Saturday, June 6, 2026

गुल्मीको स्वास्थ्य क्षेत्रमा मालिका प्रथम

0

भदौ २६,२०७९ गुल्मीः गुल्मीको मालिका गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जिल्ला भरका पालिका मध्ये मालिका गाउँपालिका उत्कृष्ट घोषणा गर्दै सम्मान पत्र प्रदान गरेको छ ।

पालिकाले स्वास्थ्य क्षेत्रमा गरेका गतिविधिको आधारमा मुल्यांकन गर्दा मालिका गाउँपालिका प्रथम,छत्रकोट गाउँपालिका द्वितीय र मुसिकोट नगरपालिका तृतीय भएको स्वास्थ्य कार्यालय गुल्मीका स्वास्थ्य निरिक्षक बोम अर्यालले जानकारी दिए ।

दुई दिन सम्म जिल्लाको सत्यवती गाउँपालिका ८ भार्सेमा चलेको समिक्षा गोष्ठिमा पालिकाको कार्य प्रगतिको बारेमा समिक्षा समेत गरिएको थियो ।

गुल्मीमा चितुवा र युवाको भिडन्त : चितुवाको मृत्यु, युवा घाइते

0
फाइल फोटो

हुमाकान्त पोखरेल
भदौ २६,२०७९ गुल्मीः गुल्मीमा चितुवा र युवाको भिडन्त भएको छ ।

भिडन्तमा परी चितुवाको मृत्यु भएको छ भने युवा घाइते भएका छन् । रेसुङ्गा नगरपालिका –६ निन्नुचौरस्थित ३० बर्षिय यम बहादुर कुँवरको आइतबार बिहानै करिब पाँच मिनेटजति चितुवासँग भिडन्त भएको हो ।

घर नजिकै रहेको खोरमा कुखुरा मरेको देखेपछि कुँवर कुखुरा हेर्न भनी खोरमा पुगेका थिए । त्यत्तिबेला खोरभित्र रहेको चितुवाले उनलाई आक्रमण गर्न थालेपछि कुँवर प्रतिकारमा उत्रिएका थिए । घाइते कुँवरलाई चितुवाले शरिरको विभिन्न भागमा चिथोरेको छ । उनको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य अवस्था भने सामान्य छ । चितुवाले खोरमा रहेका साना–ठुला गरी सयभन्दा बढी बोइलर कुखुरा मारेको छ । अहिले घटनास्थलतर्फ प्रहरी र जिल्ला बन कार्यालयको समुह पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधवराज खरेलले खबरमार्केटलाई जानकारी दिए ।

झाँक्री गुल्मी –२ को लागि सर्वसम्मत सिफारिस

0
फाइल फोटो

भदौ २६,२०७९ गुल्मीः एकीकृत समाजवादी, गुल्मीले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गुल्मी क्षेत्र नम्बर २ को लागि पार्टीका केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई सिफारिस गरेको छ ।

समाजवादीको शनिबार सदरमुकाम तम्घासमा सम्पन्न बैठकले सर्वसम्मत झाँक्रीलाई संघीय निर्वाचन क्षेत्रको उम्मेदवारका रुपमा सिफारिस गरेको पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य राममल्ल ठकुरीले जानकारी दिए ।

‘गठबन्धनबाट झाँक्री कमरेडलाई उठाउदा जित्ने सम्भावना छ ।’ ठकुरीले भने, ‘हामीले जित्नेगरी निर्वाचनको तयारी थालेका छौ ।’

बैठकले पार्टीका संस्थापक अध्यक्ष श्रीराम महतलाई पुन : जिल्ला अध्यक्षको जिम्मेवारी दिएको छ ।

पार्टी अध्यक्ष नरेश भण्डारी एमालेमै फर्केपछि एकीकृत समाजवादीले महतलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

रेसुङ्गा क्याम्पसका नौ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

0

हुमाकान्त पोखरेल
गुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य अवकास दिएको छ । शनिबार बसेको संचालक समितिको बैठकले दुईजना कर्मचारी र सात प्रध्यापकलाई अवकास दिएको हो ।

क्याम्पस चरम आर्थिक संकटमा परेपछि गत साउन ३० गते आर्थिक संकटकाल घोषणा गरिएको थियो । त्यसपछि भदौ १२ एक सूचना गर्दै स्वैच्छिक अवकाश लिन चाहेमा आशय पत्र दिन संचालक समितिले आह्वान गरेको थियो । जसमा १३ जनाले स्वेच्छिक अवकास लिन चाहेका थिए । तर संचालक समितको बैठकले नौ जनालाई मात्रै अवकास दिएको हो ।

