Friday, June 5, 2026

लुम्बिनी सहितका प्रदेशमा वर्षा र हिमपात

0
फाइल फोटो

माघ १७,२०८०काठमाडौं : देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसमा पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही, लुम्बिनी र गण्डकी प्रदेशका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुधबार र बिहीबार तापक्रम घटेर चिसो बढ्नसक्ने सम्भावना छ।

गुल्मी तम्घासको सफल र सम्पन्न आयुर्वेद सिल : छानविन गर्न समिति गठन

0

माघ १६,२०८० गुल्मी : गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सञ्चालित सफल र सम्पन्न आयुर्वेद पसल सिल गरेको प्रशासनले छानविन गर्न समिति बनाएको छ । सत्य तथ्य छानविन गर्नका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्य रहेको समिति गठन गरेको हो ।

जसको सदस्यहरुमा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्य, रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती, आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका डाक्टर सुरज पाण्डे र प्रहरी निरीक्षक सूर्यमान चौधरी सदसय रहेको समिति गठन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो । समितिले यहि माघ १९ गतेसम्म सत्य तथ्य बुझेर प्रतिवेदन पेश गर्नेछ ।

प्रतिवेदन आएपछि त्यसलाई आधार मानि दोषी देखिएमा कानून अनुसारको कारवाही प्रशासनले जनाएको छ । तम्घासको पुरानो बजारमा रमेश अधिकारीले सञ्चालन गर्दै आएको सम्पन्न आयुर्वेद पसल र सफल होमियोप्याथिक औषधी पसल अधिकार क्षेत्र भन्दा बाहिर रहेर काम गरेको पाइएको भन्दै प्रशासनले सोमबार सिल भएको हो ।

औषधी खुद्रा बिक्रीको लागि दर्ता भएको उक्त पसले गैरकानुनी ढंगले क्षेत्र अधिकार बाहिर रहेर उपचार र ल्याब सेवा सञ्चालन गरेको पाइएको छ । उक्त पसलले आयुर्वेद र एलोपेथिक औषधीहरु राख्ने गरेको,एक्स–रे तथा भिडियो–रे सेवा, फिजियो थेरापी र नेबुलाइजर सेवा, पनि प्रवाह गरेको पाइएको थियो ।
साथै बिरामी भर्ना गरेर भिन्नि ढंगले उपचार गर्दै आएको पनि पाइएको अनुगमन कर्ताले फेला पारेका थिए । अधिकारीले रेसुङ्गा नगरपालिका वडानम्बर ८ मा पसल र वडानम्बर ९ मा ल्याब र औषधीको ठूलो जोदाम ।राखेर सेवा प्रवाह गर्दै आएको फेला परेको प्रशासनले जनाएको छ ।

आयुर्वेदले गम्भीर प्रकृतिका बिरामी हेर्ने, औषधि वितरण गर्ने र प्रयोगशाला संचालन गरेको गुनासो आएपछि आयुर्वेद बन्द गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।
सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले आयुर्वेद सिल गरेको थियो । उक्त आयुर्वेद पसलले आठ कोठामा औषधि, प्रयोगशाला र बिरामी कुरुवा कक्ष सञ्चालन गरेको छ ।

अधिकार क्षेत्र भन्दा बाहिर रहेर काम गर्ने अधिकार कसैलाई नभएको भन्दै अनुसन्धान पश्चात के कारवाही गर्ने भन्ने बारेमा निर्णय लिइने शर्माले बताउनुभयो । जिल्ला सदरमुकामै क्षेत्र अधिकार बाहिर रहेर आयुर्वेद पसल सञ्चालन गरेर स्वास्थ्य जस्तो सम्बेदनशिल बिषयमा खेलबाड हुँदै आएको प्रति नागरिकको गुनासो बढेको थियो ।

उक्त पसलले गम्भीर प्रकृतिका बिरामी भर्ना गर्ने र चेक जाँच गर्ने गरेको आरोप स्थानीयको छ । उक्त पसलमा आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीले अनुगमन गर्दा क्षेत्राधिकार भन्दा बाहिर रहेर काम गरेको फेला पारेर पटक पटक सुझाब दिँदा समेत अटेर गर्दै आएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

