
असोज १०,२०८३ पर्वत : अविरल वर्षाका कारण स्याङ्जा र पर्वतको संगमस्थल सेतीबेणीमा १० घर डुबानमा परेका छन्। कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि पर्वततर्फबाट आएको सेतीखोला थुनिएर बस्तीमा पानी पस्दा गल्याङ नगरपालिका–५, सेतीबेणीका १० घर डुबानमा परेका हुन्।
नदीमा पानीको बहाव बढेसँगै सेतीबेणी प्रहरी चौकीले शुक्रबार राति ९ बजेदेखि जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ।
यस्तै, लगातारको वर्षाका कारण स्याङ्जाको आँधीखोला गाउँपालिका–१, पञ्चमूलको राजश्वारा माझकटेरीमा तीन घरमा क्षति पुगेको छ। घरको पिँढीबाटै जमिन धस्किएपछि स्थानीय देवी नेपाली, खेमबहादुर दर्जी र अर्का एक स्थानीयको घर जोखिममा परेको प्रहरीले जनाएको छ।
निरन्तर वर्षा भइरहेकाले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष पवनकाजी अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल थप क्षति हुन नदिन प्रभावित घरमा प्लास्टिक लगाइएको छ।
निरन्तरको वर्षाका कारण सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो गएको छ। राजमार्ग पूर्ण रूपमा अवरुद्ध नभए पनि जोखिम भने रहेको प्रहरीले जनाएको छ। ग्रामीण सडकहरू भने पूर्ण रूपमा अवरुद्ध भएका छन्। गोरखापत्रबाट










