मालिकामा व्यवसायीक ऋणको लागि ब्याज अनुदान

0
320
मालिका गाउँपालिकाको तस्विर :तिलाचन पाण्डे

रमेश विश्वकर्मा
भदौ २८,२०७७ गुल्मी : गुल्मी जिल्लाको एक स्थानीय तहले व्यवसायीक ऋणको लागि ब्याज अनुदान दिने भएको छ । जिल्लाको मालिका गाउँपालिकाले कोराना भाइरस (कोभिड–१९) कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएका उद्यमशिल युवाहरुलाई लक्षित गरेर व्यवसायिक ऋणको लागि ब्याज अनुदान दिने भएको हो । रोजगार गुमाएका भारत लगायत तेस्रो मुलुकबाट असार मसान्तसम्म ५ सय ४७ जना नागरिक मालिका गाउँपालिकामा मात्रै भित्रीएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) ले रोजगारी गुमाएर फर्किएका, नेपाल मै पनि रोजगार गुमाएका, स्थानिय बेरोजगार, विदेश जान तयार रहेका र स्वदेश मै केही गर्न चाहने युवाहरुका लागि गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए । उनका अनुसार युवाहरुलाई गाउँमै उद्यमशिल बनाउने उदेश्यले ५० हजारदेखि ७ लाखसम्म सहुलियत पुर्ण ऋण गाउँपालिकाले उपलब्ध गराउने भएको हो । त्यसको ब्याज गाउँपालिकाले नै तिरिदिने अर्थात निःशुल्क ब्याजको रुपमा ऋण उपलब्ध गराउने कार्यक्रम व्यवसायीक ऋण प्रवाह सम्बन्धि कार्यविधि मार्फत गाउँपालिकाले असोज १ गते देखि सञ्चालन गर्न लागिएको छ ।

गाउँपालिकाको कारेबार रहेको बैंक बैंक अफ काठमाडौं सँगको साझेदारीमा सञ्चालन गरिएको यो कार्यक्रममा ऋण बैंकले प्रवाह गर्दछ भने त्यो ऋण बापतको ब्याज गाउँपालिकाले तिर्ने बताईएको छ । अहिलेसम्म गाउँपालिकाका आठ वटै वडाबाट झण्डै तीन सय ९० जना युवाहरुले ऋणको लागि निवेदन दिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, ‘यो ऋण लिन चाहने युवाहरु महिला पुरुष दुवैलाई प्राथमिकता दिईएको छ । त्यसमा पनि महिलाहरुलाई उद्यमशिल हुने प्रेरणा मिलोस् भनेर ब्याजमा थप सहुलियत दिने बारे बैंकसँग भएको छ ।’ यस कार्यक्रममा १८ देखि ६० वर्ष उमेरसमुहलाई समेटिने छ । ऋण लिएको ३ वर्ष भित्र किस्ता किस्तामा रकम फिर्ता गर्नुपर्ने छ । सबै युवाहरुलाई यस कार्यक्रममा समेट्न यसमा झन्झटिलो प्रक्रिया छैन । सबै युवाहरुलाई वडावडामा पुगेर यसको बारेमा सबै प्रावधान जानकारी गराएर कुनै न कुनै सजिलो मापदण्ड अपनाएर अगाडी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले कृषि, पशुपालन र उद्योग क्षेत्रलाई प्राथामिकतामा राखेर सहुलियत ऋण दिने छ । यस कार्यक्रमबाट युवाहरु गाउँमै स्वरोजगार बन्ने, कृषि उपजको अभाव नहुने र सबै युवाहरु उत्पादशिल क्षेत्रमा खटिने आशा रहेको गाउँपालिका अध्यक्ष रितबहादुर थापाले भने, ‘हाम्रो मुख्य उद्देश्य कृषिलाई व्यवसायीकरण, औद्योगिक क्षेत्रको प्रर्बद्धन, युवालाई गाउँ मै रोजगार दिने र गाउँपालिकालाई समृद्धतर्फ लैजाने हो । यसले विगतमा सञ्चलान गरेका कृषि सम्बन्धि कार्यक्रमहरुलाई टेवा पुग्ने छ ।’

गाउँपालिकाले कृषकहरुको लागि नयाँ–नयाँ कार्यहरु गर्दै आएको छ । गत आर्थिक वर्षमा गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम लागु गरेको थियो । यो कार्यक्रमबाट गाउँपालिका भित्रका कृषकहरु निकै नै खुसी देखिएका थिए । कुखुरा र बाख्रा मासुको लागि उत्पादन गरेर सहकारी मार्फत बिक्री गरिएमा गाउँपालिकाले एक सय किलोग्राम बाख्रा र बोकाहरु उत्पादन गरेको कृषकलाई प्रति किलोग्राम एक सय रुपैयाँका दरले कृषकहरुलाई अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

उहाँका अनुसार यो कार्यक्रममा झण्डै २४ लाख अनुदान वितरण गरिएको हो । एउटा घरपरिवारले ३० हजारसम्म अनुदान प्राप्त गरेका थिए । यस कार्यक्रमबाट कृषकहरुलाई बाख्रापालनमा प्रेरणा मिलेको छ । यो कार्यक्रम गाउँपालिका क्षेत्रभित्र लागु गरिएको छ । विशेष गरि अर्जे, मरभुङ्ग, छापहिले, घमिर लगायतका स्थानका कृषकहरु बढि आकर्षित भएका छन् । भने अन्य स्थानका कृषकहरुमा पनि आकर्षण बढेको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाले गैरसरकारी संस्थासँगको साझेदारीमा बाख्रा विकास साझेदारी कार्यक्रम पनि सञ्चालन गरेको थियो । यो कार्यक्रम गाउँपालिकाको वडा नं. ४, ५, ६, ७ र ८ मा सञ्चालन भएको थियो । गाउँपालिकाले कृषकहरुलाई लक्षित गरेर टनेल, करेसाबारी कार्यक्रम, मलबीउ वितरण गर्ने कार्यक्रम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

SHARE