लायन्स क्लबद्धारा विद्यार्थीलाई न्यानो कपडा प्रदान

0

मनोज कार्की
माघ १०,२०८०गुल्मीः लायन्स क्लब अफ गुल्मी तम्घास र लायन्स क्लब अफ गुल्मी रेसुङ्गाद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको सदरमुकाम स्थित श्रृजना प्राथमिक बिद्यालयका ५५ जना र सेतो गुराँस बाल बिकास केन्द्रमा अध्ययनरत २५ जना गरी कुल ८० जना विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको लायन्स क्लब अफ गुल्मी रेसुङ्गाका सचिव कृष्ण खनालले जानकारी दिए ।

विभिन्न समयमा क्लबले जिल्लाभरका ३७ वटा बिद्यालयमा ४२ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३६५ ए–वानका डिस्ट्रिक्ट गभर्नर भिमलाल पौडेलले जानकारी दिए । गुल्मीका दुईवटा लायन्स क्लबले आफ्नै सहयोगबाट विद्यार्थीलाई गरेको न्यानो कपडा वितरण कार्यक्रमले विद्यालयको थप शैक्षिक गतिविधिमा समेत टेवा पुग्ने डिस्ट्रिक्ट गभर्नर पौडेलले बताए । कपडाले विद्यार्थीलाई न्यानो र क्लबलाई सन्तुष्टि मिल्ने बताउँदै डिस्ट्रिक्ट गभर्नर पौडेलले क्लबले आगामी दिनमा शैक्षिक क्षेत्रसंगै जिल्लाको पर्यटन प्रर्वद्धनमा समेत लाग्नुपर्नेमा जोड दिए ।

जाडो समयमा विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरिएको क्लबले जनाएको छ । अमेरिकामा स्थापना भएको क्लबसंग जोडिएर देशका कुनाकन्दरामा पुगेर विद्यालय र विद्यार्थीका आवश्यकता पहिचान गरेर क्लबले गर्ने पुण्य कामको प्रशंसा गर्दै रेसुङ्गा नगरपालिका ७ का वडाध्यक्ष रामप्रसाद पन्थी ९राम्जी०ले सबैलाई धन्यवाद दिए । न्यानो कपडा वितरण कार्यक्रममा रेसुंगा नगरपालिकाले पर्यटन प्रर्वद्धन गर्न जाउँ हिड् रेसुंगा अभियान संचालन गरिरहेको जानकारी दिदैं वडाअध्यक्ष पन्थीले जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारमा जोड दिए ।

क्लब वा कुनै संस्थाको नाममा देश तथा विदेशबाट संकलन गरिएको रकमबाट केही सहयोग गर्ने केही कुम्लाउने गरेका उदाहरण दिदैँ डिस्ट्रिक्ट चिफ बालसिंह काउछाले लायन्स क्लब त्यस्तो नभई पूर्ण सहयोग सहित सामाजिक काम गर्ने बताए । लायन्स क्लबले गरेको न्यानो कपडा वितरण कार्यक्रमलले विद्यालयको गुणस्तरीय शिक्षामा थप टेवा पुग्ने लायन्स क्लब अफ गुल्मी रेसुङ्गा अध्यक्ष विस्णु प्रसाद अधिकारीले बताए ।

गुल्मीमा छोरी जन्मे खातामा १० हजार, नागरिकता बनेपछी निकाल्न पाउने

0

तिलाचन पाण्डे
माघ ९,२०८० गुल्मीः गुल्मीको एक पालिकाले छोरी जन्मे छोरीको खातामा १० हजार रुपियाँ जम्मा गरिदिने नीति लिएको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिका भित्र छोरी जन्मिएमा छोरीको खाता खोलेर १० हजार रुपियाँ जम्मा गरिदिने नीति लिएको गाउँपालिकाले जनाएको छ ।

