
जेठ ११,२०७९झापा : बिर्तामोडमा जुवा खेलिरहेका ५ जना जुवाडे नगदसहित पक्राउ परेका छन्।
बिर्तामोड नगरपालिका(५ निवासी ३८ वर्षीय डालकुमार राईको घरमा जुवा खेलाइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले मङ्गलबार बेलुका छापा मारेको थियो।
प्रहरीले घटनास्थलबाट तास र कौडा खेलिरहेका घरधनी राईसहित इलाम जिल्ला सूर्योदय नगरपालिका(१० का ३० वर्षीय दिलकुमार श्रेष्ठ, बिर्तामोड नगरपालिका(५ का ३६ वर्षीय सन्जीप घतानि, सोही ठाउँका ४२ वर्षीय ससुहाङ चेम्जोङ र मेचीनगर नगरपालिका(२ का ४८ वर्षीय भूपू राईलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट १ लाख ७४ हजार ७३५ रूपैयाँ नगद, ३ बुक तास र १५ थान कौडासमेत बरामद गरेको छ। पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको डिएसपी पाठकले बताए।






