Friday, June 5, 2026

इस्मामा रक्तदान कार्यक्रम : ३० युनिट रगत संकलन

0

हुमाकान्त पोखरेल
असोज १६,२०७९ गुल्मीः ‘रक्तदान गरौँ, जिवनदान दिऔँ’ भन्ने नाराका साथ विजयादशमीको अवसरमा इस्मा गाउँपालिकामा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

शनिबार इस्मा गाउँपालिका वडा नम्बर ३ दर्लामचौर र द भिस्क्टोरियस युवा क्लव, दर्लामचौरको आयोजना तथा विभिन्न संघ–संस्थाको सहयोगमा दर्लामचौरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमबाट ३० युनिट रगत संकलन गरिएको नियमित रक्तदाता संघ, रुपन्देहीका उपाध्यक्ष लेकनाथ भण्डारीले जानकारी दिए ।

 

संकलन गरिएको रगत बुटबलस्थित रक्तसंचार केन्द्रमा लैजाने र त्यहाँबाट आवश्यकताअनुसार विभिन्न अस्पतालका बिरामीहरुलाई प्रदान गर्ने भण्डारीले बताए । त्यसका साथै भण्डारीले बुटबलमा रहेका इस्माली नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउनेतर्फ पालिकाको ध्यानाकर्षण गराएका थिए । इस्मा गाउँपालिकाका अध्यक्ष भगत खड्का, उपाध्यक्ष पार्वती कुँवर, समाजेवी बिमल घिमिरे लगायत स्थानीयले रगत दिएका थिए ।

 

कार्यक्रममा नेपाल नियमित रक्तदाता संघ, रुपन्देही, उज्यालो बहुउदेश्यीय सहकारी संस्था, गुल्मी, जिसी ब्रदर्श कन्स्ट्रक्सन प्रालि, छल्दी स्पोर्ट क्लव, रक्तसञ्चार सेवा केन्द्र, दर्लामचौर उप–शाखाको नेपाल रेडक्रस सोसाइटी, इस्मा तेक्वान्दो दोजाङ, ग्यालेक्सी कृषी तथा पशुपक्षीं फर्म र इस्मा रजस्थल प्रगतिशिल युवा क्लवको सहयोग रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि इस्मा गाउँपालिका अध्यक्ष खड्काले गाउँमै रक्तदानसम्बन्धि चेतनामुलक ढंगले रक्तदान कार्यक्रमको आयोजना गरेकोले सहयोगी संस्थाहरुलाई धन्यवाद् दिए । उपाध्यक्ष पार्वती कुँवरले रक्तदानको कुनै मुल्य नहुने भएकोले गाउँमै रक्तदान कार्यक्रम संचालन गर्नु आफैमा चुनौतिपूर्ण रहेको बताइन् ।

वडाध्यक्ष ज्योतिराज कुँवरले रक्तदान कार्यक्रमले अधिकाशंमा रगत दिए कमजोरी भइन्छ भन्ने सोच हटेको बताए । उनले कार्यक्रममा सहजिकरण गर्ने विभिन्न संघ–संस्थालाई धन्यवाद दिए । रक्तदान कार्यक्रमका अभियान्ता भरत जंग क्षेत्रीले अस्पतालमा रगत अभावका कारण कुनै बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले लुम्बिनी प्रदेशका विभिन्न पालिकाहरुमा रक्तदान कार्यक्रमको अयोजना गरिएको बताए ।

गठबन्धनको विकल्प छैन : पूर्वमन्त्री झाँक्री

0

हुमाकान्त पोखरेल
असोज १५,२०७९ गुल्मीः नेकपा एकीकृत समाजवादीकी सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले गठबन्धनको विकल्प नभएको बताएकी छिन् ।

शनिबार गुल्मीको धुर्कोट गाउँपालिकामा एकीकृत समाजवादीको विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री झाँक्रीले विकास र समृद्धिको लागि गठबन्धनको विकल्प नभएको बताएकी हुन् । नेतृ झाँक्रीले निर्वाचनपछि पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरिन् ।

