गुल्मी कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी , स्वास्थ्य कर्मीको दरबन्दी छ ,स्वास्थ्यकर्मी छैन

0
398
जिल्ला कारागार कार्यालय गुल्मीको तस्बिर :खबरमार्केट

गीता बस्याल
असार २७,२०७९ गुल्मीः २५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा झन्डै तेब्बर कैदी बन्दीहरु बस्न बाध्य छन् ।

२५ जनाको क्षमता रहेको (ङ)बर्गको कारागारमा अहिले ७३ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागार गुल्मीका जेलर अर्जुनबहादुर थापाले जानकारी दिए । थापाका अनुसार पूरुष कैदी ४३ जना, महिला कैदी ५ जना , थुुनुवा पुरुष २२ जना र थुनुवा महिला ३ जना गरी जम्मा ७३ जना कारागारमा कैदी बन्दीहरु रहेको बताए ।

कारागारको भवन साँघुरो हुँदा धेरै समस्याहरु भोग्नुपरेको सूचना अधिकारी सीता भण्डारीले गुनासो गरिन् । कैदीबन्दीहरुलाई प्रयाप्त खेलमैदान नहुनु , आर्थिक पार्जनका लागि उधोगहरु खोल्नका लागि पनि समस्या भएको छ ।
भबन पनि जीर्ण रहेकाले समस्याहरु अझ थपिदै गएको भण्डारीले बताइन् । हाल सम्म दुःख सुख चलाउदै आएको र अझ कैदीबन्दीहरु थपिए भने समस्या झन बिकराल बन्दै जाने उनको भनाई छ ।


सुधार गृहको कारागार हुनुपर्नेमा दण्ड गृह जस्तो भयो : नागरिक समाज

यता नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले कारागार सुधारगृह जस्तो कारागार हुनुपर्नेमा दण्ड गृहको रुपमा परिणत भएको बताए ।
कारागारमा प्रर्याप्त खेलमैदान, उचित बासस्थान र उद्यमी गर्नेहरुका लागि उचित ब्यबस्था हुनुपर्ने ठाउँमा राज्यको ध्यान नजानु दुःखद भएको उनको भनाई छ । भवन जीर्ण हुनु र कैदीबन्दीहरुको स्वास्थ्य प्रति सरोकारवाला निकाय मौन रहनुले कैदीबन्दीहरु प्रति सामान्य मानवीय ब्यबहार समेत नगरेको पाण्डेले बताए ।

स्वास्थ्यकर्मीको दरबन्दी छ ,स्वास्थ्य कर्मी छैन

जिल्ला कारागार गुल्मीमा सिनीयर अहेवको दरवन्दी छ तर लामो समय देखी दरबन्दीमा भएका स्वास्थ्यकर्मी मन्त्रालयमा काजमा छन् ।
दरबन्दी भएपनि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुलाई स्वास्थ्यमा समस्या आउँदा समस्या आउने गरेको सूचना अधिकारी भण्डारीले बताइन् ।

दरबन्दी भएर पनि स्वास्थ्यकर्मी नहुनु र २०७७ साल जेठ देखी हालसम्म स्वास्थ्य मन्त्रालयको काजमै रहँदा बिरामीहरुलाई अस्पतालसम्म लान पनि समस्या आउने गरेको उनको भनाई छ ।

जिल्ला कारागार गुल्मीमा १० जना कर्मचारीहरुको दरबन्दी रहेको कार्यालयले जनाएको छ । जसमा अधिकृत १,सि अहेव १,नायव सुब्वा १, खरिदार १,सहायक लेखा प्रमुख १ ,सहायक कम्प्युटर अपरेटर १ र कार्यालय सहयोगी ४ जना गरी १० जनाको दरबन्दी रहेको छ ।

कारागारमा सलेपको दरबन्दी रिक्त छ भने खरिदार काजमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा हुनुहुन्छ सि अहेव स्वास्थ्य मन्त्रालयमा लामो समय देखी काजमा रहेको कार्यालयले जनाएको छ ।

कारागार कार्यालयको भबन पनि सारै जीर्ण भइराखेकाले कारागार ब्यबस्थापनका लागि दीर्घकालिन गुरुयोजना बनाएरै अगाडि बढ्नु पर्ने गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलको भनाई छ ।

स्वास्थ्यकर्मीको दरबन्दी भएपनि स्वास्थ्यकर्मी नभएको समस्यालाई भने सम्बन्धित निकायसंगको समन्वयमा समस्याको समाधान गर्ने पौडेलले दाबी गरे ।

SHARE