
गुल्मी, जेठ २२ / युनाइटेड वर्ल्ड स्कुल्स नेपाल (यूडब्लुएस् नेपाल) ले आइतवार विश्व वातावरण दिवसको अवसरमा “एक विद्यार्थी, एक बिरुवा अभियान” संचालन गरेको छ । युनाइटेड वर्ल्ड स्कुल नेपालका हरेक विद्यार्थीलाई वातावरण संरक्षणको लागि सामूहिक र परिवर्तनकारी कार्यको लागि सहभागी गराउने भन्दै “एक विद्यार्थी, एक बिरुवा अभियान” संचालन गरिएको हो ।
युनाइटेड वर्ल्ड स्कुल्स नेपालका सह–संस्थापक तथा राष्ट्रिय निर्देशक सुर्य कार्कीले परिवर्तन एउटा व्यक्तिबाट भएको एउटा कार्यबाट सुरु हुने र यसले एउटा ठूलो परिवर्तन ल्याउनमा अग्रणी भूमिका खेल्ने बताए । युनाइटेड वर्ल्ड स्कुल्स नेपालको “एक विद्यार्थी, एक बिरुवा अभियान” पृथ्वी तथा समुदायहरूमा जलवायु परिवर्तनको प्रभावलाई कम गर्दै एउटा ठूलो परिवर्तन तर्फको एक कदमको लागि संचालन गरिएको कार्कीको भनाई छ ।
अभियान अन्तर्गत संखुवासभा, गुल्मी र ताप्लेजुङ जिल्लाका ५१ युडब्लुएस् विद्यालयमा अध्ययनरत ६ हजार विद्यार्थीले विद्यालयहरूमा ६ हजार बिरुवा रोपेका छन् । विद्यार्थीहरुले तेजपत्ता, रुद्राक्ष, जटिवुटि, आँप, अम्बा तथा लिची लगायतका विरुवा रोपेका हुन् । यो अभियान वातावरणीय चेतना जगाउन र विद्यार्थीहरूलाई दैनिक जीवनमा यसको महत्वबारे जानकारी गराउनको लागि आयोजना गरिएको युडब्लुएस् नेपालका शिक्षा संयोजक आशिष अधिकारीले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रमको अतिरिक्त, विद्यार्थीहरूले वातावरण संरक्षण सम्बन्धी पोस्टर, स्लोगन बोर्डहरू र कला र शिल्प सामग्रीहरू बनाएर र्याली तथा प्रदर्शनहरू आयोजना गरेका थिए । अभियानमा अभिभावक, स्थानीय जनप्रतिनिधि र शिक्षकहरुको समेत सहभागिता रहेको थियो ।
संखुवासभाको मादी नगरपालिकास्थित युडब्लुएस् आहालेका प्रधानाध्यापक खड्गबहादुर दर्जीले यो अभियानले वातावरण संरक्षण र हरियाली थप्नेतर्फ टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले बालबालिका, अभिभावक, शिक्षक र स्थानीय प्रतिनिधिहरुलाई वातावरण संरक्षणमा जिम्मेवार हुन प्रेरित गरेकोमा युडब्लुएस नेपाललाई धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसैगरी, गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको युडब्लुएस वाग्लाका प्रधानाध्यापक मुक्तिराम पराजुलीले वातावरणलाई स्वच्छ बनाउने, संरक्षण गर्ने हाम्रो दायित्व भएको भन्दै वातावरणलाई सुरक्षित र स्वस्थ बस्नका लागि सबै मिलेर लाग्नुपर्ने बताए ।
मकालु गाउँपालिकास्थित युडब्लुएस हेदाङ्नगढीका अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य धनबहादुर कार्कीले यस प्रकारको अभियानले अभिभावक, शिक्षक, विद्यार्थी र समुदायमा वातावरण संरक्षणमा चेतना अभिवृद्धि गराउन मद्दत पुग्ने बताए ।

युडब्लुएस नेपाल युडब्लुएस् युकेको सहयोगमा आधारित देशको पिछडिएको तथा सिमान्तकृत समुदायका बालबालिकाहरुलाई शैक्षिक अवसर तथा पहुँच सवलीकरणको निम्ति स्थापित गैर नाफामूखी संस्था हो । युडब्लुएस् नेपालको प्रमुख उद्देश्य बालबालिकाहरुको लागि सुरक्षित र अध्ययनको निमित्त उत्प्रेरित गर्ने सबै आधुनिक सुविधा तथा प्रविधियुक्त पूर्वाधारको विकास तथा व्यवस्थापन गर्नु हो । विद्यालय भवनले मात्र गुणस्तरीय शिक्षा दिन सकिदैन भन्ने हेतुले युडब्लुएस् नेपालले रचनात्मक कक्षाकोठामा आवश्यक पर्ने स्रोतसाधनहरु, आधारभूत शैक्षिक उपकरण, आवश्यकता बमोजिम शिक्षकहरुको बन्दोबस्त गर्नुका साथै दक्ष तथा प्रशिक्षित फेलोहरु अध्यापनको निम्ति पठाउने गर्दछ ।

हालसम्म, युडब्लुएस् नेपालले ५१ वटा विद्यालय निर्माण गरी सफलतापूर्वक सञ्चालन गरेको छ र ग्रामीण नेपालका ८ हजार भन्दा बढी विद्यार्थीहरूलाई गुणस्तरीय र समावेशी शिक्षामा पहुँच प्रदान गरिसकेको छ । यस संस्थाले हालसम्म, ४५ वटा शैक्षिक कार्यक्रमहरु संचालन गर्नुका साथै आफ्ना विद्यालयहरूमा ४६ जना फेलो, ७४ जना स्वयंसेवक शिक्षक र ८ जना पुस्तकालय कर्मचारीहरू (लाइब्रेरियन) परिचालन गरिसकेको छ ।