 

‘आगामी मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धनले जित्दैछ ।’ उनले भनिन्, ‘निर्वाचनपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउँछ ।’ गुल्मी क्षेत्र नम्बर २ मा लामो सयमसम्म गोकर्ण विष्टले जितेपनि विकास नगरेकोले अब परिवर्तन खोज्नको लागि नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताइन् ।

त्यसका साथै उनले अब चुनाव प्रचार–प्रसारमा लाग्न पार्टीका नेता–कार्यक्रताहरुलाई निर्देशन दिइन् । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रमेश पोखरेलले अब उत्पादन गरी आत्मनिर्भर बन्नतर्फ सबै लाग्नुपर्ने समय आएकोले त्यसको लागि गठबन्धन आवश्यक रहेको बताए । कार्यक्रमकै अवसर पारि पार्टीले युवा संघको गाउँ कमिटीको गठन गरेको छ ।

ढालेन्द्र नेपालीको संयोजकत्वमा ५१ सदस्यिय राष्ट्रिय युवा संघ एवम् तुल्सीराम कुँवरको संयोजकत्वमा पार्टीको जैसिथोक गाउँ कमिटी गठन गरेको छ । कार्यक्रममा केन्द्रीय सदस्य तथा सह–इन्चार्ज गणेश विश्वकर्मा, जिल्ला अध्यक्ष श्रीराम महत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम रामकुमार विष्टको अध्यक्षता एवम् चन्द्र सुनारको संचालनमा सम्पन्न भएको थियो ।

३० हजार नाघ्यो डेंगुका बिरामीको संख्या

0

असोज १५,२०७९ काठमाडौं : नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि उक्लिएको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता डेंगु संक्रमितको संख्या बढेको हो।

 

हाल देशभर ३० हजार १८६ जना डेंगुका बिरामी रहेको मन्त्रालयले जनाएको छ।

डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ। यो संख्या नेपालमा डेंगु देखिए यताको सर्वाधिक हो।

प्रेस सेन्टर नेपालद्वारा निर्वाचन आयोगलाई संयन्त्र निर्माणको निर्णय सच्याउन आग्रह

0

असोज १५,२०७९ काठमाडौं :प्रेस सेन्टर नेपालले आगामी मंसिर ४ गते देशैभर एकै चरणमा हुन गइरहेको संघीय र प्रादेशिक निर्वाचनको सन्दर्भमा आमसञ्चारमाध्यममा सम्प्रेषण भएका सामग्रीका विषयमा निर्वाचन आयोग आफैले सेना प्रहरीसमेतको प्रत्यक्ष सहभागीतामा अनुगमन गर्ने भनी संयन्त्र निर्माण गरेको विषयप्रति गम्भीर आपत्ती प्रकट गरेको छ ।

संगठनका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै आयोगको उक्त रबैयाले प्रेस स्वतन्त्रता र मौलिक हकमाथि नै प्रहार भएको भन्दै उक्त निर्णय सच्याउन चेतावनी दिएका छन् ।

विज्ञप्तिमा पौडेलले यदि निर्वाचन आयोगले आफ्नो निर्णय नसच्चाएमा सम्पूर्ण प्रेस जगतलाई एकतावद्ध भएर त्यसको विरोध गर्न र निर्णयको अवज्ञा गर्न अपिल पनि गरेका छन् ।