अहिले छोरीको खाता खोलेर अक्षयकोषको रुपमा १० हजार राखिदिने र उसको खाता रोक्का गरिदिने गरी योजना बनाएको स्वास्थ्य शाखाका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । अहिले राखिदिएको १० हजार रुपियाँबाट १५ वर्षपछी छोरीको नागरिकता बन्दा करिब ४० हजार रुपियाँ पुग्ने भएकाले उच्च शिक्षा हासिल गर्नमा थप टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको छ । छोरीको नागरिकता बनेपछी छोरीले उक्त रकम निकाल्न पाउँने भएकाले अन्य परिवारका सदस्यले निकाल्न नपाउने गरी कुमारी बैङकमा खाता खोल्ने र उक्त रकम जम्मा गरिदिने गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले छोरीको खातामा १० हजार जम्मा गरिदिने नीतिलाई ब्यवहारमा लागु गर्न कार्यविधि बनाइ सकेको बताए । कार्यविधि पास भइ सकेकाले छोरीको खातामा रकम जम्मा गरिदिनका लागि कुनै कानूनी समस्या नभएको गिरीको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार छोरी जन्मे भन्दा अझै पनि समाजमा फरक दृष्टिकोणले हेर्ने प्रचलन कायमै रहेकाले त्यसको अन्त्य गर्नका लागि यस्तो नीति लिइएकोे बताए ।
यसका साथै किशोरी अवस्थामा उच्च शिक्षा हासिल गर्न र अन्य केही योजनाहरु बनाएमा त्यसलाई सहयोग पुग्ने गरी काम गर्ने भएकाले १० हजार खातामा राखिदिने नीति बनाइएको थापाको भनाइ छ ।

गत आर्थिक वर्षमा गाउँपालिका भित्र करिव ४० जना छोरी जन्मिएको स्वास्थ्य शाखाको तथ्याङकमा छ । उनीहरुलाई गाउँपालिकाले पाँच हजारका दरले उपलब्ध गराएको थियो । सिधै पाँच हजार उपलब्ध गराउँदा यसको औचित्य नदेखिएकाले यसलाई अहिले परिमार्जन गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

यस आर्थिक वर्षको हालसम्म पालिका भित्र २० जना छोरी जन्मिएको निवेदन प्राप्त भएकाले १० हजार जम्मा गरिदिने कार्य अन्तिम चरणमा पुगेको स्वास्थ्य शाखा प्रमुख थापाले बताए ।

पालिकाले उपाध्यक्ष कोशेली कार्यक्रम अन्र्तगत सुत्केरीलाई भेटन जाँदा भाले कोशेली लिएर भेटन जाने गरेको उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले बताइन् ।

 

मुसहर बस्तीका १० जनालाई एकसाथ नागरिकता

0

माघ ९,२०८०जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाले क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ पकडियाका सुकुम्वासी मुसहर बस्तीका १० जनालाई एकसाथ नागरिकता प्रदान गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेका अनुसार बस्तीका १० जनालाई एकैसाथ नागरिकता प्रदान गरिएको छ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार ‘विपन्नता र अशिक्षाका कारण लामो समयदेखि उहाँहरू नागरिकताबाट वञ्चित हुनु भएको थियो।’

प्रजिअ पाण्डेका अनुसार सबभन्दा बढी ४८ वर्षको उमेरमा मोतीलाल सदाले नागरिकता पाएको बताए।

उनीसँगै बस्तीकै अनिताकुमारी सदा, इन्द्ररेखा सदा, विनिताकुमारी सदा, लरुवती देवी सदा, सरिता सदा, रामबाबु सदा, दीपेन्द्र सदालगायतले नागरिकता पाएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।

केही दिनअघि उक्त बस्तीमा नागरिकताविहीनका लागि मानव कल्याण समाज नेपालले आयोजना गरेको कार्यक्रममा प्रजिअ पाण्डे कार्यक्रममा पुगेका थिए। उनीहरूले लामो समयदेखि नागरिकता नपाएको गुनासो गर्दै आएका थिए। कार्यालयमा जाँदा पनि कागजी प्रक्रिया पूरा गर्न नसक्दा नागरिकताबाट वञ्चित रहेको गुनासोपछि कार्यालयमै बोलाएर उनीहरूलाई नागरिकता प्रदान गरेको प्रजिअ पाण्डेले बताए।

प्रजिअ पाण्डेले भन्ने थप ७ जनालाई कानुनी प्रक्रिया पूरा गरी छिटै नागरिकता प्रदान गरिने बताए।

गुल्मीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण

0

टोपलाल अर्याल

माघ ८,२०८० गुल्मी:गुल्मीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पेट, आन्द्रा, कलेजो तथा प्याङक्रियाज रोग सम्बन्धि अभिमुखिकरण गरिएको छ ।

 