समितिले सह–प्राध्यापक चन्द्रकान्त पन्थी, उप–प्रध्यापकहरु ढुण्डीराज पोखरेल, अशोक कुमार पाण्डे, विष्णुकान्त पन्थी, लक्षमण रिजाल, पदम प्रसाद पाण्डे र गोविन्द गौतमलाई अवकाश दिएको छ । त्यस्तै कर्मचारीमध्ये स्टोरमा कार्यरत पिताम्बर मरासिनी र लाइब्रेरीयन लोकनाथ गौतमलाई पनि अवकाश दिइएको छ । अवकास पाएकामध्ये उप–प्रध्यापक रिजाल, पाण्डे र गौतमले भने स्वैच्छिक अवकास लिन चाहेका थिएनन् ।

त्रिभुवन विश्वविद्यालयको नियमअनुसार १० जनाभन्दा कम विद्यार्थी भएमा कक्षा चलाउन नपाइने भएकोले विद्यार्थी सङ्ख्या कम भएका कक्षाका प्रध्यापकलाई अवकाश दिइएको संचालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले बताए । अवकास दिइएका प्रध्यापक र कर्मचारीको उपदान र उपचार कोष बापतको रकम करिब पौनो दुई करोडभन्दा धेरै छ ।

उक्त रकम यसै आर्थिक बर्षको असार मसान्तसम्म किताबन्दीमा उपलब्ध गराइने निर्णय गरिएको छ । समितिले क्याम्पसका प्रध्यापक तथा कर्मचारीलाई कुनै पनि संघ–संस्थाको प्रमुख र पदाधिकारीमा बस्न नपाउने समेत निर्णय गरेको छ । क्याम्पसले गत पौषदेखि हालसम्म कर्मचारी र प्रध्यापकलाई पारिश्रमिकबापतको एक करोड ५८ लाखभन्दा बढी रकम दिन सकेको छैन ।

एकिकृत समजवादी गुल्मीको अध्यक्षमा श्रीराम महत चयन

0

गुल्मी, भदौ २५ । नेकपा एकिकृत समाजवादी गुल्मी जिल्ला पार्टीको अध्यक्षमा पुनः संस्थापक अध्यक्षलाई नै शनिवारको बैठकले अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

संस्थापक अध्यक्ष श्रीराम महत बुटवलमा गएको बेला अध्यक्ष बनाईएका नरेश भण्डारी केहि दिन अघि नेकपा एमालेमा फर्किएका थिए । अन्ततः शनिबार सदरमुकाम तमघासमा बसेको सो पार्टीको बिस्तारित बैठकले महतलाई नै पार्टी अध्यक्षमा चयन गरेको हो ।

उनले एकिकृत समाजवादी पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्ने प्रतिबद्धता जनाए । त्यस्तै वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानका केन्द्रिय सदस्य प्रमेश पोखरेलाई गुल्मी जिल्लाको ईन्चार्जको जिम्मेवारी दिनका लागि केन्द्रमा सिफारिस गरिएको जनाईएको छ ।
सह–ईन्र्चाज भने गणेश बिश्वकर्मा नै रहेका छन् । पार्टी उपाध्यक्ष राम मल्ल ठकुरीका अनुसार शनिबार नेकपा एमाले परित्याग गरी ३१ जना कार्यकर्ता एकिकृत समाजवादीमा प्रवशे गरेका छन् ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी सो पार्टीका लुम्बिनी प्रदेश ईन्चार्ज भागवत बिश्वासले आफ्नो पार्टी गठनको एक बर्ष नपुग्दै देश ब्यापी जनलहर बढेको बताउँदै कार्यकर्ताहरुलाई कत्ति बिचलित नभई अगाढी बढ्न निर्देशन दिएका थिए । बैठकलाई पार्टी सचिव तथा पुर्वमन्त्री रामकुमारी झाँक्रीले पनि सम्बोधन गरेकी थिईन् ।

बाढी पहिरोमा मृतक पाँच जनाको सनाखत, अझै सात जना बेपत्ता

0

भदौ २५,२०७९ : दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन्। बाढी पहिरोमा परी सातजना अझै बेपत्ता छन्। बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन्।

बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीकी ३५ वर्षीया मानमति कार्की तथा नौगाड गाउँपालिका–१ की ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ४५ वर्षीय मोहनराम पार्की रहेको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताए।

पहिरोमा परी नौगाड–४ का रामसिँह ठगुन्ना, विरा ठगुन्ना, फागुली ठगुन्ना र जयवहादुर ठगुन्ना घाइते छन्। उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेर अघि कैलालीको धनगढी लगिएको सहायक प्रजिअ साउदले जानकारी दिए।

जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारैजनालाई धनगढी लगिएको बताए।

यस्तै, बाढी पहिरोमा बेपत्ता महाकाली नगरपालिकाको लास्कु र डुङरीका सात जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजि गरिरहेका छन्।

बेपत्तामा महाकाली–३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरु दीपक र दिनेश तथा अन्य चारजना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। थाहाबाट

पहिरोमा पुरिएर दुईजनाको मृत्यु, ११ बेपत्ता

0
फाइल फोटो

भदौ २५,२०७९धनगढी : दार्चुलामा गए रातिदेखिको वर्षाले ठूलो जनधनको क्षति गरेको छ। जिल्लाको नौगाड गाउँपालिकामा पहिरोमा एक महिलाको मृत्यु भएको छ।

नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परी ३० वर्षीया किम्ती ठगुन्ना र पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको मृत्यु भएको हो। बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले जानकारी दिए।

शुक्रबार राति एक बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको उद्धार गरिएको छ।

यस्तै नौगाड गाउँपालिका २ दल्लेखका ६० वर्षीय मोहनराम पार्की बेपत्ता छन्। पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको घाइते अवस्थामा उद्धार गरिएको छ। नौगाडमा पहिरोमा केही मानिस बेपत्ता भएको आशंका गरिएको छ।

यता, दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार करिब डेढ दर्जन घर बगेका छन्। अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको पाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत मगरले जानकारी दिए।

उद्धार र खोजी जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको उनले बताए। घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।

लुम्बिनीमा आज भारी वर्षा

0
फाइल फोटो

भदौ २५,२०७९काठमाडौं : उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ।

वागमतीसहित सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।

दिउँसो केही समय रोकिने र साँझ फेरि वर्षा हुने अनुमान छ। पौडेलले मनसुनको समय भएकाले बिहान र साँझपख वर्षा हुने र दिउँसो रोकिने क्रम रहने बताए।

उनका शनिबार बागमती र लुम्बिनीमा भारी वर्षा हुनुका साथै देशभरका पहाडी भू(भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

जलाशययुक्त आयोजना निर्माण गर्दा बहुआयामीक फाइदालाई ध्यान दिइन्छ : मन्त्री भुसाल

0

भदौ २५,२०७९ ललितपुर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलाशयुक्त आयोजनाबाट प्राप्त हुने तल्लो तटीय लाभसहित बहुआयामिक फाइदाका विषयलाई सरकारले विशेष ध्यान दिने बताउनुभएको छ । जलाशययुक्त आयोजना रणनीतिक तवरले अगाडि बढाउने बताउँदै उहाँले पानीको अधिकारका विषयमा कुनै आशङ्का नगर्न आग्रहसमेत गर्नुभयो ।

जलस्रोत विकास संस्थाले जलविद्युत्को विकासका रणनीतिक आयामबारे आज आयोजना गरेको छलफलमा मन्त्री भुसालले भन्नुभयो, “पानीको तल्लो तटीय अधिकारको विषयलाई कसैले पनि छोडेको छैन, पानीको हरेक अधिकारका लागि हामी सचेत छौँ ।

यसमा कसैले पनि शङ्का नगरौँ ।” सबै राजनीतिक दल र जलस्रोत क्षेत्रका जानकारहरू एक भएर देशको हितमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “देश र जनताको हितमा लागौं, अरुलाई औंला ठड्याएर आफू मात्र राष्ट्रवादी बन्ने संस्कार त्यागौँ ।” मन्त्री भुसालले लगानी बोर्डले अगाडि बढाएको पश्चिमसेती र एसआर–६ आयोजना निश्चित समयभित्र मुख्य कार्यहरू सम्पन्न गर्नुपर्ने समयसीमा सहित अध्ययनका लागि मात्र समझदारी गरिएको स्पष्ट पार्नुभयो ।

निरन्तर बगेर गएको पानी प्रयोग गरेर देशको ऊर्जा आवश्यकतालाई पूरा गर्ने र बढी भएको विद्युत बिक्री गरेर विदेशी मुद्रा आम्दानी गर्न सकिने अवस्था सिर्जना भएको उल्लेख गर्दै उहाँले देशको व्यापारघाटा कम गर्न सक्ने विश्वासिलो क्षेत्र भनेकै ऊर्जा नै हो भन्नुभयो ।

प्राकृतिक स्रोतको अधिकतम सदुपयोग हुने गरी पछिल्लो समय आर्थिक तथा प्राविधिक विषयलाई समेत विश्लेषण गरेर केही नीति परिवर्तन गरिएको जानकारी दिँदै मन्त्री भुसालले भन्नुभयो, “विद्युत विकासका लागि नदी प्रवाहीमा आधारित आयोजनाको लाइसेन्स लगभग सकिएको छ, छ हजार चार सय मेगावाटको विद्युत खरिद सम्झौता भएको छ ।