हेरौ विज्ञप्तिको पूर्ण पाठ ।

प्रेस विज्ञप्ति

आगामी मंसिर ४ गते देशैभर एकै चरणमा हुन गइरहेको संघीय र प्रादेशिक निर्वाचनको सन्दर्भमा आमसञ्चारमाध्यममा सम्प्रेषण भएका सामग्रीका विषयमा निर्वाचन आयोग आफैले सेना प्रहरीसमेतको प्रत्यक्ष सहभागीतामा अनुगमन गर्ने भनी संयन्त्र निर्माण गरेको विषयप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रेस सेन्टर नेपाल पूर्ण प्रेस स्वतन्त्रता, कानुनी राज्य, नागरिक विचार तथा अभिव्यक्ति स्वतन्त्रतासहित मौलिक हकको पूर्ण र व्यावहारिक कार्यान्वयन तथा राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति दृढ संकल्पित छ । संविधानमा ग्यारेण्टी गरिएको नागरिकको विचार र अभिव्यक्ति स्तन्त्रता तथा राज्यको चौंथो अंगको रूपमा सम्मानित पत्रकारिता जगतमाथि सैन्य वा अन्य कुनै किसिमले अंकुश लगाउने कार्य कुनै पनि लोकतान्त्रिक व्यवस्थामा सम्भव हुँदैन । जुनसुकै नाम र वहानामा प्रेसमाथि सैन्य हस्तक्षेप गर्न खोज्नु तानाशाही कार्य हो । प्रेस सेन्टर नेपाल यसको घोर विरोध र भर्त्सना गर्दछ ।

सञ्चारमाध्यममा सम्प्रेषण भएका सामग्रीको अनुगमन र नियमन अदालत र स्वअनुगमन प्रणाली अन्तर्गतका स्वतन्त्र संरचनावाट मात्र गर्नुपर्छ भन्ने प्रेस सेन्टरको मान्यता रहँदै आएको छ । यसअघिको स्थानीय निर्वाचनमा निर्वाचन आयोग आफैले सञ्चार माध्यम र पत्रकारले प्रवाह गरेका सामग्री नियमन गरेको घटनाप्रति नेपाली प्रेस क्षेत्रले गम्भीर असहमति जनाइसकेपछि त्यसमा सुधार गर्नुको साटो निर्वाचन आयोगले सेना र प्रहरीसहितका निकायलाई सामेल गरेर प्रेसको नियमन गर्न खोज्नु प्रेस स्वतन्त्रतामाथिकै गम्भीर आक्रमण हो ।

निर्वाचन आयोग आफैले क्षेत्राधिकारभन्दा बाहिर गएर सेना र प्रहरी सम्मिलित संयन्त्र निर्माण गरी अनुगमन गर्ने कार्य तत्काल सच्चाउन जोडदार माग गर्दछौ । साथै पत्रकारिता क्षेत्रको सहभागिता र स्विकृतिमा आचार संहिता निर्माण गर्न र स्वअनुगमन प्रणाली अन्तर्गत स्वतन्त्र संरचना निर्माण गरेर अनुगमन कार्य अघि बढाउन आग्रह गर्दछौ । यदि निर्वाचन आयोगले आफ्नो निर्णय नसच्चाएमा सम्पूर्ण प्रेस जगतलाई एकतावद्ध भएर त्यसको विरोध गर्न र निर्णयको अवज्ञा गर्न आग्रह गर्दछौ ।

स्वर्ग जाने बाटो ,धुर्कोटको विचित्र गुफा

0

हुमाकान्त पोखरेल
असोज १५,२०७९ गुल्मी : हिन्दु धर्मअनुसार जीवनमा राम्रो काम गर्ने व्यक्ति मृत्युपश्चात स्वर्गमा जान्छ । जीवनमा नराम्रो काम गर्ने व्यक्तिको लागि मृत्युपछि पछि स्वर्गको ढोका बन्द हुन्छ । स्वर्ग जाने बाटो भने गुल्मीको धुर्कोट गाउँपालिका –५ वस्तुमा रहेको छ ।

 

स्वर्ग जाने बाटोमा प्राकृतिक रुपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रुपमा देख्न सकिन्छ । स् करिब २३ वटाजति प्राकृतिक रुपमा उत्पत्ति भएका शिवलिङ्ग छन् । धार्मिक हिसाबमा शिवलिङ्गको अत्यन्तै महत्व रहेको छ । हात्तीको उक्त शरीर र शिवलिङ्ग हुँदै पुगिने ठाउँलाई ‘स्वर्ग’ नामाकरण गरिएको छ ।

 

