आज राति १०:४५ बजे उल्का वर्षा हुने

0
420

कात्तिक ४,२०७७ काठमाडौं : हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षाको गतिविधि आज राति अत्याधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्का वर्षा हुन्छन् । हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारीएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्का वर्षा हुने गर्छ ।

आजको उल्का वर्षाको स्रोत मृगशिरा ओरायन तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्कावर्षा ओरियनिड मिटियर सावर नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
अक्टोबर २ देखि आफ्नो सक्रियता देखाउने यो उल्का वर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ ।

उल्कावर्षाको अत्याधिक सक्रिय गतिविधि स्थानीय समयअनुसार अक्टोबर २० राति १०ः४५ देखि नै शुरु भई अक्टोबर २१ को बिहान ५ः४५ बजेसम्म देख्न सकिनेछ । उल्कावर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम मानिन्छ ।
अत्यधिक उल्कावर्षाको बेला प्रतिघण्टा १५ वटासम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किमीसम्म हुने भएकाले करिब ७० किमीमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने पनि उनले बताए ।

SHARE