हरेक थोपा पानी बिजुलीको युनिट हो भन्ने मान्यताका साथ देशको साधन र स्रोतको अधिकतम प्रयोग गर्नुपर्छ । त्यसैले पछिल्लो पटक हामीले डिजाइन डिस्चार्जमा कायम गरीएको सीमा खुला गर्ने ९क्यू फ्रि० नीति लिएका छौँ ।”

वर्षातमा विद्युत खेर जाने र हिउँदमा भारतबाट आयात गर्नुपर्ने अवस्था अझै कायम रहेको उल्लेख गर्दै मन्त्री भुसालले आफूले ऊर्जा मन्त्रालय संहालेपछि ऊर्जा सुरक्षा र गुणस्तरीय विद्युतका लागि जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग कुलेखानी बाहेक अरु जलाशययुक्त आयोजना छैन ।

निरन्तरको प्रयासपछि दूधकोशी आयोजना निर्माणको अन्तिम तयारीमा छ । लोड सेन्टरमा रहेको बुढीगण्डकी एक हजार दुई सय मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ ।”

कार्यक्रममा नेकपा९एमाले०का नेता एवं पूर्वमन्त्री भीम रावलले देशको साधनस्रोतलाई राज्यको हितमा उपयोग गर्नुपर्नेमा जोड दिँदै सन्धी सम्झौता हुँदा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले विगतमा भएको सम्झौताको अधिकारलाई सही सदुपयोग गरेर अगाडि बढ्न सुझाउनुभयो ।

त्यसैगरी पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले भारतलाई बिजुलीभन्दा पनि सिँचाइका लागि पानी आवश्यकता रहेको उल्लेख गर्दै त्यस विषयमा नेपालले गहिरो अध्ययन गरेर फाइदा लिनुपर्नेमा जोड दिनुभयो । तल्लो तटीय फाइदाका विषयमा पनि नेपालले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा जलस्रोतका जानकार सूर्यनाथ उपाध्यय र इन्जिनियर प्रकाश गौडेलले जलस्रोतको अधिकतम विकास र त्यसबाट प्राप्त गर्ने फाइदाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँहरूले राज्यको स्रोत र साधनलाई उपयोग गर्दा सरकारले विशेष ध्यान दिनुपर्नेतर्फ सुझाव दिनुभयो

मुसिकोट १ मा पनि बालेन स्टाइल प्रवेश

0

सागर भण्डारी
भदौ २४,२०७९ गुल्मी : सार्वजनिक स्थल अतिक्रमण गरेर निर्माणका सामाग्रीहरु नराख्न मुसिकोट नगरपालिका वडा नं १ वडा कार्यालयले अनुरोध गरेको छ ।

वडा समितिको भाद्र २३ गते सम्पन्न बैठकको निर्णय बमोजिम सार्वजनिक स्थल र सडक अतिक्रमण गरेर सामाग्री नराख्न र त्यस्ता सामाग्रीहरु राखेको भए एकहप्ता भित्र हटाउन अनुरोध गर्दै वडा कार्यालयले शुक्रवार एक सार्वजनिक सूचना जारी गरेको छ ।

वडा अन्तरगत रहेका गोरेटोबाटो, मोटरबाटो तथा अन्य सार्वजनिक स्थलमा ढुगां,गिट्टी,बालवा,काठपात,कवाडी सामाग्री लगायत अनाधिकृत तवरले सवारी साधन समेत पार्किङ गर्ने र जसले दुर्घटना निम्त्याउन सक्ने भएकाले यस्तो निर्णय गरिएको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले जानकारी दिए ।

वडाध्यक्ष घिमिरेका अनुसार यदी त्यस्ता सामाग्री राखेको भए ७ दिनभित्र हटाउन आग्रह गरिएको र सुचनालाई वेवास्ता गरी सामाग्रीहरु नहटाएमा कानुनी कारबाही थाल्ने तयारी वडाले गरेको छ ।

वडा कार्यालयले घर,गोठ,मठ मन्दिर,भवन लगायतका अन्य संरचना निर्माणका लागि सडकको पहुँच नपुगेका कारण सार्वजनिक स्थानमा निर्माणका सामाग्री राख्नै पर्ने भए वडा कार्यालयको स्वीकृति लिएर राख्न पनि अनुरोध गरिएको छ । वडाको स्वीकृति लिएर केही समयको लागि भने भण्डारण गर्न पाउने व्यवस्था गरिएको वडाध्यक्ष घिमिरेले बताए ।