ग्याष्ट्रो सेन्टर बुटवल प्रालिको आयोजना तथा शुभलक्ष्मी फर्माको समन्वयमा अभिमुखिकरण गरिएको हो । पेट, आन्द्रा, कलेजो तथा प्याङक्रियाज रोग बिशेषज्ञ डाक्टर मोहन भुसालले गुल्मी अस्पताल र विभिन्न पालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पेटमा ग्याष्ट्राइटिस, अल्सर र क्यान्सर गराउने किटाणुको पहिचान, उपचार र नियन्त्रणको बारेमा अभिमुखिकरण गरेका थिए ।

 

गुल्मी अस्पताल तम्घासको निमित्त प्रमुख डाक्टर सोफिया थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अभिमुखिकरण समय सान्दर्भिक र फलदायी भएको प्रतिक्रिया दिएका थिए ।

 

डाक्टर भुसाल मार्फत शुभलक्ष्मी फर्मा तम्घासले पेट, आन्द्रा, कलेजो तथा प्याङक्रियाज रोगको विशेषज्ञ सेवा सुरु गरेको छ ।  दिर्घ अल्सर तथा पेटका रोगीको पहिचान, त्यस्ता बिरामीको क्यान्सर र अन्य रोगको पहिचानका लागि इण्डोस्कोपीक बायस्पी सहितको सेवा दिन थालिएको शुभ लक्ष्मी फर्मामा प्रोपाइटर होम बहादुर थापा पल्लीले जानकारी दिए ।

 

डाक्टर भुसाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा लामो समय अनुभव प्राप्त र अहिले लुम्बिनी प्रादेशिक अस्पताल तथा ग्याष्ट्रो सेन्टर बुटवल प्रालिमा कार्यरत छन् । महिनामा एक पटक भएपनि जिल्लामा बोलाएर नागरिकलाई बिशेषज्ञ सेवा प्रदान गर्न थालिएको प्रोपाइटर पल्लीले बताए । उनले सोहि रोगको पहिचान र उपचारको लागि हजारौ रुपैयाँ खर्च गरेर जिल्ला बाहिर जानुपर्ने गुल्मेलीलाई महिनामा एक पटक भएपनि इण्डोस्कोपीकसहितको पेट, आन्द्रा, कलेजो तथा प्याङक्रियाज रोगको परिक्षण र उपचार सेवा प्रदान गर्न खोजिएको बताए । ‘पैसा र सम्पतिभन्दा स्वास्थ्य सवैभन्दा ठुलो कुरा हो ।

 

मौकामा बिशेषज्ञसहितको उपचार गर्दा जोखिम कम हुन्छ,’उनले भने,‘भुसाल डाक्टर साप जिल्लामा पाउनु ठुलो सौभाग्य हो ।’ पेट, आन्द्रा, कलेजो तथा प्याङक्रियाज रोग बिशेषज्ञ डाक्टर मोहन भुसालका अनुसार पेटका सबै दुखाइ ग्याष्ट्राइटिस होइनन् ।

ग्याष्ट्रीकजन्य किटाणुका कारण हुने ग्याष्ट्राइटिसको बेलैमा पहिचान र उपचार आवश्यक भएकाले अपडेट भएका बिषयमा चिकित्सक तथा स्वास्थकर्मीलाई अभिमुखिकरण गरिएको डाक्टर भुसालले बताए ।

 

ग्याष्ट्राइटिस हुँदा पेट ढुस्स हुने, अमिलो पानी आउने, डकार आउने, खाना खाने बित्तिकै पेट भरिए जस्तो महसुस हुने, वाक वक लाग्ने जस्ता लक्षण देखिन्छन्।

मुसिकोटका ७५ जना विद्यार्थीलाई उपभोक्ता सम्बन्धी सचेतना

0

सूर्य सुनार
माघ ८,२०८० गुल्मी :गुल्मीको एक विद्यालयमा उपभोक्ता हित सम्बन्धी जागरण कार्यक्रम गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ बारुकामा रहेको मुसिकोट माध्यामिक विद्यालयमा एक दिने सचेतना कार्यक्रम गरिएको विद्यालयका शिक्षक गणेश पन्थीले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश उद्योग बाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय सिद्धार्थनगर रुपन्देहीको आयोजनामा ७५ जना विद्यार्थीहरुलाई उपभोक्ता हक अधिकार, उपभोक्ता संरक्षण ऐनमा भएका व्यवस्थाहरु, उत्पादकका दायित्वका विषयमा विद्यार्थीहरुलाई सचेतना गराइएको निर्देशनालयका निर्देशक अर्जुन बहादुर थापाले बताउनुभयो ।