त्यसैले उक्त स्वर्ग जाने बाटोबाट धर्मात्माहरु मात्र छिर्न सक्ने र पापी मानिसहरु छिर्न नसक्ने धार्मिक मान्यता रहेको छ । स्वर्गमा पुगिसकेपछि सेतो रङ्गको शिवलिङ्ग, विभिन्न भगवानहरुको तस्विर र गोही लगायतको प्राकृतिक रुपमै उत्पत्ति भएको तस्विर देख्न सकिन्छ ।

वस्तुको कमलावनमा १८५ मिटर लामो विचित्र गुफा छ । सोही गुफाभित्र रहेको ‘स्वर्ग जाने बाटो’ निकै आकर्षक र धार्मिक हिसाबले महत्वपूर्ण छ । स्वर्ग जाने बाटो पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । अर्थात त्यसदेखि अगाडि कुनै पनि दृश्य नभएकोले पनि उक्त स्थललाई विचित्रताको अन्तिम दृश्यको रुपमा लिने गरिएको गुफासम्बन्धि जानकार एवम् हिमालय माविका प्रध्यानाध्यापक कृष्णप्रसाद भण्डारीले बताए ।

ढेंडुबाँदर लखेट्दा फेला परेको थियो गुफा
ढेंडुबाँदर लखेट्दा ०४५ साल असार ५ गते गुफा पत्ता लागेको थियो । गाउँको बारीमा मकै खान गएको ढेंडुँबाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले बाँदर एकाएक पहराको बीचमा रहेको सानो प्लाबाट भित्र पसेको देखे । पछि के को प्वाल रहेछ भनि हेर्न जाँदा गुफा पत्ता लागेको हो । गुफा पत्ता लागेपछि सुरुमा साविकको वस्तु गाविसकै १०÷१२ जना व्यक्तिहरु हातमा राँका (आगोको मुस्लो) र लाइट बालेर गुफाभित्र सामूहिक रुपमा छिरेका थिए । गुफा पत्ता लाग्दा मोटा र लामा रुखका जरा एवम् अन्य लहरामा करिब १० मिटर माथिसम्म झण्डिएर जानुपथ्र्यो । बस्तीदेखि केही तल ख¥यानमा रहेको गुफामा त्यहाँका बुढापाका जाने बिषय त्यत्ति सहज थिएन । अनकन्टार ठाउँ, त्यो पनि ओढारभित्र, हिंस्रक जनावरहरुको प्रवाह नगरी पुरै लम्बाई चाहारेर फर्केका व्यक्तिहरुले गुफाभित्र अनेक विचित्र वस्तुहरु देखेको आधारमा गुफाको नाम नै ‘बिचित्र गुफा’ रहन गएको हो ।

पाचँ सय जना अटाउने सभाहल
बिचित्र गुफामा पाँच सय जना अटाउने स्थानलाई सभाहल भनिएको छ । सभाहलको माथि पट्टिको सिलिङ्गमा विभिन्न आकृतिका कलात्मक बुट्टा र बुट्टाहरुको बिचमा रातोमाटोले पोतेर सफा गरेको मण्डप छ । शिवलिङ्ग सहितको मन्दिर, राम र कृष्णको प्रतिक, विभिन्न नागहरुको आकृति, गोपीकृष्ण, जटायु, श्रीपेच लगायतका आकृतिहरुले गुफालाई झन मनमोहक बनाएको छ । गुफामा फेला परेका आकृतिलाई नरसिंहवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिङ्ग लगायत नामाकरण गरिएको संरक्षक भानुभक्त भण्डारीले बताए । गुफाभित्र पारदर्शी ढुङ्गा, शिवलिङ्ग, गाइका थन र निकै कलिला चट्टानहरु रहेका छन् । गुफामा ११ कक्ष रहेका छन् भने गुफाभित्रको चौडाई फरक–फरक ठाउँमा तीनदेखि ६० फिटसम्म रहेको छ ।

 

