महिलाको छुट्टै पार्टी खोल्न नपरोस् : मन्त्री झाँक्री

0
260
फाइल फोटो

असार १०,२०७९ काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीभित्र मन्त्री फेर्ने विवादले उग्र रूप लिइरहेका बेला शहरी विकास मन्त्री तथा नेतृ रामकुमारी झाँक्रीले महिलाको मात्रै अलग्गै पार्टी खोल्ने चेतावनी दिएकी छिन्।

नेकपा एमालेबाट विद्रोह गरेर माधव नेपाललाई नयाँ पार्टी खोल्न उक्साएकी मन्त्री झाक्रीले उनैलाई महिलाका लागि छुट्टै पार्टी बनाउने चेतावनी दिएकी हुन्।

फिलिपिन्सको ‘द ग्याब्रिएला वुमेन्स पार्टी‘को उदाहरण दिँदै उनले नेपालमा पनि त्यस्तै पार्टीको जरुरी रहेको तर्क गरेकी छिन्। झाँक्रीले ग्याब्रिएला फिलिपिन्सको एउटा प्रगतिशील राजनीतिक पार्टी भएको बताउँदै जसले महिलाको विषय र संसदमा महिलाको प्रतिनिधित्वबारे वकालत गर्ने उनले दाबी गरेकी छिन्।

सरकारबाट फिर्ता हुने विषयमा छलफल गर्न बिहीबार कोटेश्वरस्थित माधव नेपालको निवासमा पुगेका मन्त्रीहरूले आफूलाई फिर्ता गराउने भए पाँच शर्त पूरा गर्नुपर्ने अडान राखेका छन्।

उनीहरुले नयाँ मन्त्रीहरू समावेशी आधारमा छानिनुपर्ने, गैरसांसदलाई मन्त्री बनाउन नहुने, एकै जिल्लाका दुई मन्त्री बनाउन नहुने, राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्न नपाइने र राष्ट्रियसभाबाट बजेट पारित हुँदासम्म पर्खिने शर्त अगाडि सारेका छन्।

त्यसलगत्तै बसेको पार्टीको सचिवालय बैठकले मन्त्रीका कुनै शर्त मान्य नहुने र पार्टीले गरेको निर्णय मान्नुपर्ने निर्णय गर्‍यो। बैठकले मन्त्रीहरू हेरफेरको निर्णय केही घण्टामा कार्यान्वयन हुनुपर्ने निर्णय गरेको छ।

बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय र स्थायी कमिटीको निर्णय बिनाशर्त लागू हुनुपर्ने बताए। ​उनले मन्त्रीहरूले पार्टी निर्णय मान्नका लागि शर्त राख्न नपाउने भन्दै स्थायी कमिटी बैठकको निर्णय नै अन्तिम शर्त हुने बताए। त्यसपछि एकीकृत समाजवादीको विवाद झनै गहिरिएको छ।

सचिवालय बैठकपछि अध्यक्ष नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री देउवासँग भेट गरेका थिए। तर समाजवादीको निर्णय प्रधानमन्त्रीले अझै कार्यान्वयन गरेका छैनन्।

समाजवादीले झाक्रीसहितलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गत जेठ १७ गते नै गरेको थियो। तर पर्यटनमन्त्री प्रेम आलेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यो निर्णय कार्यान्वयन नगर्न दबाब दिएका थिए। थाहाबाट

SHARE