रुपाकोटमा स्वास्थ्य चौकीको नयाँ भवन

0
252

हुमकान्त पोखरेल
असोज ६,२०७९ गुल्मी : गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ रुपाकोटमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको छ ।

चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ रुपाकोट स्थायी ठेगाना भई हाल बेलायतमा रहेका मोतिराज भण्डारी र तारानाथ भण्डारीले प्रदान गरेको जग्गामा भवन निर्माण भएको हो । भण्डारीद्धयले २०७७ सालमा सात लाखमा पाँच रोपनी जग्गा किनेर स्वास्थ्य चौकीलाई प्रदान गरेका थिए ।

नवनिर्मित स्वास्थ्य चौकीको भवनबाट आधारभूत स्वास्थ्य सेवाअन्तरगतका सेवाहरु एवम् प्रसुती सेवा पनि उपलब्ध हुनेछ । भवनको बिहीबार उद्घाटन गर्दै चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्रीले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले पहिलो प्राथमिकता दिएको बताए ।

 

त्यस्तै नवनिर्मित भवनबाट प्रदान गरिने सेवाहरु गुणस्तरीय र विश्वसनीय बनाउन समेत आग्रह गरे । गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले पुन्य कमाउनको लागि तिर्थ–ब्रत जानुनपर्ने उल्लेख गर्दै जग्गादाताद्धय भण्डारीलाई धन्यवाद् दिए । भण्डारीद्धयले उक्त भवनमा ल्याब संचालनका लागि आफुहरुले पहल थालेको बताए । भवनको ०७७ फागुन ४ गते तत्कालिन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण बहादुर खत्रीले शिलन्यास गरेका थिए ।

डिएन्डी पुष्पाञ्जली जेभीले एक करोड ५७ लाख रुपिँयाको लागतमा भवन निर्माण गरेको थियो । ०७७ माघ १९ गते सम्झौता भएको भवनको काम ०७८ माघ १ गते निर्माण सम्पन्न गरिनसक्नुपर्ने उल्लेख थियो ।

समयमै काम सम्पन्न गरेपनि विविध कारणले भवनको संचालन एवम् हस्तान्तरण हुन सकेको थिएन् । कार्यक्रममा जग्गादाताद्धय भण्डारी र निर्माण व्यवसायीलाई सम्मान समेत गरिएको थियो ।

SHARE