जेठ २८,२०७९ः सैनिक जनसम्पर्क निर्देशनालयले मध्य कमाण्ड हेडक्वार्टर जिल्ला अन्तर्गतका पत्रकारलाई एक हप्ताको प्रशिक्षण दिएको छ।
मध्य कमाण्डअन्तर्गतका ३१ जिल्लाका २५ पत्रकारलाई रक्षा संवाददाता अभिमुखीकरण तालिम ९डीसीओपी० तालिम दिएको हो। मध्य कमाण्ड हेडक्वार्टर रहेको विजयपुर ब्यारेक पोखरामा सुरु भएको प्रशिक्षण बुटवलस्थित २२ नम्बर अड्डा योगीकुटी मा पुगेर सम्पन्न भयो।
जेठ २२, २३ र २४ गते तीन दिनसम्म विजयपुर ब्यारेक पोखरामा भएको आन्तरिक प्रशिक्षणपछि २५, २६ र २७ गते स्थलगत भ्रमण सहितको तालिम सञ्चालन भएको हो। स्थलगत भ्रमणको क्रममा तनहुँ हाइड्रोपावर, पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, पाल्पा दरबार, पाल्पा निशान भगवती, कालभैरव, रानी महल, रुपन्देहीको लुम्बिनी र जितगढी लगायत स्थानमा अवलोकन गराइएको थियो।
नेपाल एकीकरणको बेलामा पृथ्वीनारायण शाहले प्रयोग गरेका सेनादेखि नेपाल–अङ्ग्रेज युद्धको बेलामा नेपालका विभिन्न ठाउँमा भएका आक्रमणबारे पनि जानकारी दिइएको थियो।
पोखरामा भएको आन्तरिक प्रशिक्षणमा राष्ट्रिय सुरक्षा नीति, सूचनाको हक, कम्ब्याट फोर्स, शान्ति स्थापनामा नेपाली सेनाको भूमिका, सैनिक कल्याणकारी कोष, भौतिक पूर्वाधार निर्माणमा सेनाको भूमिका, विपद् व्यवस्थापन, पत्रकार आचारसंहिता लगायत विषयमा प्रशिक्षण दिइएको थियो। रक्षा मन्त्रालयका उपसचिवसहित नेपाली सेनाका अधिकृतले प्रशिक्षण दिएका थिए।