गुफाको तल्लो सतह लेसाइलो माटोले बनेको छ । गुफाभित्र रहेका मार्गमध्ये पहिलो मार्गमा दुवैतर्फ कडा चट्टान, छतमा दरार एवम् चुनढुङ्गा, दोस्रो कक्षमा छतमा मण्डपाकार आकृति, तेस्रो कक्षमा नरसिंह अवतारको आकृति, चौथो कक्षमा शेष नागको आकृति, पाँचौ कक्षमा कृष्णले दही पोखेको आकृति रहेको छ । त्यस्तै सातौ कक्षमा अयोध्यापुरीबाट परिचित कक्ष पूजा मण्डप, नवैं कक्षमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदाको रथ र जटायुले माथिबाट आक्रमण गरेको मूर्ति, दशौं कक्षमा पारदर्शक पत्थर एवम् एघारौ कक्षमा गणेशको मूर्ति, रामचन्द्रको धनुषवाण राख्ने शोली लगायतको आकृति रहेको संरक्षक भानुभक्त भण्डारीले राजधानीलाई जानकारी दिए । गुफामा मुख्य ढोकाबाट भित्र पसेपछि पाँचवटा द्वारहरुको प्राकृतिक आकार देख्न पाइन्छ ।

अध्ययन नै हुन बाँकी छ
पर्यटनको हिसाबले निकै महत्वपूर्ण रहेको गुफाले समग्र जिल्लाकै पहिचान बोकेको छ । तर आवश्यक प्रचार–प्रसार एवम् पर्यटनका अन्य पूर्वाधारहरुको ब्यवस्थापन नहुँदा गुफाको पहिचान ओझेलमा परेको छ । गुफाभित्र सजिलै तोडफोड गर्न सकिने तस्विरहरुको संरक्षणमा ध्यान दिने र गुफाको थप लम्बाईबारे अध्ययन गरेमा पर्यटन विकासमा गुफा कोसेढुङ्गा सावित हुने विचित्र गुफा संरक्षण समितिका अध्यक्ष युवराज भण्डारीले बताए । ‘अनुसन्धान भए सम्भवतः नेपालकै ठुलो हुन सक्ने यस गुफाका अझै धेरै कुरा लुकेरै बसेका छन् । अहिलेसम्म गुफाको दुई तलासम्म मात्रै अध्ययन गरिएको छ ।’ भण्डारीले भने, ‘ अन्य तलाहरु र त्यस भित्र भएका छुट्टै सुरुङ्गहरुको उत्खनन् र अनुसन्धान हुन सकेको छैन ।’

केही सुधारका प्रयास
छल्दी खोलादेखि गुफासम्म पुग्नको लागि ४५० मिटर लामो सोलिङ्ग र सिढीँ निर्माण गरिएको छ । सिँढीबाट गुफासम्म पुग्नको लागि करिब १० मिटरको पुल र गुफाभित्र पनि सिँढी निर्माण गरिएको छ । गुफाको नजिकै पिकनिक स्थल र सूचना केन्द्रको नाममा पर्यटकको आवासको लागि भवन समेत निर्माण गरिएको छ । केही दिनअगाडी मात्रै गुफानजिकैबाट राङ्गदलचौरको फेदीसम्म जोड्ने ३७० मिटरको झोलुङ्गे पुलको शिलन्यास गरिएको छ । धुर्कोट गाउँपालिकाले २०८१ लाई पर्यटन बर्षको रुपमा बनाउँदैछ । जसमा गुफा र धुर्कोट कोतलाई प्राथमिकतामा राखिएको पालिका अध्यक्ष भुपाल पोखरेलले बताए । ‘गुफा गाउँपालिकाको भाग्य र भविष्य हो ।’ अध्यक्ष पोखरेलले भने, ‘गुफाको पूर्वाधार र प्रचार–प्रसारमा जोड दिएका छौ ।’

