मालिकाले उत्पादनमा आधारित अनुदान नदिने, भ्रमको खेती गरेर निर्वाचन जितेको स्थानीयको आरोप

0
205
मालिका गाउँपालिकाको तस्विर :तिलाचन पाण्डे

सन्तोष महतारा
साउन १२,२०७९गुल्मीः पछिल्लो समय कृषि क्षेत्रमा प्रभावकारी बन्दै गएको उत्पादनमा आधारित अनुदान मालिका गाउँपालिकाले रोकेको छ । गुल्मीको मालिका गाउँपालिकाले कृषकहरुलाई दिने गरेको उत्पादनमा आधरित अनुदान रोकेको हो ।

विगतका वर्षहरुमा कृषकहरुले उत्पादन गरेका कृषि र पशु उपजलाई उत्पादनको आधारमा कम्तीमा एक सय केजी उत्पादन गर्न सके प्रति केजी एक सय रुपैयाँ अनुदान दिने गरिन्थ्यो । उत्पादनमा आधरित अनुदान वितरण सम्बन्धि कार्यविधि बनाएर अघिल्लो नेतृत्वले दिदै आएको अनुदान नेतृत्व परिवर्तनपछि रोकिएको किसानहरुको गुनासो छ ।

वर्तमान जनप्रतिनिधिहरुले किसानहरुलाई नानाथरी सपना देखाएर चुनाव जितेको अनि चुनाव जितेपछि किसानको हितविपरीत काम गर्न थालेको नाम नबताउने सर्तमा एक किसानले बताए ।

‘जनतालाई भ्रमको खेती गर्न प्रचारबाजी नारा लगाएर चुनाव जित्ने अनि किसानले पाइरहेको सुविधा पनि खोस्ने ?’ उनले गुनासो पोख्दै भने, “यस्ता पनि जनप्रतिनिधि हुन्छन् ?” हुने बिरुवाको चिल्लो पात भनेजस्तो नवनिर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकालको सुरुमा खासै राम्रो लक्षण नदेखिएको उनको भनाई छ ।

गत आर्थिक वर्षमा कृषि र पशु उपजको उत्पादन वापत प्रतिकिलो एक सय रुपैयाँ पाउनको लागि प्रतिकिलो १० रुपैयाँ सहकारीलाई तिरिसकेका किसानहरु यतिबेला निकै आक्रोशित भएका छन् । गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले उत्पादनमा आधारित अनुदान वापत ८ वटा वडाका किसानहरुलाई डेढ करोड भन्दा बढी खर्च हुने भएकोले दिन नसकेको बताए । गत आर्थिक वर्षमा बजेट नभएको र यसवर्ष उत्पादनमा आधारित अनुदानलाई बजेट विनियोजन नगरेको अध्यक्ष अर्यालले जानकारी दिए ।

SHARE