तिलाचन पाण्डे
असार १६,२०७७ गुल्मी : गुल्मीका सबै स्थानीय तहमा सलह कीरा पुगेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
सलह कीरा रुखहरुमा बसेको र खेती बालीहरुमा अहिले सम्म केही हानी नोक्सानी नगरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए ।
सलह कीरालाई बोटबिरुवा र बालीहरुमा बस्न नदिनका लागि थालहरु ठटाउने र धुवाबाल्ने जस्ता कार्यहरु गर्न घिमिरेले आग्रह गरेका छन् । उनले सलह कीराको बथानै नभई केही झुण्ड तितर बितर भएर आएकाले माहामारीको रुप लिन नसक्ने बताए ।
यता धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले किसानहरुलाई सचेत गराइएको र सलह कीरालाई बालीहरुमा बस्न नदिनका लागि बिभिन्न उपायहरु अपनाइएको जानकारी दिए ।
उनले कृषकहरुलाई थाल ,टिन ठटाउन ,धुँवाहरु बाल्नका लागि आग्रह गरिएको दाबी गरे ।
यदि कसैले सलह कीरा टिपेर ल्याएमा गाउँपालिकाले आर्कषक पुरस्कारको ब्यबस्था गरेको पोखरेलले जानकारी दिए । केकति भन्ने बारेमा अहिले केही भन्न नसकिने भन्दै प्रदेश सरकारले तोकेभन्दा धेरै पुरस्कार दिइने पोखरेलले दाबी गरे ।
सलह कीरा गुल्मीमा आएपछि खेतबारीमा लगाएको खेती नष्ट गरिदिने हो की भन्ने चिन्तामा यहाँका कृषकहरु रहेका छन ।