यसरी पुग्न सकिन्छ गुफासम्म
सदरमुकाम तम्घासबाट सेउघा–छल्दी–पनाहा–हुलाके हुदैँ धनार्जेसम्म १८ किलोमिटर पक्की सडकमा पुगिन्छ । त्यसपछि तीन किलोमिटर कच्ची सडक पार गर्दे करिब २५ मिनेटको पैदल यात्रापछि गुफासम्म पुगिन्छ भने धनार्जीबाटै १० मिनेको सवारी यात्रामा गुफासम्म पुग्न सकिन्छ । त्यस्तै बाग्लुङ, प्युठान, मालिका गाउँपालिका लगायतका ठाउँबाट धनार्जीमा पुगेर सवारी वा पैदल यात्राबाट गुफासम्म पुग्न सकिन्छ । सदरमुकाम तम्घासबाट सेउघा–सिमाघाट–जैसिथोक हुँदै वस्तुको शिवालय मन्दिरमा पुग्ने र त्यहाँबाट करिब १० मिनेको सवारी यात्रा एवम् २० मिनेटको पैदल यात्रापछि पनि गुफासम्म पुग्न सकिन्छ ।

 

जीप दुर्घटनामा दुईजनाको मृत्यु

0

असोज १५,२०७९सल्यान : कुमाख गाउँपालिका ७ चिसापानीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

दुर्घटनामा कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

गाउँपािलकाको वडा नं। ७ डुमकोटबाट शारदा नगरपाकिला ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जीप शनिबार बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको हो।

उकालोमा ‘ब्याक’ गर्ने क्रममा दुर्घटना हुँदा जीप सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए

लुम्बिनी प्रदेशको प्रदेश सभामा पहिलो कार्यक्रम (फोटो फिचर)

0

दिवाकर पोख्रेल
असोज १५,२०७९ देउखुरी : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको प्रदेशसभा भवनमा औपचारिक कार्यक्रमको शुरुवात भएको छ ।

 

नव निर्मित भवनमा लुम्बिनी प्रदेशसभाका सदस्यहरुलाई प्रदेश सभा सचिवालयले सम्मान गरेको छ । पाँचबर्षे कार्यकालको अन्तिम चरणमा पुगेपछि चाडपर्वलाई लक्षित गर्दै प्रदेश सभा सचिवालयले सम्मान गरेको हो ।

प्रदेशसभाका सबै सदस्यहरुले सम्मान गर्ने कार्यक्रममा आधा प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रदेशसभाका सदस्यहरुको सम्मान तथा शुभकामना आदान पदान कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाले पाँच बर्षे कार्यकालमा आफ्नै भवनमा प्रदेशसभा बैठक राख्न नसकेपनि प्रदेशसभा भवन निर्माण गर्ने पहिलो प्रदेश बन्दै अन्त्मि कार्यकालमा शुभकामना तथा सम्मान कार्यक्रम राख्न सफल भएकोमा प्रदेश सरकार र प्रदेशसभा सचिवालयलाई धन्यवाद दिनुभयो ।

यस्तै प्रदेश प्रमुख शेरचनले नेपालको जस्तो शासन प्रणाली मूलुकका कुनैपनि मुलकमा नभएको भन्दै शासन प्रणाली र व्यवस्था प्रति अनावश्यक टिप्पणी उपयुक्त नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कहिं कतै राजनीतिक दलहरुले शासन व्यवस्था माथि धावा बोलेको सुनिन्छ,तपाइहरु ढुक्क हुनुस, यो बर्तमान व्यवस्थाको विकल्पमा पुरानै व्यवस्था होइन सम्भव पनि छैन ।’

यस्तै कार्यक्रममा बिशिष्ट अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघस्य लोकतान्त्रिक गणतनन्त्रको लागि हजारौको वलिदान र ठूलो त्यात तपस्या रहेको स्मरण गराउँदै कसैले लहड र रहरमा व्यवस्था परिवर्तनको कुरा गर्नु ठट्टा बाहेक केहि नहने बताउनुभयो ।

लुम्बिनी प्रदेशसभा भवनमा मा भएको यो पहिलो औपचारिक कार्यक्रम हो । स्थायी राजधानी दाङ देउखुरीमा भएको कार्यक्रममा स्थानीयले पनि चासोका साथ लिएका थिए ।