कारोवार स्थलमा साईनवोर्ड, मूल्यसुची ख्याल गर्नुपर्ने, उत्पादन मिति र उपभोग्य मिति हेरेर मात्र समान खरिद गर्नुपर्ने जस्ता विषयमा विद्यार्थीहरुलाई सिकाउदा समाजमा राम्रो प्रभाव पर्ने हुँदा विद्यार्थीहरुलाई सचेतना गराइएको थापाको भनाइ छ ।
उहाँले अनुगमन भन्दा पनि उपभोक्ता सचेतना महत्वपूर्ण भएको भन्दै प्रत्येक नागरिक आफैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । लुम्बिनी प्रदेशका १२ जिल्लामा यो कार्यक्रम गरिने निर्देशानालयले जनाएको छ ।

मुसिकोट माध्यामिक विद्यालयका शिक्षक गणेश पन्थीले विद्यालयमा आएर धेरै राम्रो र समाजमा राम्रो प्रभाव पार्ने कार्यक्रम गरिदिएको भन्दै लुम्बिनी प्रदेश उद्योग बाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

0

माघ ८,२०८०पाल्पा :पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा रम्भा गाउँपालिका(१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम भट्टले जानकारी दिनुभयो ।

 

पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग१४प ३७५ नम्बरको मोटरसाइकल सोही वडाको भुमरस्थित कालीगण्डकी नदी किनारमा खसेर दुर्घटना भएको हो।

 

गएराति करिब १० बजे दुर्घटना भएको हो। जिटीको घटनास्थलमै मृत्यु भएको भट्टले बताउनुभयो । मोटरसाइकल कालीगण्डकी कोरिडोट भन्दा अन्दाजी २०० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एकताबद्ध हुँदै बितरक : दोस्रो अधिबेशनबाट नयाँ नेतृत्व

0

टोपलाल अर्याल
माघ ६,२०८० गुल्मी :गुल्मी बितरक संघ गुल्मीको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

अधिवेशसनबाट अध्यक्षमा बिष्णु प्रसाद अधिकारी, उपाध्यक्षमा युवराज पाण्डेय, महासचिवमा सुर्य प्रसाद घिमिरे, सचिवमा प्रेमनारायण घिमिरे, कोषाध्यक्षमा केशव अधिकारी र सहकोषाध्यक्षमा कमलप्रसाद पाण्डेय रहेका छन् । त्यस्तै सदस्यहरुमा चन्द्र प्रसाद श्रेष्ठ, बादल श्रेष्ठ, रामचन्द्र सुवेदी, काशीराम पाण्डेय, महेन्द्र ज्ञवाली, टंक प्रसाद अर्याल, सीता अर्याल र रामचन्द्र सुवेदी चयन भएको निर्वाचन अधिकृत बिजय पाण्डेयले जानकारी दिए ।

गुल्मी बितरक संघ गुल्मीको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनको प्रमुख जिल्ला अधिकारी कृष्ण शर्माले उद्घाटनले उद्घाटन गरेका थिए। सभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले कानुन बनाउने तहमा आफुहरु नभएपनि जिल्लाका पालिकाभित्र एकै किसिमको कर निर्धारण गर्न जिल्ला समन्वय, प्रशासन, पालिका र ब्यापारी सस्था तथा बितरकहरु मार्फत सहजीकरण गर्ने बताए ।

उनले नागरिकको गुणस्तरिय सामग्री उपभोग गर्न पाउने अधिकारलाई कुण्ठित नहुने गरेर व्यावसाय अगाडी बढाउन वितरक संघलाई आग्रह गरे । ०७२ सालमा जेष्ठ बितरक रेमलाल पान्डेयको अध्यक्षतामा बसेको भेलाले गोमराज श्रेष्ठको संयोजकत्वमा संघ स्थापना भएको थियो । सघ ०७३ सालमा जिल्ला प्रशासन र ०७५ सालमा आन्तरिक राजस्व बिभाग र ०७६ सालमा नेपाल बितरक महासघमा दर्ता भएको हो । बितरक संघका निर्वतमान सचीव बिष्णु अधिकारीका अनुसार ०७३ सालको विभिन्न पहिरोबाट पीडित भएकाहरूलाई २० हजार ५ सय र कोभिडको बेला पत्रकार महासघ गुल्मीको अक्सिजन प्लान्ट अभियानमा ३० हजार सहयोग गरिएको छ ।

