
पोखरा, जेठ १६ : मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा अहिलेसम्म २० जनाको शव भेटिएको छ । दुई जनाको शव विमानको भग्नावशेषबाट निकाल्ने प्रयास भइरहेको जानकारी प्राप्त भएको छ ।
उद्धारका लागि नेतृत्व गरेर घटनास्थलमा पुग्नुभएका नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले सो जानकारी दिनुभएको हो । घटनास्थलमा प्राप्त शवलाई सिधैं काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ल्याइ पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिने तयारी भइरहेको छ ।
कतिपय शवहरु चिन्न नसक्ने अवस्थामा रहेकाले डिएनए परीक्षण गर्नुपर्न अवस्था रहेको पनि जानकारी घटनास्थलबाट प्राप्त भएको छ ।

यता पोखरामा एयरहोस्टेज किस्मी थापाको परिवारले काठमाडौं नजाने अडान राखे पनि पछिल्लो समय उहाँहरुसँग परामर्श गरेर उहाँहरुकै इच्छाअनुसार स्थलमार्गबाट काठमाडौं लैजाने तयारी भइरहेको छ ।
जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मन नागरिक थिए ।






