बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

0
218

सागर भण्डारी
असार १५,२०७९ गुल्मीः गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ । विभिन्न कारणबस विद्यालयको पहुँचसम्म नपुगेका बालबालिकाहरुलाई विद्यालयसम्म पुर्याउन नगरपालिकाले अभियान थालेको हो ।

शिक्षाको अधिकार स्थानीय तहमा पुगे पनि अझै पनि कतिपय बालबालिकाहरु विद्यालय भर्ना हुन नसकेकाले उनीहरुलाई विद्यालयमा भर्ना गर्न र निशुल्क विद्यालय शिक्षाको प्रत्याभूत गराउन नगरपालिकाले अभियानकै रुपमा कार्यक्रम अगाडी बढाएको नगर शिक्षा शाखाको भनाई छ ।

नगरपालिकाले प्रारम्भिक चरणमा वडागत रुपमा विद्यालयमा भर्ना नभएका विद्यालय उमेर समुहका बालबालिकाहरुको तथ्याङ्क सकंलन गर्न थालेको छ । सार्वजनिक सुचना जारी गर्दै नगर शिक्षा शाखाले ९ वटै वडा कार्यालयलाई पत्राचार गरी त्यसको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

नगरशिक्षा अधिकृत प्रकाश नेपालीले आर्थिक वर्ष २०७८÷७९ को कार्यक्रम अन्तर्गत विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउने गरी तथ्याङ्क सकंलन गर्न लागिएको बताए । उनले यस अगाडी भर्ना अभियान सञ्चालन गर्नु पूर्व प्रधानाध्यापकहरुको बैठकमा त्यस्ता बालबालिकाहरुको पहिचान गर्न आग्रह गरिएको र कतिपय बालबालिका अझै पनि विभिन्न कारणले विद्यालय जान नसकेको पाईएपछि उनीहरुलाई विद्यालय ल्याउने र आवश्यकताका आधारमा राहत प्रदान गरी विद्यालयमा टिकाई राख्ने वातावरण बनाउन नगरले अभियानकै रुपमा कार्यक्रम अगाडि बढाएको बताए ।

नगरपालिकाले त्यस्ता बालबालिकाहरुको विवरण सकंलन गरी उनीहरु विद्यालय आउन नसकेको कारण पत्ता लगाउने र त्यसको समाधान गरी विद्यालयमा भर्ना गरी नियमित विद्यालय पठाउने व्यवस्था गर्ने तयारी गरेको छ ।

आर्थिक रूपले विपन्न भएकै कारण विद्यालयको पहुँच बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याएर गुणस्तरीय शिक्षा दिनु पालिकाको प्रमुख उद्धेश्य रहेको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालको भनाई छ । शैक्षिक गुणस्तर सुधारसँगै विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने वातावरण बनाउन नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको भुषालले बताए ।

सविंधानले प्रत्याभुत गरेको माध्यमिक तहसम्मको निःशुल्क शिक्षा पाउने अधिकारको सुनिश्चित गर्नु स्थानीय सरकारको पनि प्रमुख दायित्व रहेकोले यस्तो कार्यक्रम थालिएको नगरप्रमुख जीवन खरेलले बताए । उनले आर्थिक, पारिवारिक, सामाजिक तथा अन्य कारणले विद्यालय आउन नसकेको भए उनीहरुलाई आवश्यकताका आधारमा राहत तथा अन्य सामाग्री नगरपालिकाले व्यवस्था गर्ने र विद्यालयमा भर्ना गर्ने कार्यक्रम अगाडी बढाएको बताए ।

“के कारणले विद्यालय जान नसकेका हुन पहिले त्यो कुरा पत्ता लगाउँछौँ नगरप्रमुख खरेलले भने, उनीहरुका आवश्यकता पुरा गरी विद्यालय पठाउन विद्यालय, समुदाय र अभिभावकहरुलाई प्रेरित गर्छौँ” । विद्यालयको पहुँचमा पुगेर पनि नियमित विद्यालय नजाने विद्यार्थीहरुका लागि पनि छुट्टै कार्यक्रम सञ्चालन गरिने खरेलको भनाई छ
नगरपालिकाले सार्वजनिक गरेको २०७९÷०८० को नीति तथा कार्यक्रममा शैक्षिण गुणस्तर सुधारका लागि शिक्षालाई प्राथमिकता दिएको छ ।

SHARE