चाडपर्वमा विद्युत सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

0

असोज १४,२०७९ काठमाडौँ :ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडवाडको समयमा विद्युत प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिनुभएको छ ।

 

उहाँले नेपालीका चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारीहरु तिनका परिवार एवं आम जनताको प्रगतिको कामना गर्नुभयो ।

प्राधिकरणका उच्च तहका कर्मचारीलाई आज मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु विदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र अभिछिन्न विद्युत सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, “जनतालाई दिने सेवाप्रति कर्तव्यबोध गर्नुपर्छ । जुनसुकै समयमा सेवाको गुणस्तरीयता घट्नु भएन ।” उहाँले केही बेर पनि विद्युत गयो भने जनतामा निराशा पैदा हुने उल्लेख गर्दै सो हुन नदिन उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

सो अवसरमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरु जस्तोसुकै असहज परिस्थितीमा पनि सेवा लागिरहेको र यस्ता चाडपर्वका समयमा अझै सक्रियता अपनाउन निर्देशन दिनुभयो । कार्यक्रममा विद्युत प्राधिकरणका उच्च अधिकारीको सहभागीता थियो ।

गुल्मीमा १८ जना सडक बालबालिकालाई समाजसेवी थापाको सहयोग

0

सागर भण्डारी
असोज १४,२०७९गुल्मी : गुल्मीमा रहेका १८ जना सडक बालबालिकाहरुलाई समाजसेवी लीलबहादुर थापाले सहयोग गर्नुभएको छ । बाँकेको खर्जुरा गाउँपालिका वडा नं ४ निवासी थापाले गुल्मीका विभिन्न विपन्न एवम् असहाय नागरिकहरुलाई निरन्तर सहयोग गरिरहनुभएको छ ।

 

लामो समयदेखि सडकमा माग्दै हिँड्ने उनीहरुलाई हाल विभिन्न सरोकारवाला निकायको सहयोगमा महेन्द्र माध्यमिक विद्यालयको स्काउट भवनमा मिनी छात्रावासमा व्यवस्थापन गरिएको छ ।

 

उक्त छात्रावासमा बस्ने बालबालिकाहरुलाई न्यानो कपडा र झण्डै १५ दिनलाई खाद्यान्नको व्यवस्थापन गर्ने गरी समाजसेवी थापाले नगद ५५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । उक्त सहयोग रकम थापाले महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयकी सहायक प्रधानाध्यापक लक्ष्मी अर्याललाई एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभएको हो ।

 

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले सबै सरोकारवाला निकायहरु मिलेर सडक बालबालिकाको व्यवस्थापन गरिएको बताए । उनले सरकारको यस कार्यमा जोडिएर अनाथ तथा असहाय बालबालिकाहरुलाई सहयोग रकम हस्तान्तरण गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै उहाँले यस्तै पुण्य काममा जोडिन सबैलाई आग्रह समेत गर्नुभयो ।

रेसुगां नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जिल्लाका स्थानीय तह,शिक्षा समन्वय ईकाई,प्रशासन तथा सुरक्षा निकाय र सम्बद्ध सवै पक्ष मिलेर बालबालिकाहरुको व्यवस्थापन गर्न सफल भएको भन्दै यो पुण्य काममा जोडिएर बालबालिकाहरुको भविष्यका लागि सहयाग गर्नुभएकोमा सहयोगी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सहयोग धेरै थोरै भन्दा पनि यस्ता मनकारी र पवित्र भावना भएका व्यक्तिहरुबाट अरुले पनि सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

शिक्षा विकास तथा समन्वय ईकाई गुल्मीका ईकाई प्रमुख लोकनाथ मरासिनीले निकै दुखका बाबजुद सडकमा वेवारिशे रहेका बालबालिकाहरुको चरित्र निर्माण गरी विद्यालयमा पढ्न पठाउने योजना रहेको भन्दै सहयोग रकम मध्ये नगद १० हजारबाट बालबालिकाहरुलाई न्यानो कपडा र बाँकी रकम ४५ हजारबाट खाजा तथा खानाको व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