त्यो बाहेक बितरक संघले नाकाबन्दीका बेला इन्धन संकट समाधान गर्न कोटा सिस्टममा बितरकलाई इन्धन बितरणको ब्याबस्था, पालिकाहरुले उठाउदै आएको रिटेलिङ कर खारेजको माग गर्ने, कुरकुरे, भुजा र भद्दा सामानको सानो गाडीमा ढुवानी सहजीकरण, कोभिडमा जोखिम मोलेर विभिन्न ठाउँमा खाद्य ढुवानी गरिएको अधिकारीले बताए ।

व्यावसायीका गुनासै गुनासा

सभामा वितरकले आफुहरु माथिका पीडा पोखे । बितरक संघका सभासद काशीराम पान्डेयले कर तिरेर जनताको घरसम्म पुग्ने बितरकलाई राज्यले उपेक्षा गरेको बताए । उनले कर तिर्ने, रोजगार सृजना गर्ने र घरसम्म सेवा दिने बितरकलाई राज्यको मनलाग्दी दोहोरो कर लादिएको बताए । ब्याबसाय चौपट हुँदाको पीडाकाबिच स्थानीय सरकारपिच्छेका कर र अस्थिर नीतिले बितरक चपेटामा परेको पान्डेयले बताए ।

त्यस्तै चेम्बर अफ कमर्स गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पान्डेयले आर्थिक संकटको चपेटामा व्यावसाय र व्यावसायी परिरहेका बेला सरकारले उर्जाको साटो दुख दिइरहेको बताए । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पौडेलले सरकारपिच्छेका नीति, संकटग्रस्त आर्थिक अवस्था, कम्पनीको व्यावहार र व्यावसायी तथा सेवाग्राहीको च्याँपुवामा वितरक परेको औल्याए ।

उनले पालिकाहरुको मनलाग्दी करको बिषयमा प्रशासनले सहजीकरण गर्न आग्रह गरे । वितरक संघका निर्वतमान अध्यक्ष गोमराज श्रेष्ठले सरकार व्यावसायीप्रति उदाशिन रहेको गुनासो गरे । उनले सरकार, बैंक, कम्पनी, व्यावसायी र सेवाग्राहीहरुको चपेटामा बितरक हुँदा पनि आफुहरु सेवा दिन बाध्य भएको बताए ।

युवा संघ गुल्मीको १० औ जिल्ला अधिवेशन फागुन ५ गते

0

टोपलाल अर्याल
माघ ६,२०८० गुल्मीःराष्ट्रिय युवा संघ नेपाल गुल्मीको १० औ जिल्ला अधिवेशन आगामी ५ फागुनमा तम्घासमा हुने भएको छ ।

शनिबार एमाले पार्टी कार्यालयमा बसेको राष्ट्रिय युवा संघ नेपाल गुल्मीको पदाधिकारी बैठकले अधिवशेसनको मिति तय गरेको हो । राष्ट्रिय युवा संघ नेपाल गुल्मीका अध्यक्ष सुरेश भण्डारीका अनुसार अधिवेशनलाई भव्य बनाउन ९ माघमा पदाधिकारी, सचिवालय र पालिका कमिटी अध्यक्षहरुको बैठक बस्ने निर्णय भएको छ ।

अधिवेशनको लागि प्रतिवेदन लेखन, प्रतिनिधी व्यावस्थापन, आर्थिक परिचालन, प्रचारप्रसार, मञ्च तथा हल व्यावस्थापन, साँस्कृतिक र अतिथी सत्कार उपसमिति गठन गर्ने निर्णय पनि बैठकबाट भएको अध्यक्ष भण्डारीले जानकारी दिए । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीका अध्यक्ष सुरेश भण्डारीको अध्यक्षता रहेको बैठकमा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, प्रेस चौतारी नेपालका पुर्व अध्यक्ष राजेन्द्र अर्याल लगायतको उपस्थिती रहेको थियो ।