गाउँपालिका अध्यक्ष पक्राउ

0
19

भदौ २१,२०८३ पर्साः गए राति सरकारी सवारीसाधन लिएर क्यासिनो पुग्नुभएका पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवलाई प्रहरी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यादव पक्राउ परेको पुष्टि गर्नुभयो ।

प्रहरी नायव उपरीक्षक मल्लले गोरखापत्रसँग भन्नुभयो, ‘हामी नियमित रुपमा गरिने छड्के चेकजाँचको क्रममा वीरगञ्ज–गण्डकस्थित क्लार्क रिसोर्ट होटलको क्यासिनोमा पुगेका थियौं, क्यासिनोबाट अध्यक्ष यादवसहित आठजना नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौं । चाँडै विस्तृत विवरणसहित प्रेसनोट जारी गर्नेछौँ ।’

प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाको ना।१ झ १६८७ नम्बरको स्कोर्पियो सहित गाउँपालिका अध्यक्ष यादवलाई शनिबार राति करिब ११ बजे नियन्त्रणमा लिएको थियो ।

नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न कानुनी रूपमा प्रतिबन्ध गरिएको छ । वीरगञ्जका सुरज होटेलमा एकवटा, सिद्धार्थ दियालो होटलमा दुईवटा, सरोवरमा तीनवटा, क्लार्क रिसोर्ट होटलमा एउटा क्यासिनो सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो । होटल भिस्वा लगायत केही अन्य होटलमा क्यासिनो भएता पनि हाल सञ्चालनमा नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

पक्राउ परेका गाउँपालिकाका अध्यक्ष यादवसहित ८ व्यक्तिउपर अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात आवश्यक कानुनी कारबाहीमा अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मल्लले बताउनुभयो । गोरखपत्र अनलाइन

SHARE