सोही अवसरमा शिक्षा विकास तथा समन्वय ईकाई गुल्मीले समाजसेवी थापाले सम्मान गरेको छ । सबैको सहयोग र सद्भावबाट बच्चाहरुको भविष्य उज्जवल बनाउने कार्यमा काँधमा काँध मिलाउनका लागि सहयोग गर्नुभएको भन्दै प्रमुख जिल्ला अधिकारी पौडेल, रेसुगां नगरपालिकाका नगरप्रमुख पन्थी, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अर्जुन रानाभाट लगायतले सम्मान गर्नुभएको हो ।

गुल्मीमा दशैंको मुखमा चहलपहल, व्यापार सोचे जस्तो नभएको व्यवसायीको गुनासो 

0

सूर्य सुनार                                                                     असोज १४, गुल्मी :हिन्दुहरुको महान् चाड बडादशैंको आगमनले गुल्मी लगायत ग्रामीण मुख्य बजारमा चहलपहल बढ्को छ । दशैं पर्वलाई मध्यनजर राखेर आवतजावत गर्नेको चाप र बजारमा किनमेल गर्न आउनेहरुको भिडभाडले चहलपहल बढेको हो । चहलपल बढे पनि विगतको वर्षमा जस्तो व्यापार नभएको व्यवसायीहरुले गुनासो गरेका छन् ।
काम बिशेषले शहर र रोजगारिको लागि बिदेशीएकाहरु दशैंका लागि गाउँ फर्कने क्रमले सुनसान बनेका ग्रामीण बस्तीमाहरु पनि यतिबेला चहलपहल बढेको छ । “चाडपर्वमा नयाँ कपडा लगाउनु पर्छ मिठो खानु पर्छ भन्ने” मान्यताले बजारमा किनमेल गर्नेहरुको भिडले बजारमा चहलपहल बढेको छ । वडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने मान्यताले पनि ग्रामीण क्षेत्रमा चहलपहल बढेको हो ।
दशैं मनाउन तथा किनमेल गर्न आउनेहरुको भिडले गुल्मीको सदरमुकाम तम्घासमा पनि भिडभाड बढेको छ । तम्घास बजारका बिभिन्न पसलहरुमा किनमेल गर्नेहरुको भिड बढेको छ । चाडपर्व सँगै किनमेल गर्न आउनेहरुले गर्दा तम्घास बजारका बिभिन्न व्यासायीहरु खुसी छन् । तर विगतको वर्षमा जस्तो यस वर्ष चहलपल भए पनि व्यापार कम भएको व्यवसायीहरुले गुनासो गरेका छन् ।
दशैंले बिद्यालयहरु पनि बन्द भएकाले ग्रामीण सडकमा यात्रुको चाप बढेको छ । चाडपर्व मनाउन लामो समयसम्म देश तथा प्रदेशमा रहेका आफन्तहरु घर फर्किने गर्नाले सडकमा चाप वढन थालेको हो ।
दशैं पर्वलाई मध्य नजर राखेर जिल्लाका स्थानीय तहहरुले ग्रामीण भेगका कच्ची सड्कहरु मर्मत गरिरहेको छ । वर्षातको पानीले बिग्रिएका सडकहरु मर्मत गर्नाले यात्रुहरुलाई सहजरुपमा गनतब्यमा पुग्न सजिलो हुनेछ ।
पर्वलाई लक्षित गरेर जिल्लामा ५ ठाउँ यात्रु सहायता कक्ष पनि स्थानपना भएका छन् । यात्रुहरुको सहजताको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीले बसपार्क , जीपपार्क, रिडि, श्रृङ्गा र देउराली क्षेत्रमा यात्रु सहायता कक्षहरु रहेका छन् । यात्रुहरुलाई सुरक्षित तरिकाले गनतव्यमा पुग्न सहजता ल्याउन सहायता कक्षले सहयोग गर्ने उदेश्य राखिएको छ ।