जिउँदो तौलका ५७६ खसीबोका बिक्रि गरी कृषकहरुले ६५ लाख ३८ हजार पाचँ सय आम्दानी गरेका संस्थाका कार्यक्रम संयोजक भरत भण्डारीले जानकारी दिए । अहिलेसम्म ४ वटा सहकारीको क्षमता विकास भई बिउ, मल, दानाको कारोबार सुरु गरेको पनि भण्डारीले जानकारी दिए । परियोजना लागु भएदेखि ७५%.खोर सुधार भएको, तीन हजार २१५ माउ बाख्राको संख्या बढेको, तौलेर खसीबोका बेच्ने काममा सहकारीले सफलता पाएको, तथा मासिक लक्ष्य निर्धारण गरी खसीबोकाको खरीद बिक्री गरी कृषक र सहकारीको आम्दानिमा वृद्घि भएको जनाइएको छ ।
साधारण सभाकै अवसर पारेर संस्थाको गत आर्थिक बर्षको आयव्यय तथा यस आर्थिक बर्षको अनुमानित आयव्यय पनि प्रस्तुत गरिएको थियो । कोषाध्यक्ष तुल्सिराम काउछाले गत आ.व.को दुई करोड ६८ लाख दुई हजार ७६६ रुपैँया ५५ पैसा बराबरको आयव्यय प्रस्तुत गरेका थिए । जसअन्तरगत सुआहारा –२ परियोजना अन्तरगत एक करोड ६७ लाख ५७ हजार २६६, पारस्पारिक जवाफदेहिता परियोजना अन्तरगत ३९ लाख ४४ हजार ८२५, एस्.एल्.भि.सि. –२ परियोजनाबाट २८ लाख ५८ हजार ४०१ आयव्यय रहेको छ ।
जेष्ठ नागरिक दिव सेवा कार्यक्रमअन्तरगत तीन लाख ८० हजार, स्वास्थ्य सँस्था सामाजिक परिक्षणबाट तीन लाख ९४ हजार लगायतका शिर्षकमा आयव्यय उल्लेख गरिएको छ । संस्थाले यो आर्थिक बर्षको लागि तीन करोड ५९ लाख ५० हजार बराबरको अनुमानित आयव्यय प्रस्तुत गरेको कोषाध्यक्ष काउछाले जानकारी दिए । कार्यक्रमकै अवसर पारेर सामाजिक क्षेत्रका सक्रिय भई काम गर्ने दुईजना, उत्कृष्ठ उद्यमी तीन जना संस्थाका विभिन्न पदका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।
डोजर प्रयोग कम गर्न ५० लेन्थवर्कर
टोपलाल अर्याल, गुल्मी भदौ २२ ।
इस्मा गाउँपालिकाले डोजरको प्रयोग कम गर्न ५० जना लेन्थवर्कर (सडक हेरालु) भर्ना गरेको छ । बर्षातले क्षती पुराएका सडक संजाल नियमित गर्न लेन्थवर्कर नियुक्त गरिएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।

गाउँपालिकाले गत बर्षदेखि २० जना लेन्थवर्करलाई बर्षभर नै नियमित सडक मर्मतका लागि राखेको छ । यो बर्ष थप ३० जना भर्ना गरिएको छ । गाउँपालिकामा लेन्थवर्करको लागि ६४ जनाले निवेदन दिएका थिए । अव ५० जना लेन्थवर्कर मार्फत आइतबारदेखि सडक मर्मतको काम सुरु गर्ने योजना रहेको बस्नेतले बताए ।
बाटो र आटो दुबै चल्ने
इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले बिपन्न परिवारको जिबिकोपार्जनसंगै सडक नियमित बनाउने योजना अगाडी बढाएको बताए । गत बर्ष दशैमा मात्रै सडक मर्मत गर्दा गाउँपालिकाले २० लाख बढी खर्च गरेको थियो ।

ठुला मेसिनको प्रयोगले एउटा ब्यक्तिलाई मात्रै फाइदा हुने भएकाले लेन्थवर्करको संख्या बढाएको बिष्टले बताए । ‘लेन्थवर्कर मार्फत काम गर्दा बाटो र आटो दुवै चल्ने सोचेका छौै,’उनले भने,‘गत बर्ष मेसिन प्रयोग गर्दा २० लाख खर्च भो, अहिले त्यो पैसा ५० परिवारसम्म पुग्ने छ ।

उनले लेन्थवर्करको अवधि थप गरेर ठुला मेसिनको प्रयोगलाई निरुत्साहित गर्दै अधिकतम रोजगार सृजना गर्ने गरि सडक मर्मत गर्ने बताए ।
धेरै बिदेशबाट फर्किएका
गाउँपालिकाले नियुक्त गरेका ५० जना लेन्थवर्करमा ५२ प्रतिशत बिदेशबाट फर्किएका छन् । भारतसंगै खाडी मुलुक मलेसिया, कतारमाबाट फर्किएका युवाहरुले गाउँपालिकामा आवेदन दिएका थिए ।
‘परिवारसंगै काम गर्ने अवसर पाएँ, म जस्तै थुप्रै युवाले परदेशको गुलाम गरेका छन्, मलेसियाबाट फर्केका इस्मा गाउँपालिका ४ का इश्वर बिष्टले भने,‘चाड पर्वको मुखमा ५० जनाको घरमा गाउँपालिकाले खुसी दिएकोे छ ।’ नियुक्ति लिएका ५० जनामा १४ जना महिला रहेका छन् ।
पुरस्कार र दण्डको ब्यावस्था
इस्मा गाउँपालिकाले लेन्थवर्करको लागि दण्ड र पुरस्कारको ब्यास्था गरेको छ । सडक मर्मतमा नियमित, अनुशासन र तोकिएको काम समयमै पूरा गर्ने लेन्थवर्करलाइ पुरस्कृत गरिने गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् ।
उनले गत बर्ष पनि तीन जनालाई पुरस्कृत गरिएको बताउँदै राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र ठग्ने तथा मदिरा सेवन गर्नेलाई कारबाही गर्ने गरि पदमुक्त गरिने जानकारी दिइन् । साथै लेन्थवर्कर कर्मचारी प्रति उत्तरदायी बनाइएको छ ।
जनप्रतिनिधीसंग भोटको धम्की दिएर काम नगर्ने प्रवृतिको अन्त्य गर्न अहिले सवै कामको व्यावस्थापन कर्मचारीले गर्ने खत्रीले बताइन् ।
पहिलो चरणमा तीन महिना
इस्मा गाउँपालिकाले पहिलो चरणमा तीन महिना लेन्थवर्कर भर्ना गरेको गाउँपालिकाका प्रवक्ता गनु प्रसाद अधिकारीले जानकारी दिए । उनले सुरुमा मुख्य सडक र त्यसपछि शाखा सडक मर्मत गर्न अहिले लेन्थवर्करको सेवा अवधि तीन महिना बनाइएको बताए ।
तीन महिनापछि कामको प्रभावकारीता मुल्यांकलन गरेर थप निर्णय गरिने अधिकारीले बताए । एक जनाको लागि अहिले १३ हजार पाँच सय मासिक पारिश्रमीक तोकिएको छ । कामको प्रभावका आधारमा १० प्रतिशतसम्म पारिश्रमीक थप गरिने प्रवक्ता अधिकारीले बताए ।

















